कारागार फर्किएका कैदीले भने : आममाफी पाइने होला भन्दै भाग्यौं, होइन रहेछ

भाद्र २७, २०८२

डीबी बुढा

जुम्ला — मंगलबार राति जुम्ला कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ । उनीहरुमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । केही आफै प्रहरी सम्पर्कमा आएर कारागारमा फर्किरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रविनबाबु रेग्मीले कैदीबन्दीहरु फर्किइरहेको बताए । उनले भने, ‘केही कैदी आफै फर्किइरहेका छन्, केहीको प्रहरीले खोजी गरिरहेको छ ।’ 

एक नाबालकसहित ९८ जना कैदीबन्दी रहेको जुम्ला कारागारमा ४१ जना भागेका थिए । पाँच जना महिला कैदीबन्दी भने कारागारमै बसेका थिए । उनीहरुले प्रहरी र नाइकेलाई चिर्पट प्रहार गर्दै ढोका फोडेर भागेका हुन् । 

प्रहरीले मंगलबार राति नै ५ जनालाई नियन्त्रणमा लिएर कारागारमा राखिसकेको थियो । दुई दिनभित्र ६ जना कैदी प्रहरी सम्पर्कमा आएका कारागार फर्किसकेका छन् । डीएसपी रेग्मीले भने, ‘फर्केकाहरु अन्जानमा भागेको भन्दै पछुतो मानिरहेका छन् ।’ अहिले ३० जना कैदीबन्दी अझै फरार छन् । 

प्रहरीले कैदीबन्दीले तोडफोड गरेको ढोकाहरु मर्मत गरिसकेको छ । डीएसपीले रेग्मीले थपे, ‘अहिले भेटिएकाहरुलाई नियन्त्रणमा लिइरहेका छौं । नभेटिएका कैदीबन्दीका आफन्तहरुको सम्पर्क नम्बर पत्ता लगाएर सम्झाइबुझाइ गर्ने कार्य चलिरहेको छ ।’

फर्किएकाहरुले प्रहरी सामु अन्त कारागारमा धमाधम भागेको दृश्य टेलिभिजनमा देखेपछि आफूहरु पनि भागेको बयान दिएका छन् । कैदीबन्दीको भनाइ उद्धृत गर्दै डीएसपी रेग्मीले भने, ‘सबै भागेको देख्दा हामी पनि आममाफी पाइने होला भन्दै भाग्यौं । त्यो रहेनछ । अनि हामी फर्कियौं । अहिले सम्पर्कमा नआए थप सजाय भोग्नुपर्ने सुनेपछि आयौं । अब तोकिएको सजाय काटेर मात्र फर्किने छौं भनिरहेका छन् ।’ 

अहिले प्रहरीले भागेका कैदीबन्दी सम्पर्कमा नआएर कैद सजाय बढ्न सक्ने समेत चेतावनी दिइरहेको छ । जिल्ला प्रशासन कार्यालयले भागेका कैदीबन्दी समयमै फर्किन सार्वजनिक रुपमा अपिलसमेत गरेको छ । अहिले जिल्ला कारागार जुम्लाका नेपाल प्रहरी,सशस्त्र प्रहरी नेपाली सेनाले संयुक्त रुपमा सुरक्षा दिइरहेको छ । 


डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully