भदौ २३ मा २८ वर्षमुनिका युवाहरू (जेनजी) ले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा देशभर १९ जना किशोरकिशोरीको ज्यान जाने र सयौँ घाइते हुने गरी सरकारले गरेको निर्मम र बर्बर दमनप्रति इप्पानले घोर निन्दा र भर्त्सना गरेको हो।
What you should know
काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका किशोरकिशोरीलाई राज्यबाट हदैसम्मको दमन गरी संविधानकै उल्लंघन गरेको जनाएको छ।
भदौ २३ मा २८ वर्षमुनिका युवाहरू (जेनजी) ले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा देशभर १९ जना किशोरकिशोरीको ज्यान जाने र सयौँ घाइते हुने गरी सरकारले गरेको निर्मम र बर्बर दमनप्रति इप्पानले घोर निन्दा र भर्त्सना गरेको हो।
राज्य सञ्चालक र संवैधानिक निकायहरूले स्वतन्त्र नियमन गर्नुको साटो सिमित व्यक्तिहरूको स्वार्थमा काम गर्ने, विकास निर्माणका काम वर्षौँसम्म रोक्ने, नागरिकलाई निराश पार्ने, भ्रष्टाचार, वेथिती र कुशासनका साथै ऊर्जा क्षेत्रमा समेत निरन्तर प्रहार हुँदा युवापुस्तामा देखिएको चरम निराशा सडकमा पोखिएको इप्पानले ठहर गरेको छ।
‘राजा ज्ञानेन्द्रको प्रत्यक्ष निरंकुश शासनकालमा २०६२/६३ मा १९ दिनसम्म चलेको जनआन्दोलनमा १९ जनाको ज्यान गएपछि राजाले लोकतन्त्र फिर्ता गरेको स्मरण गराउँदै लोकतान्त्रिक सरकारले जेनजी पुस्ताको आन्दोलनमा एकै दिन १९ जनाको ज्यान जाने गरी धरपकड गर्नु निकै खेदजनक भएकोले प्रहरीबाट निर्ममतापूर्वक गरिएको यो घातक बल प्रयोगप्रति इप्पान कडा शब्दमा निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका किशोरकिशोरीलाई राज्यबाट हदैसम्मको दमन गर्नु संविधानको उल्लंघन भएको इप्पानको ठहर छ। ‘किशोरकिशोरीबाट कुनै गैरकानुनी काम हुन लाग्दा नियन्त्रणमा लिन अन्य उपाय हुँदा हुँदै सिधै गोली हान्ने आदेश दिनु नै खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ।
इप्पानले अहिलेको परिस्थितिपछि प्रदर्शनकारीलाई थप हानी हुन नदिन सरकारसँग माग गरेको छ। भ्रष्टाचार अन्त्य गर्ने, जवाफदेहिता सुनिश्चित गर्ने र नागरिक स्वतन्त्रता कायम गर्ने जस्ता वैध मागलाई सरकारबाट यथोचित सुनुवाइ गर्नुपर्ने माग पनि गरेको छ।
‘सरकारले गरेको दमनपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नु एउटा पाटो हो, तर यतिले मात्र सरकारको जिम्मेवारी पूरा हुँदैन,’ इप्पानले भनेको छ, ‘यस घटनाको सत्यतथ्य छानबिन गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्दछौं।’
अन्त्यमा मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। अस्पतालमा रहेका घाइतेहरूको उपचारका लागि आर्थिक तथा भौतिक सहयोग गर्न सम्पूर्ण ऊर्जा उद्यमीलाई अपिल पनि गरिएको छ।
‘३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन र ५ हजार मेगावाट क्षमताका आयोजनाको निर्माणमा सक्रिय इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूले राज्यलाई वर्षेनी साढे ३ अर्ब रुपैयाँ रोयल्टीसहित विभिन्न शीर्षकमा १० अर्बभन्दा बढी कर तिर्दै आएका छन्,’ विज्ञप्तिमा उल्लेख छ।
ऊर्जा आयोजनाको अध्ययन, निर्माण र सञ्चालनमा लाखौँ नेपालीलाई रोजगारी दिँदै आएको ऊर्जा क्षेत्रले ऊर्जा र पूर्वाधारको थप विकास होस् भन्ने उद्देश्यले राज्यलाई अरबौँ रुपैयाँ कर तिर्दै आएको इप्पानले जनाएको छ।
