आधा घण्टा लगाएर मन्त्री उद्धार अपरेसन 

प्रदर्शनकारी मन्त्री निवासको पश्चिमबाट जस्तापाताको पर्खाल भत्काएर अघि बढ्न थाले, त्यतिबेलासम्म सेना र निजी क्षेत्रको हेलिकोप्टरले मन्त्री र तिनका परिवारको उद्धार गरिसकेको थियो

भाद्र २८, २०८२

होम कार्की

काठमाडौं — २४ भदौ बिहानै ललितपुर प्रशासनले भैंसेपाटी आसपासका विभिन्न ठाउँमा लागू हुने गरी कर्फ्यु लगायो । भैंसेपाटी क्षेत्रमा कर्फ्यु लगाउनुको कारण थियो, मन्त्री निवास । भैंसेपाटीमा संघीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्री सम्पर्क कार्यालयसहितको निवास छ । २३ भदौको जेन–जी आन्दोलनमाथि सरकारको बर्बर दमनबाट उत्पन्न हुन सक्ने परिस्थितिलाई नियन्त्रण गर्न भन्दै ललितपुर जिल्ला प्रशासनले बिहानैदेखि लागू हुने गरी कर्फ्यु लगाएको थियो । 

एकैदिन १९ जनाको मृत्युको खबरले आक्रोशित जेन– जीसहित आम नागरिकलाई कर्फ्युले रोक्न सकेन । बिहानै आठ बजेदेखि ससाना समूहमा प्रदर्शनकारी चोकचोकबाट निस्कन थालिसकेका थिए । प्रदर्शनकारीहरू संघीय र प्रदेश प्रमुख, मुख्यमन्त्री निवासको बीचको सडकमा बिस्तारै जम्मा हुन थाले । मन्त्री निवासको गेटमा थोरैको संख्यामा प्रहरी र सेना तैनाथ थिए । उनीहरूले ती प्रदर्शनकारीलाई रोक्न सक्ने अवस्था बनेन ।



बिहान १० बजेसम्म प्रदर्शनकारीको भीड निकै बढिसकेको थियो । उनीहरू मन्त्री निवासभित्र छिर्ने प्रयास गर्न थाले । मन्त्री निवासभित्र मन्त्री र उनीहरूका परिवार साथमा थिए । सुरुमा सेनाको एउटा हेलिकोप्टर आयो । त्यो हेलिकोप्टरले मन्त्री निवासको उत्तरतिर रहेको खेलकुद मैदानमा सेना झार्‍यो । सेनाले मन्त्रीलाई खेलकुद मैदानबाट नै उद्धार गर्ने योजना बनाएको थियो । मन्त्रीहरू निस्कने मुख्य गेटमा प्रदर्शनकारी थिए । त्यहाँबाट बाहिर ल्याउन सक्ने परिस्थिति भएन । 



त्यसपछि हेलिकोप्टर निवासको परिसरभित्रै ल्यान्ड गर्न गयो । परिसर निकै साँघुरो थियो । हेलिकोप्टर ल्यान्ड गर्न कठिन भइरहेको थियो । केही मन्त्री आफ्ना परिवारसहित निवासको गेटमा प्रतीक्षारत थिए । ल्यान्ड गरेको दुई मिनेटमै मन्त्रीसहितको टोली लिएर पहिलो हेलिकोप्टर उड्यो । जब भित्रबाट हेलिकोप्टरले मन्त्रीलाई लिएर उड्यो, बाहिर परिस्थिति झन् तात्दै गयो । प्रदर्शनकारीले सडकमा टायर बाल्न थाले । प्रदर्शनकारी गेट तोडेर भित्र छिर्न खोजिरहेका थिए । एकैपटक अर्को ५ वटा सैनिक र निजी हेलिकोप्टर देखिए ।



ती सबै एकपछि अर्को निवास परिसरभित्रै ल्यान्ड हुन थाल्यो । मन्त्रीहरू दौडिँदै हेलिकोप्टरभित्र छिर्न थाले । मन्त्रीहरूले आफ्नो कुनै सामान लिएर जान पाएनन् । कसैले लुगा हालेको झोला मात्रै बोकेका थिए । मुख्य गेटबाट प्रदर्शनकारी प्रवेश गर्न नपाएपछि निवासको पश्चिम भागबाट भित्र छिर्न थाले । 



निवासको पश्चिम भागमा जस्ताको अस्थायी पर्खाल लगाइएको छ । स्थानीयले बाटोका लागि जग्गा छुटाउन माग गरेपछि निवासलाई जस्ताको पर्खाल लगाइएको थियो । त्यसलाई तोड्न प्रदर्शनकारीलाई कठिन भएन ।



त्यो पर्खालमा दुईवटा मात्रै सुरक्षा पोस्ट थियो । त्यसले रोक्न सक्ने भएन । प्रदर्शनकारीले एकैपटक सबै भत्काइदिए र भित्र छिर्न थाले । प्रदर्शनकारीले एक–एक गरी मन्त्रीका गाडीहरू जलाउन थाले । मन्त्रीको निवासभित्र छिर्न थाले र आगो लगाउँदै अगाडि बढ्न थाले । त्यतिखेरसम्म मन्त्रीहरूलाई उद्धार गरिसकेको थियो । यो उद्धार अपरेसन गर्न सेनालाई आधा घण्टा पनि लागेन ।



गत वर्षको साउनदेखि संघीय मन्त्रीहरू यो आवासमा सर्न थालेका थिए । भैंसेपाटीमा २४ मन्त्रीका लागि छुट्टाछुट्टै भवन बनाइएको छ । राष्ट्रिय सभाका अध्यक्षका लागि पनि विशेष भवन छ । त्यसबाहेक अरू दुई भवन प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षका लागि तयार छ । 



नजिकै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको भवन छ । करिब ३ अर्ब लागतमा बनेका यी भवनहरू दिनभर जलिरहेका थिए । खण्डहरू बनेका यी भवनलाई अहिले सेनाले सुरक्षा दिइरहेको छ ।


होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully