आगलागीमा इम्बोस्ड नम्बर उत्पादन गर्ने प्लान्ट र लाइसेन्स छपाई गर्ने मेसिन जल्यो

छपाई भएर बसेका करिब २० हजार लाइसेन्स जले र केही हराए, सेवा फेरि सुरु हुन दुई महिना लाग्ने

भाद्र २६, २०८२

विमल खतिवडा

काठमाडौं — सोमबार भएको जेन–जीको प्रदर्शनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगो लगाउँदा इम्बोस्ड नम्बर उत्पादन गर्ने प्लान्ट र सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई गर्ने मेसिन जलेर ध्वस्त भएको छ ।

आगलागीका कारण विभागको भवन ध्वस्त बनेको छ । जसले गर्दा भवन जीर्ण बनेकाले पुन: मर्मत गरेर चलाउन सक्ने अवस्था नरहेको विभागले जनाएको छ । विभागका उपमहानिर्देशक केशव खतिवडाका अनुसार छपाई भएर बसेका करिब २० हजार लाइसेन्स वितरणका लागि विभागमा राखिएको थियो ।

प्रदर्शनमा सहभागीहरूले कार्यालयमा आगो लगाउने क्रममा छपाई गरेर राखिएका केही लाइसेन्स साथै लगेका र केहीले कार्यालयबाट निकालेर जथाभावी फालेको दृश्य सामाजिक सञ्जालहरुमा केही दिनयता राखिएको देखिन्छ । 

केही लाइसेन्स भने आगोमा जलेका अवस्थामा फेला परेको विभागले जनायो । ‘कार्यालय जलेर ध्वस्त छ,’ उनले भने, ‘लाइसेन्स आवश्यक परे र इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि अनलाइन आवेदन दिन परेमा अहिले उक्त सेवा ठप्प छ, सबै प्रणाली (सिस्टम) बन्द भएको छ, कार्यालय मर्मत सम्भार गरेर चलाउन सक्ने अवस्था छैन ।’ त्यसैले सेवा सुचारु हुन अझै एक/दुई महिना नै लाग्ने उनले सुनाए ।

यसअघि विभागले तत्काल लाइसेन्स आवश्यक पर्नेलाई निवेदन दिएको चौबिस घण्टाभित्र उपलब्ध गराउँदै आएको थियो । वैदेशिक रोजागरीमा जाने, सुरक्षा निकाय कसैलाई पनि तत्काल लाइसेन्स आवश्यक परे उपलब्ध नहुने भएको छ । विभागमा रहेको एउटा मात्र लाइसेन्स छपाई गर्ने मेसिन आगलागीबाट ध्वस्त भएपछि सेवा अनिश्चित बनेको विभागले जनायो ।  

उपमहानिर्देशक खतिवडाका अनुसार कार्यालयमा पार्किङ गरेर राखिएका ७ वटा गाडी जलेर ध्वस्त छन् । विभागले असोज १ बाट नयाँ दर्ता, नवीकरण र नाम सारी गर्दा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न सार्वजनिक सूचना नै जारी गरेर सबैमा आह्वान गरेको थियो । 

तर जेन–जीको प्रदर्शनका क्रममा जडानकालागि प्रदेश र सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन तयार गरेर राखिएका सबै इम्बोस्ड नम्बर प्लेट पनि जलेको छ । प्लेट उत्पादन गर्ने प्लान्ट समेत जलेर नष्ट भएको विभागको भनाई छ ।

के कति संख्यामा नम्बर प्लेट जल्यो भन्नेबारे यकिन हुने क्रममै रहेको विभागले जनायो । २५ लाख सवारी साधनमा नम्बर प्लेट जडान गर्ने सरकारको योजना रहेकोमा अहिलेसम्म करिब १ लाख सवारीमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । 

के कति क्षति भयो भनेर संकलन गर्ने क्रममै रहेको विभागका सूचना अधिकारी गणेशमानसिं राईले बताए । उनका अनुसार आगलागीबाट कार्यालय पूर्ण रूपमा क्षति भएकाले तत्काल कार्यालयमा गएर काम गर्ने अवस्था छैन ।


विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully