दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्नेबारे अझै अन्योल

व्यवसायीहरूका अनुसार सरकारले सुरक्षाको प्रत्याभूति नदिँदासम्म बन्द सार्वजनिक सवारी सञ्चालन गर्न र अग्रिम बुकिङ टिकट बुकिङ खोल्न सक्ने अवस्था छैन ।

भाद्र २६, २०८२

विमल खतिवडा

काठमाडौं — दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्नेबारे मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायको उपस्थितिमा छलफल गर्ने तयारी थियो । त्यसका लागि विभागले सम्बन्धित निकायलाई पत्राचार पनि गरिसकेको थियो । तर, सोमबार जेन–जीको प्रदर्शनका क्रममा जनधनको क्षति भयो ।

जेन–जीको प्रदर्शनका क्रममा विभागमा आगजनी गरिँदा कार्यालय ध्वस्त भएको छ । अहिले कर्मचारी कार्यालयमा गएर काम गर्न सकेका छैनन् । जसले गर्दा अग्रिम टिकट बुकिङ खोल्ने कुरा अनिश्चित बनेको छ । नत्र घटस्थापनाको एक हप्ताअघि बुकिङ खोल्ने योजनामा विभाग थियो, त्यहीअनुसार छलफल गरिँदै थियो । तर अब यसबारे तत्काल केही भन्न सक्ने अवस्था नरहेको विभागका सूचना अधिकारी गणेशमानसिं राईले बताए ।



‘मंगलबार छलफल गरेर निर्णय गर्ने तयारीमा थियौं,’ उनले भने, ‘प्रदर्शनका क्रममा नसोचेको घटना हुन पुग्यो, त्यसैले अवस्था सामान्य बनेपछि यसबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भएर त्यतैबाट निर्णय हुन्छ ।’ बिहीबारदेखि घटस्थापना आउन १२ दिन मात्र बाँकी छ । विगत वर्षहरूमा प्राय: दसैँका लागि १५ दिनअघि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने गरिन्थ्यो ।



अहिले त्यो वातावरण नभएको यातायात व्यवसायीहरूको भनाइ छ । व्यवसायीहरूका अनुसार सरकारले सुरक्षाको प्रत्याभूति नदिँदासम्म बन्द सार्वजनिक सवारी सञ्चालन गर्न र अग्रिम बुकिङ टिकट बुकिङ खोल्न सक्ने अवस्था छैन । व्यवसायी र यातायात व्यवस्था विभागको जोड अनलाइन टिकटमा छ । तर यसलाई कसरी व्यवस्थित गर्ने र कहिलेबाट खोल्ने भन्नेबारे विभाग र सरोकारवाला निकायबीच छलफल हुन सकेको छैन ।



दसैँका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्नेबारे अहिलेसम्म कतैबाट केही कुरै नआएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘सम्बन्धित निकायले केही नभनेपछि हामीले पनि केही भन्ने कुरा भएन,’ उनले भने, ‘सम्बन्धित निकायले छलफलमा बोलाए त्यही अनुसार निर्णय गरेर अघि बढ्न सकिन्छ ।’ देशभर कर्फ्यु लागेका कारण अवस्था त्रसित भएकाले सार्वजनिक सवारीसाधन नचल्ने उनले बताए । चाडबाडमा सबैतिरका सडक सहज बनाउनुपर्ने माग यातायात व्यवसायीहरूको छ ।



यता चाडबाड नजिकिएकाले सडक पूर्वाधारलाई सहज बनाउन लागि परिरहेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । अहिले अरनिको राजमार्गको कोदारी खण्डमा पहिरो गएर यातायात आवागमन ठप्प छ । जसले गर्दा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट तयारी र दैनिक उपभोग्य वस्तु आउन पाएको छैन । त्यस्तै, ल्हेन्दे खोलामा आएको बाढीले दुई देश जोड्ने पक्की पुल बगाउँदा रसुवागढी नाका असार २४ गतेदेखि ठप्प छ । दसैंअघि ल्हेन्दे खोलामा पुल नबन्ने भएकाले नाका खुल्ने सम्भावना नरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । अन्यत्रका सडकहरूमा चाडबाडमा समस्या हुन नदिन त्यसतर्फ जनशक्ति केन्द्रित हुने महानिर्देशक जैसीको भनाइ छ ।



‘सबैतिर आगलागीबाट ठूलो क्षति भएको छ,निर्माणमा प्रयोग हुने मेसिनहरू सुरक्षित छन्, तिनलाई राजमार्ग र विभिन्न सडकहरूमा पहिरो पन्छाउन प्रयोग गरिएको छ,’ उनले भने, ‘पहिलो उद्देश्य अवरुद्ध सडक तत्काल सञ्चालन गर्नु नै हो,नजिकिएको चाडबाडलाई ध्यानमा राखेर पनि सम्बन्धित सडक डिभिजन, योजना कार्यालयहरुबाट सडकलाई सहज बनाउने कामहरू भइरहेका छन् ।’

उनका अनुसार मुलुकमा जस्तो परिस्थिति आइपरेको भए पनि चाडबाडका बेला सडकमा समस्या हुन नदिने र खाल्डाखुल्डी पुरेर यात्रा सहज बनाउने काम सुरु गरिने छ । दसैँका लागि अहिलेसम्म नागढुंगा–मुग्लिन, आँबुखैरेनी–पोखरा, नारायणगढ–बुटवल, बीपी राजमार्गमा कुनै समस्या नरहेको विभागको भनाइ छ ।



‘अहिलेसम्म चाडबाडका बेला सवारी चाप बढी हुने कुनै पनि राजमार्गमा समस्या छैन,’ उनले भने, ‘पहिरोको समस्या आइरहने जोखिम मानिएका ठाउँमा मेसिन र प्राविधिक जनशक्तिको व्यवस्था गरेका छौं ।’ दसैंमा मात्र उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।

 


विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully