ऊर्जामन्त्री दीपक खड्काले दिए राजीनामा

सोमबार काठमाडौंसहित देशभर जेनजीले गरेको खबरदारी लोकतन्त्रको असल अभ्यास भएको पनि खड्काले उल्लेख गरेका छन्।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Energy Minister Deepak Khadka resigned

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले राजीनामा दिएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएका हुन्।

सोमबार काठमाडौंसहित देशभर जेनजीले गरेको खबरदारी लोकतन्त्रको असल अभ्यास भएको पनि खड्काले उल्लेख गरेका छन्।

‘मुलुकमा भ्रष्टाचार, ढिलासुस्ती र बेरोजगारी समस्याप्रति उठाइएका एजेन्डा र माग जायज छन्। तर दुर्भाग्यवश हिजोको आन्दोलनमा प्रहरीले बढी नै बल प्रयोग गरेको, दमन गरेको र निहत्था युवामाथि गोली प्रहार भएको घटनाले मलाई निकै दुःखी र मर्माहत बनाएको छ,’ उनले भने।

नागरिकको शान्तिपूर्ण आन्दोलन र विरोध गर्न पाउने नैसर्गिक अधिकारलाई राज्यले संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा तानाशाही र निरंकुश व्यवस्थातर्फ अग्रसर भएको हो कि भन्ने आभासले आफू पीडित भएको समेत उनले जनाए।

‘भविष्य निर्माणका लागि कलम र कापी बोकेर हिँड्ने विद्यार्थी र युवाप्रति निरन्तर सहयोग र काम गर्दै आएको म नै हुँ। तर यिनै युवामाथि किन गोली बर्सियो, केका लागि गोली हानियो भन्ने प्रश्न नगरी सत्तामा बसिरहन उचित लागेन,’ उनले भने। ‘देश नै शोकमा डुब्नेगरी विद्यार्थी तथा युवाप्रति भएको हिजोको घटनाले सरकारको मन्त्रीको रूपमा बसिरहन मेरो नैतिकताले दिएन। तपाईँहरूले दिएको मत, विश्वास र अटल आस्थालाई शिरोधार्य गर्दै मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्दछु।’

कान्तिपुर

Link copied successfully