भौतिक पूर्वाधारमा क्षति पुगेका कारण बिहीबारसम्म सेवा प्रवाह सामान्य बन्न सकेको छैन
लुम्बिनी — जेनजी प्रदर्शनका क्रममा लुम्बिनी प्रदेशका रूपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा सरकारी र निजी भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको छ । आगजनीका कारण भवन, आवश्यक कागजात, फर्निचर र सवारीसाधन जलाइएको छ ।
भौतिक पूर्वाधारमा क्षति पुगेका कारण बिहीबारसम्म सेवा प्रवाह सामान्य बन्न सकेको छैन । त्रासका कारण जनप्रतिनिधि र कर्मचारी सुरक्षित स्थानमा बसेका छन् । जसले गर्दा कार्यालय सुनसान बनेका छन् ।
रूपन्देही सदरमुकाम भैरहवामा मंगलबार तोडफोड र आगजनी गरिएका विभिन्न सरकारी कार्यालयको सेवा प्रवाह ठप्प भएको छ । गत मंगलबार दिउँसो एक्कासि सुरु भएको आगजनी, तोडफोड र लुटपाटबाट भैरहवाको बेलहियास्थित भन्सार कार्यालयमा आगजनी गरेर क्षति पुर्याइएको छ । भैरहवा भन्सार प्रमुख शिवलाल न्यौपानेका अनुसार आगजनीबाट भन्सार परिसरमा रहेका सुरक्षा पोस्ट, क्यान्टिन, राष्ट्रिय वाणिज्य बैंक र भन्सार भवनमा क्षति पुगेको छ । आगजनीका कारण भन्सार कार्यालयको दोस्रो तलासम्म कागजात र फर्निचर जलेर नष्ट भएका कारण तत्काल सेवा प्रवाह गर्न नसकिएको उनले जनाए । भारतबाट समान ल्याएर आएका मालबाहक गाडी अहिले भन्सार यार्डमा रोकिएका छन् । लामो समय गाडी रोकिएपछि गन्तव्यमा जान पाउनुपर्ने भन्दै भारतीय गाडीका चालकले दबाब दिइरहेका छन् । आगजनीका कारण भौतिक पूर्वाधारमा क्षति पुगेकाले सिद्धार्थ नगरपालिकाले पनि बिहीबारसम्म सेवा सञ्चालनमा ल्याउन सकेको छैन । कार्यालयको भवन लगायत संरचना जलाइएको छ । त्यस्तै जिल्ला अदालतले सूचना जारी गरेर आइतबारसम्मका लागि सेवा स्थगन गरेको छ । जिल्ला अदालतमा आगजनीबाट धेरै क्षति नदेखिए पनि सरकारी वकिलको कार्यालयका फर्निचर, कागजात जलाइएको छ । उक्त कार्यालयका झ्याल, ढोका, एसी, कम्प्युटरलगायत जलाइएको छ । राष्ट्रपति चुरे संरक्षणको कार्यालयमा आगजनीका साथै गाडी जलाइएको छ ।
भैरहवास्थित आन्तरिक राजस्व कार्यालय पूर्णरूपमा जलेको छ । कार्यालयका अनुसार डाटा सर्भरमात्र जोगिएको छ । कार्यालय सञ्चलानका लागि आवश्यक अन्य संरचना र बस्तु नष्ट भएका छन् । आगजनीका कारण बुटवलस्थित सरकारी कार्यालय, स्थानीय पालिकामा क्षति पुगेको छ । बुटवल उपमहानगरपालिका कार्यालय जलेर ध्वस्त भएको छ । बुटवलको नापी, मालपोत, यातायात कार्यालय आगजनीले ध्वस्त भएका छन् ।
बुटवलस्थित इलाका प्रशासन कार्यालय जलेर नष्ट भएको कार्यालय प्रमुख रामचन्द्र अर्यालले बताए । ‘हामीसँग कुनै अभिलेख बाँकी छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी काम सुरुवात गर्ने अन्योल छ ।’
पश्चिम नवलपरासीका स्थानीय तह, सरकारी कार्यालय, जनप्रतिनिधि र नेताका घरमा तोडफोड र आगजनी भएको छ । जिल्ला समन्वय समितिको एक वर्षअगाडि मात्र निर्माण गरिएको कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । प्रदर्शनकारीले जिल्ला सरकारी वकिल, करदाता सेवा, ग्रामीण आवास कम्पनीको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । जिल्लाका सुस्ता, सरावल र पाल्हीनन्दन गाउँपालिकाबाहेक रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकामा तोडफोड र आगजनी गरिएको छ । ती कार्यालयमा रहेका कागजात, कम्प्युटर, फर्निचर सामान जलाउनुका साथै भवन तोडफोड गरिएको छ । जसले गर्दा पालिकाले बिहीबारसम्म सेवा सञ्चालन गर्न सकेका छैनन् ।
सन्जु पौडेल (रूपन्देही), नवीन पौडेल (परासी), मनोज पौडेल (कपिलवस्तु), रामप्रसाद चौहान (बर्दिया)
