प्रहरीका २८ थान हतियार लुटिए, खोजी गर्न ‘विशेष अपरेसन’ सुरु 

भाद्र २७, २०८२

मातृका दाहाल

काठमाडौँ — जेन–जीले अगुवाई गरेको आन्दोलन पछि भड्किएको प्रदर्शनको मौका छोपेर काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मात्रै प्रहरीका २८ नाल घातक हतियार लुटिएका छन् । प्रहरीका युनिटहरू तोडफोड र आगजनी गरेर ती हतियारहरू लुटिएका हुन् ।

प्रहरी स्रोतका अनुसार एलएलआर ६ थाल, इन्सास ४ नाल र थ्रि नट थ्री राइफल १८ नाल लुटिएका हुन् । प्रहरी प्रधान कार्यालयले लुटिएका हतियार फिर्ता गर्न बिहीबार नै प्रहरीले अपिल गरेको छ । जेन–जी विद्रोहपछि निम्तिएको हिंसाका क्रममा कारागारमा तोडफोड र आगजनी गरेर करिब १४ हजार कैदीबन्दी भागेका छन् । अपराध अनुसन्धानका क्रममा प्रहरीका विभिन्न युनिटबाट सयौँ थुनुवापछि फरार भएका छन् । लुटिएको छ । लुटिएका हतियार विभिन्न आपराधिक व्यक्ति तथा समूहको हातमा पुग्ने र यसबाट समाजमा थप आपराधिक गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले हतियार फिर्ता गर्न सम्बद्ध पक्षलाई आग्रह गरिएको छ । हिंसा भड्किएपछि नेपाली सेनाको कमान्डमा सेना, प्रहरी र सशस्त्रको संयुक्त फौज देशभर परिचालित छ । त्यस क्रममा केही हतियारहरू नियन्त्रणमा लिइएपनि ती हतियार प्रदर्शनका क्रममा लुटिएका हुन् वा अरू नै भन्ने यकिन भइसकेको छैन । प्रहरी प्रधान कार्यालयका एक अधिकारीले अहिलेसम्म विभिन्न किसिमका २८ नाल हतियार लुटिएको र यसको खोजीकार्य जारी रहेको जानकारी दिए । ‘दर्जनौँ प्रहरी युनिटहरूमा तोडफोड र आगजनी गरेर हतियार, पोसाक र सुरक्षा बन्दोबस्तीका सामान लुटपाट भएका छन्, यस क्रममा हतियार मात्रै अहिलेसम्मको अभिलेखमा २८ नाल लुटिएको भन्ने आएको छ, थप पुष्ट्याईपछि अरू के कस्ता उपकरणहरू लुटपाट भए भन्ने यकिन हुन्छ,’ ती अधिकारीले भने, ‘तत्काललाई लुटिएका हतियार छिटो नियन्त्रणमा लिने गरी सर्च एन्ड अपरेसनको काम भइरहेको छ ।’ उपत्यकाका विभिन्न प्रहरी युनिटहरूमा आगजनी पछि प्रहरी पोसाक तथा सुरक्षा सामग्री प्रदर्शन गरेका भिडियोहरू पनि बाहिरिएका थिए । प्रहरी, सेना र सशस्त्रले बिहीबार नै सुरक्षाकर्मीका पोसाक दुरुपयोग नगर्न सूचनामार्फत अपिल गरिसकेका छन् । यसैगरी हिंसा भड्किएको मौका छोपी कारागारमा तोडफोड र आगजनी गरेर भागेका कैदीबन्दीहरुलाई पनि फिर्ता हुन प्रशासन र सुरक्षा निकायहरूले अपिल गरिसकेका छन् । देशका विभिन्न २६ वटा कारागार र विभिन्न थुनुवाकक्षबाट १४ हजार ४३ कैदीबन्दी र थुनुवा भागेकामा शुक्रबार साँझसम्म करिब ३ हजार जना पक्राउ परिसकेका छन् । यसमध्येका केही आफैं सम्पर्कमा आएपछि कारागारमै पठाइएको र बाकीलाई विभिन्न जिल्लाका इलाका र राजमार्ग क्षेत्रबाट पक्राउ गरिएको हो । विभिन्न अपराध अभियोगमा पुर्पक्षमा रहेकादेखि जन्मकैद सजाय पाएकासम्मका कैदीबन्दी भागेका कारण उनीहरूबाट समाजमा थप सुरक्षा चुनौती बढेकोले जतिसक्दो छिटो लुटिएका हतियार नियन्त्रणमा लिने र भागेका कैदीबन्दीलाई पहिलेकै ठाउँमा फर्काउनुपर्ने अहिलेको चुनौती रहेको एक प्रहरी अधिकृतको भनाई छ । उपत्यका भित्र मात्रै राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रधानमन्त्री कार्यालय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत प्रदर्शनपछिको हिंसाका क्रममा जलेर नष्ट भएको छ । यसबाहेक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसहित उपत्यकाभित्र मात्रै दर्जनौँ प्रहरी युनिटहरू जलेर खरानी भएका छन् ।


मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully