विराटनगरले पायो सातौं प्रधानमन्त्री

भाद्र २८, २०८२

पर्वत पोर्तेल

विराटनगर — औद्योगिक राजधानी भनेर चिनिने विराटनगर प्रजातान्त्रिक आन्दोलनको उद्घोषस्थल र राजनीतिक नेतृत्व जन्माउने सहरका रूपमा पनि परिचित छ । यस परिचयमा प्रधानमन्क्रीमा सुशीला कार्कीको नियुत्तिले अर्को ‘इँटा’ थपेको छ । 

पूर्वप्रधानन्यायाधीश कार्की विराटनगरबाट प्रधानमन्क्री हुने सातौं व्यत्ति हुन् । यसअघि विराटनगर घर भएका बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र नगेन्द्र रिजाल प्रधानमन्त्री बनेका थिए ।



कार्कीले ‘प्रधानमन्त्री जन्माउने सहर’ का रूपमा विराटनगरको परिचयलाई थप फराकिलो बनाएकी छन् । पहिलो महिला प्रधानन्यायाधीश कार्कीले पहिलो महिला प्रधानमन्त्रीसमेत बनेर अर्को इतिहास रचेकी छन् ।  



२००७ सालमा विराटनगरमा जन्मिएकी कार्कीले स्थानीय महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट बीए पास गरेर भारतको बनारसस्थित हिन्दु विश्वविद्यालयबाट राजनीतिकशास्त्रमा स्नातकोत्तर गरिन् । बनारसबाट फर्किएपछि उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरिन् ।




‘प्रधानमन्त्री जन्माउने सहर’ का रूपमा परिचय बनाएको विराटनगर मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि ‘जन्माएको’ छ




लामो समय वकालतमा बिताएकी उनी कालान्तरमा न्यायाधीश हुँदै प्रधानन्यायाधीशसम्म भइन् । उनी २०७३ असार २७ मा प्रधानन्यायाधीश बनेकी हुन् । उनले ११ महिनामै ऐतिहासिक मुद्दाहरूमा फैसला गरेकी थिइन् । उनले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पदमुक्त गर्ने फैसला गरेकी थिइन् । 



तत्कालीन सूचना तथा सञ्चारमन्त्री जेपी गुप्तालाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला पनि उनैले गरेकी थिइन् । 

यस्ता कदमले उनलाई निडर न्यायाधीशका रूपमा स्थापित गरेको थियो । खासगरी भ्रष्टाचारविरुद्ध निरन्तर संलग्न रहँदै आएकी थिइन् ।



कार्यकारी नेतृत्व सम्हालेसँगै उनले न्याय प्रणालीमा देखाएको इमानदारी र भ्रष्टाचारविरुद्धको साहसलाई रूपान्तरित गर्दै छाप छाड्ने अवसर पाएकी छन् ।


पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully