प्रहरी भित्रबाट गोली प्रहार गरिरहेको थियो । म पहेंलो प्रेसको ज्याकेट लगाएका सञ्चारकर्मीहरू छेलिएको गेटको कुनामा ज्यान जोगाउन पुगें ।
What you should know
काठमाडौँ — आन्दोलनको केन्द्र माइतीघर सोमबार बिहान ९ नबज्दै प्रदर्शनकारीले भरिइसकेको थियो । अरू बेला गाडी कुद्ने व्यस्त सडकको छेउछाउमा जेन–जीहरू स्कुटी, बाइक पार्किङ गर्दै नाराबाजी भइरहेका भीडमा सामेल हुँदै थिए । चर्को स्वरमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू र पूर्वप्रधानमन्त्रीविरुद्ध नाराबाजी चलिरहेको थियो ।
अधिकांश कलेजको ड्रेसमा थिए । धेरैजसोले किताबकापीको झोला बोकेका थिए । झुन्ड–झुन्डमा रहेका प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका थिए । विगतका आन्दोलनजस्तो अग्रभागमा खास नेता र ब्यानर थिएन । सार्वजनिक र निजी यातायात प्रायः ठप्पै थियो । त्यहीबीच भीडलाई छिचोल्दै केही युवाहरू कराउँदै डर्ट बाइकमा हुइँकिइरहेका थिए । प्रदर्शनकारी नै भएकाले त्यसरी बाइक कुदाउन उनीहरूलाई रोकतोक थिएन ।
भीडमा हिँड्नसमेत मुस्किल थियो । भीड माइतीघरबाट पूर्वतर्फ नयाँ बानेश्वर लम्किरहेको थियो । बाइकहरू पनि अघि सडक छिचोल्न सकिरहेका थिएनन् । त्यहीमध्येको एउटा बाइकमा लिफ्ट मागेर कान्तिपुरको टिकटकपेजमार्फत लाइभ गर्दै अघि बढे ।
घाम चर्को थियो । तर त्योभन्दा पनि चर्को देखिन्थ्यो आन्दोलनकारीको असन्तुष्टि । ‘हामी आन्दोलनमा हौं । हाम्रो भविष्य बिक्रीका लागि होइन । भ्रष्टाचारलाई होइन भन्नुहोस्’, उनीहरू एकस्वरमा नारा लगाइरहेका थिए । माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक माहोल मात्रै होइन, हावा पनि क्रोध र विरोध मिश्रित थियो । प्रदर्शनकारीहरू बिस्तारै नयाँ बानेश्वरतिर सोझिन थाले, नयाँ बानेश्वर निषेधित क्षेत्र ।
एभरेस्ट होटलछेउमै दंगा नियन्त्रण गर्न नेपाल प्रहरीको सुरक्षा घेरा र भीड नियन्त्रण गर्ने पानीको फोहरा फ्याँक्ने गाडी राखिएको थियो । ११:५० बजेतिर प्रदर्शनकारीले त्यो ट्रकको घेरा तोडे । प्रहरीले पानीको फोहरा र लाठी हान्यो । केही आन्दोलनकारीहरू रक्ताम्मे भएर ढले । जेन–जीहरू नै उनीहरूको उद्धारमा लागे । भीड थामिनसक्नु भइसकेको थियो ।
नयाँ बानेश्वर, शंखमूल सडक, पुरानो बानेश्वर, मीनभवन क्षेत्र पूरै प्रदर्शनकारीको नियन्त्रणमा थियो । प्लेकार्ड र राष्ट्रिय झन्डा बोकेका प्रदर्शनकारीले नयाँ बानेश्वरको ट्राफिक प्रहरीले ड्युटीमा प्रयोग गर्ने आइल्यान्ड कब्जा गरे । करिब १२ बजे प्रदर्शनकारीहरूको एउटा समूह संसद् भवनको दक्षिणतर्फको गेटमा पुग्यो । प्रदर्शनकारीले इँटा, ढुंगा अनि सडकपेटीमा लगाइएका ब्लक उप्क्याएर भित्र रहेका प्रहरीलाई प्रहार गरिरहेका थिए । प्रदर्शनकारीलाई भित्र पस्नबाट रोक्न प्रहरीले अश्रुग्यास र हवाई फायर गर्न थाल्यो । गेटबाहिर रहेका प्रदर्शनकारी स्टिलको रेलिङ, सिसा, कुर्सी भाँचिरहेका थिए । उनीहरू त्यतिमै रोकिएनन् । पर्खालको माथि रहेको फलामका हरिया बार भाँच्न र पर्खालमा भ्वाङ पार्न थाले ।
प्रदर्शनकारीहरूको एउटा समूह सुरक्षा घेरा तोडेर भित्र पस्यो । उनीहरूलाई रोक्न प्रहरी फोहरा अगाडि घेरा हालेर उभिएको थियो । गेटबाहिर रहेका प्रदर्शनकारीले प्रहरीको सेन्ट्री र अन्य कुरा तोडफोड गर्न थाले । त्यसपछि प्रहरीले गोली नै प्रहार गर्न थाल्यो । गोली लागेर आफ्ना साथीहरू सडकमा ढल्दा पनि प्रदर्शनकारी पछि हटिरहेका थिएनन् । केही छाती थापेर प्रहरी नजिकै पुगेका देखिन्थे । केही पर्खाल नाघेर भित्रै पसिरहेका थिए । तिनलाई प्रहरीले नियन्त्रणमा लिइरहेको थियो । त्यहीबेला नयाँ बानेश्वरको कुनामा रहेको प्रहरीको सेन्ट्री पोस्टमा केही प्रदर्शनकारी चढे । त्यहाँबाट भित्र ढुंगा हान्न थाले ।
सोमबारको दृश्यले ०६१/६२ को आन्दोलनका बेला यही क्षेत्रबाटै गरेको रिपोर्टिङ सम्झें । तर, त्यतिबेला अहिलेको जस्तो गोली चलेको थिएन । सोमबारको प्रदर्शनमा त कलिला युवाहरूलाई टाउको र छातीमै लाग्ने गरी गोली प्रहार भयो । अश्रुग्यासका सेल कति प्रहार भए त्यसको त कुनै हिसाब नै भएन ।
हेर्दाहेर्दै एक जना अन्दोलनकारीको गोजीमा गोली लाग्यो । उनको पाइन्ट जल्यो । खल्तीमा रहेको मोबाइल फाले । सायद मोबाइल भएकाले धन्न उनको शरीर छेडेन । उनी सडकमा ढले । केहीबेरपछि उनले मोबाइलबाट सिम झिकेर दिन आग्रह गरे । मोबाइलबाट सिम झिक्न अघि मात्र बढेको थिएँ । फेरि गोली चल्यो । त्यहीबेला प्रदर्शनकारीले सशस्त्र प्रहरीको एम्बुलेन्समा आगजनी गरे । गोली भने चलिरह्यो । गेटकै अगाडि एक आन्दोलनकारी ढलिसकेका थिए । जताततै रगतको आहाल थियो । त्यहीं बस्दा जोखिम ठानें ।
प्रहरी भित्रबाट गोली प्रहार गरिरहेको थियो । म पहेंलो प्रेसको ज्याकेट लगाएका सञ्चारकर्मीहरू छेलिएको गेटको कुनामा ज्यान जोगाउन पुगें । टिकटकमा लाइभ गरी नै रहेको थिएँ । लाइभ रिपोर्टिङ गरेको सुनेर फोटो पत्रकार वर्षा शाहले ‘नबोल्नु दाइ, पुलिसले गोली हानिरहाछ । चुप लाग्नुहोस्’ भनेर हकारिन् । त्यसपछि चुप लागें । आन्दोलनकारीले पारिबाट प्रहरीलाई ताकेर हानिरहेको ढुंगाबाट जोगिने प्रयास गरिरहेको थिएँ । अश्रुग्यासले आँखा पोल्न थालेपछि त्यहाँ बस्न सकिनँ । बिस्तारै मूलगेटबाट पारिको पेट्रोल पम्पतिर दौडिएर एउटा कुनोमा गएर लुकें । तर नजर भने गेटतिरै थियो ।
यसो फर्केर हेर्दा छेउमा आन्दोलनमा आएका अरू विद्यार्थी पनि थिए । यहाँबाट प्रहरी र प्रदर्शनकारीको गतिविधि प्रस्ट देखिन्थ्यो । प्रहरीले गोली हानिरहेको थियो । केहीबेरमै छेउमै एक जना प्रदर्शनकारी खुट्टामा गोली लागेर ढले । उनी छटपटाउन थाल्यो । एम्बुलेन्स, एम्बुलेन्स भन्दै अरू चिच्याए । आधा दर्जन एम्बुलेन्सको सिसा तोडफोड भइसकेको थियो । त्यसैले एम्बुलेन्स आउने अवस्था थिएन ।
घाइतेहरूलाई नजिकैको सिभिल अस्पतालमा लगिएको थियो । चिकित्सकले सामान्य उपचार गरेपछि घाउको प्रकृतिअनुसार सहरका अन्य अस्पतालमा रिफर गरिरहेका थिए । इमर्जेन्सीमा ठाउँ नभएर कतिपयको बाहिरै ड्रेसिङ भइरहेको थियो । अस्पतालका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न हम्मे परिरहेको थियो । बिरामीलाई भेट्न जानेहरूलाई चिकित्सक र अरू स्वास्थ्यकर्मी हात जोडेर, त कसैलाई चर्को बोलेर उपचारमा अवरोध नगर्न भनिरहेका थिए ।
साँझसम्म नै भीड उस्तै थियो । नजिकैको यातायात व्यवस्था विभागको कार्यालयमा पनि आन्दोलनकारी पस्न खोजेका थिए । तर प्रहरीले रोक्यो । तर त्यहाँ सडकछेउमा राखिएका थुप्रै पाइप आन्दोलनकारीले सडकमा ल्याएर जलाइदिए ।
प्रशासनले कर्फ्यु लगाउने निर्णय गरेकाले साँझपख सेनाको ट्रक आइपुग्यो । आन्दोलनकारीले हात जोडेर ट्रकलाई एभरेस्ट होटल अगाडि रोकिराखे । कसैलाई पनि ढुंगा हान्न दिएनन् । त्यही ठाउँमा एक अधिकारकर्मी चढेको कारमा आगजनी गरिएको थियो । पाँच बजेतिर प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्दै गयो । प्रहरीले धेरै बल नगरे पनि आन्दोलनकारीले सडक छाडे । नयाँ बानेश्वरमा आगजनी र तोडफोड गरेका प्रदर्शनकारीले साँझपख भने माइतीघर क्षेत्रमा पानीका बोतललगायतको फोहोर उठाइरहेका थिए ।
