Live

[LIVE] जेन-जी प्रदर्शन : अब सरकारले के गर्नुपर्छ ?

काठमाडौंमा मात्र होइन, देशका विभिन्न सहरमा समेत युवाहरूको प्रदर्शन जारी छ । तर उनीहरूको माग सम्बोधन गर्ने विषयमा सरकार अझै संवेदनशील देखिएको छैन

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

[LIVE] Jen-G demonstration: What should the government do now?

7 Updates

(10:02 PM)

'हामीले युवाहरुको वर्तमानसमेत खोसिरहेका छौं'

सोमबार भएको जेन-जी प्रदर्शनमा सरकारले गरेको निरंकुश व्यवहारलाई लिएर अभिनेता राजेश हमालले असन्तुष्टि पोखेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफू नेपाली भएकोमा यति लाज कहिल्यै महसुस नगरेकोसमेत बताएका छन् । 

'हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौं, उनीहरुको वर्तमानसमेत खोसिरहेका छौं । म विदेश यात्रा गर्दैछु । नेपाली भएकोमा यति लाज महसुस मैले कहिले गरेको थिइनँ,' उनले लेखेका छन्। 

आजको जेन–जीको प्रदर्शनमा ४२२ जनाभन्दा बढी घाइते भएका छन् भने १९ जनाको मृत्यु भएको छ।

'We are also taking away the present of the youth'

(07:27 PM)

'विधिको शासन र सुशासन कायम गरियोस् भनि उठाइएको मागलाई तत्काल सम्बोधन गरिनुपर्छ'

जेन–जीको विरोध कार्यक्रममा सरकारले सार्वजनिक सम्पत्ति सुरक्षा गर्ने नाममा युवा नागरिकको ज्यान लिने गरी बल प्रयोग गरेर मानव अधिकार र नागरिक अधिकारको गम्भीर उल्लंघन गर्‍यो ।

युवाहरुको जगबाट उठेको अवाज तीन पुस्ताको आवाज र माग भएकोले यसअघि विभिन्न तह र तप्काबाट चरम बेथिति र व्यापक भ्रष्टाचारको अन्त्य गरेर वास्तविक विधिको शासन र सुशासन कायम गरियोस् भनि उठाइएको मागलाई तत्काल सम्बोधन नगरे भ्रष्टाचारी र बेइमानीहरुका लागि खाडल झन्–झन् गहिरो हुँदै जाने हुँदा सरकारले तत्काल देहायको कदम उठाउनु बुद्धिमानीपूर्ण हुनेछ ।

– सत्तामा साझेदारी दल लगायत अन्य दलहरु सामेल गरी सर्वदलीय सहमतिमा २०४७ सालदेखि यता उच्च ओहोदामा बस्ने हरुको सम्पत्ति छानबिन गरी कारबाहीसमेत गर्न पाउने गरी अधिकार प्राप्त शक्तिशाली आयोग गठन गर्ने

– वर्तमान संविधानमा रहेका विभिन्न संवैधानिक व्यवस्थाहरुमा सारभूत रुपको संशोधन हुनुपर्ने भएकोले संविधान संशोधन गर्नका लागि एक उच्चस्तरीय संविधान परिमार्जन आयोग गठन गर्ने

– नागरिक समाजसहितको सर्वदलीय सरकार गठन गर्ने

– सामाजिक सञ्जालको प्रयोगमा लगाइएको प्रतिबन्ध तुरुन्त फुकुवा गर्ने

'The demand raised to maintain the rule of law and good governance should be addressed immediately'
वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे

(06:10 PM)

लोकतन्त्र र प्रजातन्त्र सबैको हत्या भयो : शम्भु थापा

लोकतन्त्र र प्रजातन्त्रमा विरोध वा प्रदर्शन गर्न पाइन्छ । तर यसरी दमन गर्नु गलत हो । आजको घटना हत्या नै हो ।  अब सम्बोधन गर्ने वा माग पूरा गर्ने कुरा बाँकी नै रहेन । राज्यले जुन स्तरको तयारी र संयमितता देखाउनुपर्नेमा त्यो देखाउन सकेन । यो अब हत्याको विषय भयो । कसले र किन गर्‍यो भन्ने कुरा अनुसन्धानले देखाउला । गणतन्त्रमा यस्तो हुनु आफैमा दुखद हो । लोकतन्त्र र प्रजातन्त्र सबैको हत्या भयो । यसमा सरकारले तत्काल जिम्मेवारी लिनुपर्छ । 

- वरिष्ठ अधिवक्ता

Democracy and democracy were all killed: Shambhu Thapa

(03:34 PM)

‘जेन-जी आन्दोलन नेताहरूको व्यवहारप्रतिको असन्तुष्टि हो’  

सामाजिक बन्द भएपछि आन्दोलन भए पनि मूलतः यो नेताहरूको व्यवहारप्रतिको असन्तुष्टि हो । सरकारको जथाभावी र गलत निर्णयहरू तथा सुशासन दिन नसक्नु नै युवाहरूको आक्रोशको कारण हो । सरकार र नेतानिकट मानिसहरू जे गरे पनि हुने स्थिति बनेको छ । उस्तै मुद्दामा एकथरि जेल पुग्छन् । अर्को सत्ताको आडमा सुरक्षित रहन्छन् । भ्रष्टाचारका ठूला काण्ड र सरकारी नियुक्तिको किनबेच सुन्दै र बुझ्दै आएका युवा पुस्तामा आक्रोश थपिँदै गएको हो ।

युवाहरू, हिजो सामाजिक सञ्जालमा लेखेर र बोलेर असन्तुष्टि व्यक्त गर्थे । सामाजिक सञ्जाल बन्द गरिएको घटनाले उनीहरूले आफ्नो मुख थुनिएको महसुस गरे । बोल्नै नपाएपछि सडकमा ओर्लिए । पूर्व-पश्चिम सबैतिर असन्तुष्टि प्रकट भएको छ । यो मुलतः नेताहरूको रवैयाप्रति नै हो । युवाहरूले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति मात्र दिँदैनन् । उनीहरूले आफ्नो उद्यम व्यवसाय पनि चलाउँछन् । कतिका आमाबुबाले सामाजिक सञ्जालको माध्यमबाट व्यापार गरेर छोरा छोरीलाई कलेज पढाइरहेको स्थिति पनि छ । त्यो आक्रोश पनि थपिएको छ । अर्कोतिर, कसै-कसैले पोलिटिकल ब्याक-अप पनि गरेको हुन सक्छन् ।

सरकारले ‘पब्लिक ओपिनियन’ को विश्लेषण गरेर कुनै पनि निर्णय लिने गर्नुपर्छ । अझै सरकारको चेत खुल्न आवश्यक छ । नेताहरूले पनि बुझ्न जरूरी छ । युवा पुस्ताले परिवर्तन खोजिरहेका छन् । नेतृत्वमा पुस्तानान्तरण खोइ ? एकैथरि मानिसले वर्षौदेखि आलोपालो सरकार चलाइरहेका छन् । बेलैमा त्यसको सम्बोधन जरूरी छ । नेतृत्वमा पुस्तानान्तरण आवश्यक छ । ‘जेन–जी’ आन्दोलन भड्केर गयो भने श्रीलंका र बांग्लादेशको हालत दोहोरिन बेर लाग्दैन । भ्रष्टाचार र अकुत सम्पत्ति छानबिनका लागि अहिलेकै कानुन पर्याप्त छन् । प्रभावमुक्त तरिकाबाट भ्रष्टाचारको छानबिन गरिन पर्छ । तर, मुख्य कुरा पार्टीका नेताहरूले हिम्मत गरेर नेतृत्वको पुस्तानान्तरण गर्न ढिला गर्नु हुँदैन ।

'Jen-ji movement is dissatisfaction with the behavior of the leaders'
अर्थमन्त्री रामेश्वर खनाल

(03:18 PM)

'युवाहरूको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्छ'

युवा पुस्ता जसले आफूलाई जेन-जी भनेर चिनाउँछन् उनीहरू आन्दोलन गर्न  सडकमा आउन बाध्य हुनु नै आफैंमा दु:खद् घटना हो । जेन-जी समूह भनेको रचनात्मक र केही गरौँ भन्ने ऊर्जाले भरिएको समूह हो । यसलाई रचनात्मक काममा सरकारले उपयोग गराउन सक्नुपर्ने थियो । तर सरकारले  यी जेनजीलाई सही रूपमा प्रयोग गर्न सकेन । सरकारकै कारण उनीहरू निरास भएर सडकसम्म आइपुगेको देखिन्छ ।

जेन-जी समूह आगो लगाउनेवाला होइनन्, उनीहरूले गोली चलाउन सक्दैनन् । देशमा देखिएको वितृष्णाका कारण यस्तो भएको देखिन्छ । शासन व्यवस्थामा युवाको स्पेस कहीँ पनि छैन । भ्रष्टाचार र सुशासन नदेखेका युवाहरूले गरेको प्रर्दशनलाई सरकारले रचनात्मक बनाउन भूमिका खेल्नुपर्ने थियो । तर यससमा सरकार सफल नभएको देखियो ।

स्पेस छैन भन्ने कुरा जान्ने नयाँ पुस्ताले महसुस  गरेको छ । यो रूपमा विध्वशं शैली उनीहरूको हो भन्ने मलाई लाग्दैन । यसको प्रयोग गलत भएको हुनसक्छ । तर सरकारले नै यसमा पर्याप्त तयार गर्न नसकेको देखिन्छ ।  युवाहरूको माग भने तत्काल सरकारले सम्बोधन गर्नुपर्छ । अहिलको मुभमेन्टको लिडर को हो त्यसको पहिचान तत्काल गरेर सरकारले वार्ता थाल्नुपर्छ ।

'The government should address the demands of the youth immediately'
विपिन अधिकारी, संविधानविद्

(02:46 PM)

यिनै नेताहरू हेर्दाहेर्दै जेन-जी वाक्क भैसक्यो

राजनीतिक मुद्दामा पटक-पटक आन्दोलन भयो  । त्यसले राजनीतिक परिवर्तन पनि ल्यायो । विभिन्न खाले स्वतन्त्रता प्राप्त भयो, बहुदल र गणतन्त्रसम्मको उपलब्धि हासिल पनि भयो । तर, परिवर्तनपछि नेतृत्वमा आएकाहरूले आम मानिसको दैनिक जीविकालाई हेरेनन् । आम नागरिकको जीवनस्तरमा परिवर्तन आएन । यो विषयलाई ‘जेन–जी’ पुस्ताले लामो समयदेखि हेर्दै आएका छन् ।

उद्यम, व्यवसाय गरेका मानिसको उसको सीप र क्षमताले जीवनशैली फेरियो । उनका छोराछोरीको जीवन शैली पनि विलासी हुने भयो । त्यसमा ‘जेन–जी’को आपत्ति छैन । नेताका छोराछोरीको जीवनशैली, विलासितामाथि उनीहरूको प्रश्न छ । करदाता नागरिकका सन्तान स-साना कुराका लागि संघर्षरत रहँदा भ्रष्टाचारले असमानता बढाएको छ । अनियमितता र राज्य दोहनका मुलुकको मुख्य समस्या रहेको ‘जेन-जी’ पुस्ताले बुझेका छन् । उनीहरूले आफ्नो आन्दोलनमार्फत त्यसको स्पष्ट सन्देश दिएका छन् ।

