मैले देखेको त्यो ९ घण्टा

प्रहरीले यही बेला अश्रुग्यास प्रहार गर्न थाल्यो । बानेश्वरतर्फ गएको भीड संसद् भवनको मुख्य गेटबाट भित्र छिर्न खोज्यो ।

भाद्र २४, २०८२

विवेक पोख्रेल

That 9 hours I saw

What you should know

काठमाडौँ — सोमबार माइतीघरबाट सुरु भएको जेन-जीको प्रदर्शन संयमित रुपमा बानेश्वरतर्फ अघि बढेको थियो । त्यहाँ पुग्दासम्मा संख्या बढ्दो क्रममा देखिन्थ्यो ।

बिहान ९ बजे : कोही स्कुलको पोसाकसहित त कोही पम्प्लेटसहित माइतीघर क्षेत्रमा जम्मा हुँदै थिए । गाडीमा साउन्ड सिस्टम थियो । तिनमा राष्ट्रिय गीतसँगै भाषणका आवाज सुनिएका थिए । 

१० बजे : कोही चित्रमार्फत, कोही पम्प्लेटमार्फत राष्ट्रिय झन्डा बोकेर, कोही उभिएर अनि कोहीले भुइँमै बसेर आन्दोलनका नारा चर्काइरहेका थिए । कोही अभिभावकसँगै आएका थिए, कोही स्कुलका साथीहरूको साथ लागेका थिए । 

१०: ३० बजे : माइतीघरबाट आन्दोलनमा रहेकाहरू बाटो ढाकेर बबरमहलतिर निस्किए । 

११ बजे : बाटो अवरुद्ध गर्दै पुगेको टोली बिजुली बजार पुल पुग्यो । कतिपयले त्यहाँभन्दा पर नजाऔं भन्दै हातले लाइन बनाएर रोक्न खोजे । तर साथीहरूलाई नै बेवास्ता गरेर जेन–जीको प्रदर्शन अघि बढ्यो । 

११: १५ बजे : बानेश्वरको एभरेस्ट होटल अगाडिदेखि निषेधित क्षेत्र भएको भन्दै प्रहरीले ब्यारिकेड राखेको थियो । तर प्रदर्शनकारीले धकेलाधकेल गर्दै ब्यारिकेड तोड्ने प्रयास गरे । प्रहरीको ब्यारिकेडसँगै एपीएफ पनि खटिएको थियो । यही बेला बानेश्वरतर्फ जाँदा देब्रेतर्फ रहेको ब्यारिकेड तोडिए पनि प्रदर्शनमा रहेकाहरू अघि बढेका थिएनन् । 

११: ४५ बजे : बानेश्वरतर्फ रहेका प्रदर्शनकारीलाई प्रहरीले ब्यारिकेड कटाउँदै थियो । यही क्रममा ठूलो भीड बानेश्वरतिरबाट आयो र दाहिनेतर्फको ब्यारिकेड भत्काइदियो । त्यसपछि भीड बानेश्वरतिर बढ्यो । यही बेला भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा हान्यो । 

११: ५० बजे : प्रहरीले यही बेला अश्रुग्यास प्रहार गर्न थाल्यो । बानेश्वरतर्फ गएको भीड संसद् भवनको मुख्य गेटबाट भित्र छिर्न खोज्यो । कोही गेटमाथि पनि चढे र उनीहरूले संसद् भवनका भित्ता प्वाल पार्नेदेखि तारबार भत्काउन थाले । 

१२ बजे : अन्धाधुन्ध अश्रुग्यास हानेको प्रहरीले गोली चलाउने निर्णय गर्‍यो । दिउँसो १ बजे प्रहरीको गोली लागेर लगातार ४ जना प्रदर्शनमा रहेकाहरू ढले । त्यसपछि कर्फ्यु आदेश जारी भयो । प्रहरीको गोली ४ जना पत्रकारलाई पनि लाग्यो । 

१: ४५ बजे : संसद् भवन अगाडि टायर बालियो । यातायात व्यवस्था विभागको गाडीमा तोडफोड गरियो । प्रहरीले हानेको अश्रुग्यास सिभिल अस्पतालमा पनि पुग्यो । 

२ बजे : प्रहरीको सुरक्षा रणनीति बानेश्वर संसद् भवन केन्द्रित भयो । प्रदर्शनमा आएकाहरूले लगातार ढुंगामुढा र नाराबाजी गरिरहे । बबरमहल क्षेत्रमा भने मोटरसाइकलसहित प्रदर्शन गरियो । भीड तितरबितर भयो । 

६ बजे : अस्पतालबाहिर अश्रुग्यास प्रहार गर्‍यो । प्रदर्शनमा रहेकाले सुन्धारामा रहेको प्रहरी बिटमा आगो लगाइदिए । अस्पतालभित्रका अन्य बिरामीका कुरुवा पनि अत्तालिए । अस्पतालको आकस्मिक कक्षमा बिरामीको भीड बढ्दै जाँदा पछाडिपट्टि असरल्ल पारेर प्रदर्शनकारीका ८ शव राखिएका थिए । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully