नेता र मन्त्रीका घरमा ढुंगा प्रहार र आगजनी गर्दै प्रदर्शनकारी

आक्रोशित प्रदर्शनकारीले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर विश्व पौडेल, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको घरमा ढुंगा प्रहार, देउवाको घरमा पनि आक्रमण प्रयास

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Demonstrators pelted stones and set fire to the houses of leaders and ministers

काठमाडौँ — जेनजी प्रदर्शनकारी मंगलबार ‍राजनीतिक दलका नेता र मन्त्रीका घरमा ढुंगा प्रहार गर्न लागेका छन् । काठमाडौं उपत्यका र बाहिरका जिल्लाहरूमा पनि प्रदर्शनकारी नेता र मन्त्रीका घरमा ढुंगा प्रहार र आगजनिमा उत्रिएका हुन् ।

जेनजी प्रदर्शनको दोस्रो दिन मंगलबार प्रदर्शनकारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरमा रहेको घरमा आगजनी गरेका छन् । त्यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् । 

सोमबार गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको घरमा पनि ढुंगा प्रहार गरिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् । 

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा आक्रमण गर्न प्रदर्शनकारी पुगेका थिए । उनीहरूलाई प्रदर्शनकारीले रोकेका थिए । 

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पनि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । 

कान्तिपुर

Link copied successfully