अहिले सामाजिक सञ्जालहरू बन्द गरिएको घटनाले उनीहरुलाई ‘ट्रिगर’ गरेको छ । ‘जेन जी’ इन्टरनेटमा हुर्केको पुस्ता हो । विरोध गर्ने, अधिकार माग्नेलाई हिजो रत्नपार्कमा काँडेतार लगाएर छेकिन्थ्यो । अहिले सामाजिक सञ्जाल बन्द गरिनु ‘जेन जी’ का लागि त्यस्तै अवरोध भएको छ । असन्तुष्टि व्यक्त गर्ने ठाउँमा प्रतिबन्ध लगाइएको छ । अहिले आन्दोलनको मौसम होइन । बर्खा, चाडबाडको बेला हो । तर, यतिबेला नै युवाहरूको एउटा तहले सामर्थ्य देखाएका छन् । सरकारले तत्काल सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएर उनीहरूको भावनालाई सम्बोधन गर्नुपर्छ । यो खुलेपछि उनीहरूले यसलाई एउटा तहको सफलता मान्नेछन् ।

तर, यतिमै यो कुरा रोकिन्न । एकैथरि नेताहरूलाई हेर्दाहेर्दै उनीहरू वाक्क भइसक्यौँ भन्छन् । मसँगको कुराकानीमा पनि भाइ-बहिनीहरूले व्यक्त गर्ने मुख्य असन्तुष्टिमा त्यो प्रकट भइरहन्छ । नेताहरूको पुस्तानान्तरण अवश्यक छ । त्यो भएन भने यो आन्दोनल भूसको आगो जस्तै फैलिरहन्छ । विश्वमा धेरै देशमा भ्रष्टाचारको विरोधमा सुरु भएको आन्दोलनले सत्तालाई फ्याँकेका उदाहरण छन् । त्यही भएर बेलैमा नेताहरूले ‘जेन जी’ को भावना बुझ्न जरूरी छ ।

भ्रष्टचारका विषयमा पनि ठोस कदम चालिनु पर्छ । निश्चित समययता सार्वजनिक ओहोदामा रहेका नेता, कर्मचारी सबैको सम्पत्ति छानबिन गरिनुपर्छ । यस्ता कदमहरूले ‘जेन जी’ को आन्दोलनलाई सम्बोधन गर्न सक्छ । युवाहरूलाई आफ्नो भविष्यको पनि उत्तिकै चिन्ता छ । देशमै उद्यम वा रोजगारी वा लगानी गर्न सकिन्छ भन्ने भावना पनि छ । यो जेनरेसनका लागि रोजगारी, उद्यम र लगानीको अवसरको तयारी गर्न ढिला भैसक्यो । यी सबै कार्यका लागि राजनीतिमा पुस्तानान्तरण नै पहिलो सर्त हो । 

Seeing these leaders, Jen-ji was stunned
दिपेश घिमिरे, भ्रष्टाचारविरूद्धका अभियन्ता

(02:31 PM)

युवाको भाषा र सर्तमा सरकारले सम्बोधन गर्नुपर्छ : अन्सारी

युवा पुस्ता हामी जसलाई जेनजी भन्छौँ उनीहरूले देशमा अवसर अनि सुशासन मागेर सडकमा आएका छन् । आज जे घटना भयो एकदमै दु:खदायी भएको छ । सरकारले तयारी गरेन अनि संयमित बनाउन सकेन । सरकारलाई जेनजीले आफूहरू सडकमा आउन लागेको  जानकारी तीन दिनदेखि दिएका थिए । तर सरकार संवेदनशील भएको देखिएन । युवाहरूको  संख्या अत्याधिक छ ।

युवा पुस्ता धेरै छन् । उनीहरूले खोजेको सुशासन, रोजगारी र अवसर हो ।  यो पुस्ताको माग सरकारले तुरुन्त सम्बोधन गर्नुपर्छ । युवाको माग उनीहरूकै भाषा र सर्तमा पूरा गर्नुपर्छ । यो भ्रष्टचार र  भ्रष्ट नेताविरुद्धको आन्दोलन हो । आन्दोलन जोप्रति लक्षित छ, उनीहरूले नै निकास दिनुपर्छ ।  पर्ख र हेर भन्ने अवस्था छैन ।

The government should address the language and terms of the youth: Ansari
मोहना अन्सारी,पूर्व सदस्य मानव अधिकार आयोग

कान्तिपुर संवाददाता

Link copied successfully