'उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निष्कर्षको लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु'- प्रधानमन्त्री ओली
काठमाडौँ — जेनजी प्रदर्शनमा बल प्रयोग गरेपछि आन्दोलन चर्किँदै गएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार साँझ ६ बजे सर्वदलीय बैठक बोलाएको भन्दै विज्ञप्ति जारी गरेका छन् । बैठक कहाँ बस्ने भन्ने विज्ञप्तिमा उल्लेख गरिएको छैन।
संवादबाट समस्याको समाधान गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 'हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु,' प्रधानमन्त्रीले भनेका छन्, 'कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो ।'
प्रधानमन्त्री ओलीले उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निष्कर्षको लागि सबै सम्बद्ध पक्षसँग संवादमा रहेको पनि लेखेका छन् ।
