५ वर्षमा एक हजारभन्दा बढी मानव बेचबिखनका घटना

दर्ता भएका मुद्दामध्ये १४ वटा त मानव अंग झिक्ने कार्यका मात्रै छन् ।

भाद्र २०, २०८२

विवेक पोख्रेल

More than a thousand cases of human trafficking in 5 years

What you should know

काठमाडौँ — दिनभर सडक र पुल निर्माणमा पसिना बगाउने सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेल अहिले लौरोको सहाराबिना हिँड्न सक्दैनन् । ढुंगा, गिटी, बालुवा बोकेर जीवन निर्वाह गर्दै आएका भुजेललाई प्रलोभनमा पारी मिर्गौला निकालिएको छ ।

‘होटलमा सजिलो काम पाइने भन्दै भारत पुर्‍याएका मान्छेले नै मेरो मिर्गौला झिक्दिए,’ भुजेलले भने, ‘६ लाख दिन्छु भन्नेका थिए । हालसम्म लागेको सम्पूर्ण खर्च बेहोर्नुपर्ने भनी डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा मसहित ५ जनाको मिर्गौला झिकियो । मिर्गौला निकालिसकेपछि नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाए पनि मलाई पैसा दिएनन् ।’

उनका अनुसार साउन ९ गते मिर्गौला झिकिएको थियो । भुजेलले भारतको होटलमा काम गर्दा मासिक भारु १० देखि २० हजारसम्म कमाइ हुन्छ भन्ने प्रलोभन देखाई कोटेश्वरबाट कलंकी हुँदै सुनौली सीमा पार गराई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पुर्‍याएको प्रहरीलाई बताएका छन् ।

तर यो व्यक्तिगत घटना मात्र होइन । मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले भुजेलजस्तै नेपालका धेरै नागरिक यस्तै प्रलोभनमा परेका छन् । साउन महिनामा अवैध अंग प्रत्यारोपन मुद्दामा ब्युरोमा ४ जनाको मुद्दा दर्ता भएको थियो । साउन २२ र २३ मा एकएक र २७ गते दुईवटा मुद्दा दर्ता भएको ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुवरले जानकारी दिए ।

२०७६/२०७७ देखि २०८२/२०८३ सम्म ५ वर्षमा आइपुग्दा १ हजार ८८ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १४ वटा मानव अंग झिक्ने कार्यका हुन् । एसपी कुँवरका अनुसार उजुरी परेकामध्ये भारत लगेर मिर्गौला बेच्न खोजेको र बेचिएका उजुरी छन् ।

'यसबाहेक बेचबिखनमा २०४, ओसारपसारमा ४७७, वेश्यावृत्तिमा ३७०, वेश्यागमनमा १ र मानव तस्करीमा २२ मुद्दा दर्ता भएका छन्,' कुँवरले भने । नेपालमा मानव तस्करीका कारण गरिबी, बेरोजगारी, शिक्षा–जागरूकताको कमी र दलालको प्रलोभन भएको उनको भनाइ छ । यद्यपि यसको कारोबार भने चिनजानको मान्छे र आफ्न्तको माध्यमबाट नै सुरु हुने उनले बताए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully