काठमाडौं । मंगलबार देशभर भएको प्रदर्शनपछि देशका विभिन्न कारागारबाट सयौं कैदीबन्दीहरु कारागार तोडफोड गर्दै भागेका छन् । मंगलबार दिउँसोबाट सुरु भएको यो क्रम बुधबार साँझसम्म जारी छ । भागेका केही कैदी बन्दीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिए पनि अहिलेसम्म कुन-कुन मुद्दाका कति कैदीबन्दी भागे भन्ने एकीकृत विवरण आइसकेको छैन्।
काठमाडौं । मंगलबार देशभर भएको प्रदर्शनपछि देशका विभिन्न कारागारबाट सयौं कैदीबन्दीहरु कारागार तोडफोड गर्दै भागेका छन् । मंगलबार दिउँसोबाट सुरु भएको यो क्रम बुधबार साँझसम्म जारी छ । भागेका केही कैदी बन्दीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिए पनि अहिलेसम्म कुन-कुन मुद्दाका कति कैदीबन्दी भागे भन्ने एकीकृत विवरण आइसकेको छैन्।
रौतहटको गौर कारागारबाट २ सय ६० कैदीबन्दी भागेका थिए । तीमध्ये कर्तव्य ज्यान मुद्दाका मात्रै १ सय बढी कैदी छन् । काठमाडौं उपत्यकाका तीन वटा कारागारमध्ये सुन्धारास्थित केन्द्रीय कारागारबाट ३३ सय, ललितपुरस्थित नख्खु कारागारबाट १४ सय जना कैदीबन्दी भागेका छन् । तीमध्ये कैयन जघन्य अपराधमा संग्लन कैदीबन्दी थिए ।
प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि कास्की कारागारबाट ७ सय ७३ कैदीबन्दी फरार भएका छन् । फरारमध्ये २ सय २० जना जबर्जस्ती करणी, १ सय ३० जना कर्तब्य ज्यान, १ सय २८ जना लागुऔषध, २४ जना सहकारी ठगी र बाँकी अन्य कसुरका कैदीबन्दी र थुनुवा थिए । कास्की प्रहरीका विभिन्न हिरासतमा रहेका १ सय ३२ आरोपी पनि मंगलबार रातिदेखि नै फरार छन् ।
चितवन कारागारबाट पनि ७ सय कैदीबन्दी भागेका छन् भने महोत्तरीको जलेश्वर कारागारबाट ५ सय ७५ कैदीबन्दी । कपिलवस्तु कारागारमा आगजनी गरी भागेका ४ सय ५९ कैदीबन्दीमध्ये ७४ जनालाई बुधबार सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । सुनसरी झुम्का कारागारबाट मंगलबार राति १५ सय ७५ जना कैदीबन्दी भागेका छन् । सप्तरीको राजविराज कारागारबाट पनि कैदीबन्दी भागेका छन् । तर कति भागे भन्ने यकिन विवरण आइसकेको छैन ।
पाँच सयको हाराहारीमा रहेका कैदीबन्दी सिन्धुली कारागार तोडफोड र आगजनी गरेर भागेका छन् । गेट तोडेर बैतडी कारागारबाट भागेका ६२ मध्ये ६ जना सम्पर्कमा आएका छन् ।
मकनापुरको भीमफेदी कारागारबाट २६० कैदीबन्दी पर्खाल भत्काएर भागेका छन् । बाँके कारागारबाट ४ सय ३६ कैदीबन्दी फरार भएका छन् । कैलाली कारागारबाट भागेका ६१२ जना कैदीबन्दीमध्ये अहिलेसम्म एक जनालाई मात्र सेनाको टोलीले पक्राउ गरेको जनाएको छ ।
डडेल्धुरा कारागारबाट भागेका ८५ जना कैदीमध्ये सुरक्षाकर्मीले ३२ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर कारागारबाट मंगलबार भागेकामध्ये २१ जना कैदीबन्दी फर्किएका छन् ।
रुकुम पश्चिम कारागारबाट ७२, दाङ तुल्सीपुर कारागारबाट १२४ कैदीबन्दी भागेका छन् भने १६ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सोलुखुम्बु, जुम्ला, म्याग्दी, तनहुँलगायत कारागारबाट पनि कैदीबन्दी भागेका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक लिलाप्रसाद शर्माले कुन कारागारबाट कति कैदीबन्दी भागे भन्ने विवरण संकलन भइरहेको बताए ।
