भैरहवामा निकालियो सद्भाव र्‍याली

भाद्र २७, २०८२

दीपेन्द्र बडुवाल

भैरहवा — रूपन्देहीको सिद्वार्थनगरमा रहेका एक दर्जन पेसागत र व्यावसायिक संघसंस्थाले शुक्रबार बिहान भैरहवामा सद्भाव र्‍याली निकालेका छन् । गत मंगलबार प्रदर्शनकारीले सरकारी कार्यालय, व्यक्तिका घर र निजी प्रतिष्ठानमा ताेडफाेड र आगजनी गरेपछि सुनसान भैरहवामा चहलपहल फर्काउन सद्भाव र्‍याली निकालिएको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

लुम्बिनी प्रेस क्लवकाे अगुवाइमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्वार्थ उद्योग वाणिाज्य संघ, च्याम्बर अफ कमर्स रुपन्देही, सिद्वार्थ सञ्जाल, सिद्धार्थ यातायात प्रालि, भैरहवा मर्निङ वाक ग्रुप लगायत एक दर्जन संघसंस्था सहभागी थिए । भैरहवाकाे बेलहिया नाकाबाट सुरु र्‍याली देवकोटा चाेक हुँदै बुद्धचाेकमा पुगेर समापन भएकाे थियाे । सबै उद्योगी, व्यवसायी आफ्ना प्रतिष्ठान बन्द गरेर बसेकाे अवस्थामा उनीहरूलाई मनाेबल प्रदान गर्न सद्भाव र्‍याली आयाेजना गरिएको लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले जनाए । 

सद्भाव र्‍यालीमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी टाेकराज पाण्डे पनि सहभागी थिए । प्रशासनले शुक्रबारबाट जिल्लामा कर्फ्यु हटाएकाे छ । यस्ता सद्भाव र्‍यालीले जनजीवन सामान्य तुल्याउन सहयोग पुर्‍याउने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । 


दीपेन्द्र

Link copied successfully