'नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ । पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु ।'
काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दमनको जिम्मा लिएर अविलम्ब पद छाड्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'रातभर सुत्न सकिनँ । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखा अगाडि घुमिरहेको छ । प्रधानमन्त्रीज्युले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।'
महामन्त्री थापाले सत्ता साझेदार कांग्रेसले पनि सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । 'अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनु हुँदैन, रहन सक्दैन,' उनले लेेखेका छन्, 'नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ । पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु ।'
