उनीहरू एकअर्काको कोठामा आउने-जाने, खाना खाने, बस्ने गर्थे । यही घनिष्ठताको फाइदा उठाउँदै अर्यालले साथीको कोठाबाट सुनका गहना चोरिन् र पसलमा बिक्री गरिन् ।
What you should know
काठमाडौँ — काठमाडौंको नागार्जुन नगरपालिका-४, बाफल खोपाटोल आउने-जाने भित्री सडकमा पूर्वी मोहडा भएको कम्पाउन्डसहितको साढे ३ तले पक्की घर छ । त्यो घरमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-११ की प्रमिला अर्याल तेस्रो तलामा डेरा गरी बस्दै आएकी थिइन् ।
सोही कोठासँगै जोडिएको अर्को कोठामा भाडामा बस्न सिर्जना खत्री गोतामे आइपुग्छिन् । अर्यालले बहिनीको कोठामा जाँदा-आउँदा उनलाई चिनेकी थिइन् । त्यही कारण उनीहरु एकअर्काको कोठामा आउने-जाने, खाना खाने, बस्ने गर्थे । यो घनिष्ठताका कारण गोतामेले बाहिर जाँदा आफ्नो कोठाको चाबी अर्याललाई जिम्मा दिन्थिन् ।
१२ वर्षसम्म कतारमा मजदुरी गरेर आएका गोतामेको श्रीमान् अहिले पठाओ लगायतको राइड सेवामा आबद्ध छन् । श्रीमान् आएपछि चाबी दिनु भनेर गोतामे जेठ २१ गते सधैंझैं अर्याललाई चाबीको जिम्मा लगाएर निस्कन्छिन् ।
यसपटक भने अर्यालले चाबी छाडेर गएको मौका छोपेर उनको कोठाको खानतलासी गर्छिन् । गोतामेको दराजमा रहेको सुनको सिक्री, गणेशको लकेट, कानमा लगाउने मुन्द्रा, जुली हात पार्छिन् । केही दिन कोठामा राखेर काभ्रे बनेपा नगरपालिका-७ त्रिभुवनपार्कस्थित हारती सुनचाँदी पसलमा पुग्छिन् ।
भूकम्पको समयमा बिल हराएको भनेर चोरेको सुनबाट सिक्री, रिङ, मुन्द्रा, तिलहरी बनाउँछिन् । त्यसबाट २६ हजार रुपैयाँ पनि पसलेले उनलाई फिर्ता दिन्छन् ।
यसअघि आफूसँग पैसा छैन भनेर गुनासो गर्ने अर्यालको कानभरि सुन देख्दा गोतामै आश्चर्यमा पर्छिन् । केही दिनअघि उनले १० हजार ऋण मागेकी थिइन् । यसपछि भने गोतामेलाई शंका लाग्छ । यसबारे उनले जेठ २५ गते प्रहरीलाई यो घटनाबारे जानकारी गराउँछिन् । सो क्रममा प्रहरीले उनको कोठामा छापा मार्दा चोरीको सुनको जुली र सुनको मुन्द्रा दराजमा भेट्छ । सुनको बटारे रिङ, मुन्द्रा भने उनले लगाइरहेको प्रहरीले पत्तो पाउँछ । केरकारपछि चोरेको गहनाबाट मुन्द्रा, रिङ र तिलहरी बनाएको उनी स्विकार गर्छिन् ।
प्रहरीसँगको बयानमा उनले १७ गते नै सुन चोरेको र चिनेको पसलमा आफ्नै गहना हो भनेर विश्वास दिलाई बिल नभए पनि बिक्री गर्न सकिने भएकाले त्यहाँ पुगेको बताएकी छन् ।
सरकारी वकिलको कार्यालय काठमाडौंकी सहायक जिल्ला न्यायाधिकक्ता शिला भुसालले अभियोगपत्रमा चोरीको कसुर गरेको भन्दै अर्याललाई तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँ जरिवानाको माग गरिएको जानकारी दिइन् ।
अर्यालले चोरी गरेको सामान फिर्ता गरिसकेकाले अभियोगपत्रमा क्षतिपूर्तिको माग भने गरिएको छैन । काठमाडौं जिल्ला अदालतले उनलाई शुक्रबार २० हजार धरौटीमा छाडेर अनुसन्धान गरिरहेको छ ।
