चिनियाँ राष्ट्रपति सीले ओलीलाई भनेका थिए- यो सिमानाको विषय नेपाल र भारतको विषय हो । तपाईंहरूले वार्ताद्वारा कूटनीतिक माध्यमबाट समाधान गर्नुहुन्छ भन्ने हामीले विश्वास गरेका छौं ।
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी, लिम्पियाधुराका सम्बन्धमा भारतसँग नै कुरा गर्नुपर्ने बताएका छन् ।
नेपालका लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतीय सेनाको नियन्त्रणमा रहेको भएकाले नेपालले भारतसँग नै कुरा गर्नुपर्ने ओलीको भनाइ थियो ।
एमालेको दोस्रो विधान महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै ओलीले कालापानी क्षेत्रको सीमा विवादबारे भारतसँग कुरा गर्ने बताएका हुन् । 'हामी भारतसँग पनि कुरा गर्नेछौं, यो समस्याको समाधान गर्नुपर्ने त भारतसँग नै हो,’ लिपुलेक भएर चीन र भारतबीच व्यापार गर्नेबारे भएको सम्झौताबारे चीनका राष्ट्रपति सी चिनफिङको कुरा उल्लेख गर्दै ओलीले भनेका हुन् ।
चीनका राष्ट्रपति सीले कालापानी क्षेत्रको विवाद नेपाल र भारतबीचको भएको बताएको पनि ओलीले उल्लेख गरेका छन् । 'चिनियाँ राष्ट्रपतिले हामी नेपालको सार्वभौमसत्ताको पूरा सम्मान गर्छौं । यसबाट तपाईंहरूलाई जुन आशंका रहेको छ, यसमा हाम्रो ध्यान छ । तपाईंहरूको राष्ट्रको सार्वभौमसत्तामा तलमाथि पर्नेछैन,' चिनियाँ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै ओलीले भने, 'त्यसमा हामी सम्पूर्ण रुपमा समर्थन गछौं । यो सिमानाको विषय नेपाल र भारतको विषय हो । तपाईंहरूले वार्ताद्वारा कूटनीतिक माध्यमबाट समाधान गर्नुहुन्छ भन्ने हामीले विश्वास गरेका छौं ।' ओलीले राष्ट्रको इज्जत, प्रतिष्ठा र हितमा केन्द्रित भएर विदेश भ्रमण गर्ने गरेको बताए ।
