घाइतेहरुको स्वास्थ्य लाभको कामनासहित तत्काल नि:शुल्क उपचारको सम्पूर्ण व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
काठमाडौँ — जनता समाजवादी पार्टी नेपालले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन तथा वार्ता र सम्वादमार्फत समस्याको समाधान गर्न माग गरेको छ ।
जसमा महासचिव रामकुमार शर्माले विज्ञप्ति जारी शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको विरोध गरेका छन् । युवा विद्यार्थी सम्मिलित जेन-जीले राजधानी काठमाडौंसहित देशैभरि भ्रष्टाचार अन्त्य तथा सामाजिक सञ्जाल बन्दका विरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाइएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा प्रहरीको गोली प्रहारले मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित तत्काल नि:शुल्क उपचारको सम्पूर्ण व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि देशमा देखिएको गरिबी, बेरोजगारी, कुशासन र भ्रष्टाचारका कारण आम जनसमुदाय आक्रोशित रहेको परिप्रेक्ष्यमा युवा विद्यार्थीले गरिरहेको शान्तिपूर्ण आन्दोलनमाथि दमन बन्द गरी सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन तथा वार्ता र सम्वाद मार्फत समस्याको समाधान गर्न माग गरिन्छ ।’
