सहकारीमा ठगी : बचतकर्ताको रकमले अध्यक्षलाई घर र गाडी, सालालाई उद्योग, श्रीमती, सासू र सालाको पनि सालाको नाममा जग्गा

सनराइज सहकारीको एक करोड रुपैयाँबाट आफ्नो नाममा दुईवटा गाडी खरिद गरेको अध्यक्ष रिमालले नै प्रहरीलाई बयान दिएका छन् । संस्थाका पदाधिकारीको नाममा मात्रै होइन अध्यक्ष रिमालकी सासू राप्रपा सांसद गीता बस्नेतको नाममा पनि जग्गा पास भयो ।

भाद्र २०, २०८२

रमेशकुमार पौडेल

Fraud in co-operatives: With the amount of the saver, the chairman gets a house and car, the brother-in-law gets an industry, the wife, mother-in-law and brother-in-law also get land in the name of the brother-in-law.

What you should know

चितवन — सनराइज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुको ९० करोड रुपैयाँ अपचलन गरेको सहकारी ठगी मुद्दाकी अभियुक्त प्रतिनिधिसभामा राप्रपाबाट समानुपातिक सांसद रहेकी गीता बस्नेत बिहीबार चितवन जिल्ला अदालतको आदेशबमोजिम २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइन् ।

बर्दियाकी बस्नेत चितवनको सहकारी ठगीमा कसरी जोडिइन् ? सांसद बस्नेतका ज्वाइँ बर्दियाकै नगेन्द्रबहादुर रिमालले चितवन आएर सञ्चालन गरेको संस्था थियो त्यो । जसमा अन्य सञ्चालकहरु पनि बर्दियाकै थिए ।

बर्दियाका व्यक्तिहरुले चितवन आएर भरतपुर महानगरपालिका-३ नारायणगढ लायन्स चोकमा केन्द्रीय कार्यालय र भरतपुरको पश्चिम भेग समेट्ने गरेर थप तीनवटा सेवा केन्द्र सञ्चालन गरेर संस्था चलाएका थिए । यो समूहले बर्दियामा नमस्ते सहकारी र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा पनि छिपछिपे सहकारी चलाएको थियो । हाल यी तीनवटै सहकारी डुबेका छन् र बचतकर्ताहरुको बिचल्ली भएको छ । यो तथ्यले सहकारी खोलेर ठगी गर्न गिरोह नै लागेको देखिन्छ ।  

बचतमा ६ देखि १५ प्रतिशतसम्म ब्याजदर र ऋणमा २० प्रतिशतसम्म ब्याज दर राखेर कारोबार गरेको यो समूहले केसम्म गर्‍यो ? नारायणगढ लायन्सचोकमा सनराइज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनका विषयमा चितवन प्रहरीले गरेको अनुसन्धानले बचतकर्ताको रकम संस्थाका पदाधिकारी र उनीहरुको नातागोताको नाममा निस्फिक्री खर्च भएको देखाएको छ । श्रीमती, सासु, साला र सालाको पनि सालाको नाममा जग्गा किनेको पाइएको छ । संस्थाका अध्यक्षले सहकारीको रकमबाटै करोड रुपैयाँका गाडी किनेको भेटियो । 

सनराइज सहकारीका अध्यक्ष नगेन्द्रबहादुर रिमालको स्थायी ठेगना हो, बर्दिया गुलरिया नगरपालिका–५ । गुलरिया–२ का योगेन्द्र पाण्डे सचिव, गुलरिया–५ का ढुण्डीराज गौतम सहकारीका व्यवस्थापक तथा सदस्य र कोषाध्यक्ष बर्दियाकै राजापुर नगरपालिका–१० का कृष्णप्रसाद ज्ञवाली रहेका थिए । २०७१ सालमा यो समूहले भरतपुरमा सनराइज सहकारी सञ्चालन सुरु गर्‍यो । २०७३ सालमा यही समूहले नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–३ मा छिपछिपे सहकारी जिम्मा लियो । 

सो समूहले २०६७ सालमै बर्दियामा नगेन्द्रबहादुर रिजाललाई नै अध्यक्ष बनाएर नमस्ते बचत तथा ऋण सहकारी संस्था खोलेको थियो । सो संस्थामा २०७१ सालमा कर्मचारीका रुपमा काम सुरु गरेका योगेन्द्र पाण्डे सनराइजमा सचिव बनेर आए । फेरि २०७३ सालमा छिपछिपे सहकारी सुरु गरेपछि पाण्डे त्यसको अध्यक्ष हुन्छन् भने नगेन्द्र सचिव र कृष्णप्रसाद ज्ञवाली र ढुण्डीराज पनि छिपछिपेको सञ्चालक रहन्छन् । कृष्णप्रसाद ज्ञवाली बर्दियाको नमस्ते सहकारीमा बजार प्रतिनिधिका रुपमा काम सुरु गरेका व्यक्ति हुन् । 

पाण्डे छिपछिपेमा सरेपछि सनराइज सहकारीमा अध्यक्ष रिमालका साथै गौतम र ज्ञवालीको हस्ताक्षरबाट बैकिङ कारोबार हुने गरेको प्रहरीको अध्ययन अनुसन्धानले खुलाएको थियो । अध्यक्ष रिमालले प्रहरीमा दिएको बयानअनुसार आफु र योगेन्द्र पाण्डेसमेत सञ्चालक रहेर २०७३ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा कृष्णसार रिसोर्ट दर्ता गराए । गुलरिया–७ मा एक बिघा जमिन किनेर रिसोर्टको भवन बनाए । सोही बेलामा बर्दियामै रिमाल र पाण्डेले कस्मिक नेट सञ्चालन गरे । यी दुई कामका लागि सनराइजको १६ करोड रुपैयाँ गएको छ । 

सनराइज सहकारीको एक करोड रुपैयाँबाट आफ्नो नाममा दुईवटा गाडी खरिद गरेको अध्यक्ष रिमालले नै प्रहरीलाई बयान दिएका छन् । २०७३ सालमा चितवनमा जग्गाको कारोबार बढेको देखेर सहकारीमा बचतकर्ताले जम्मा गरेको आठ करोड रुपैयाँ जग्गा खरिदमा खर्च गरेको रिमालले बताएका छन् । सो जग्गा फेरि सहकारीको नाममा दर्ता नभएर अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको व्यक्तिगत नाममा पास भयो । संस्थाका पदाधिकारीहरुको नाममा मात्रै होइन अध्यक्ष रिमालकी सासु राप्रपा सांसद गीता बस्नेतको नाममा पनि जग्गा पास भयो । 

त्यसै गरी सञ्चालक ढुण्डीराज गौतमको श्रीमती सरिता गौतमको नाममा पनि जग्गा पास गरेको देखिन्छ । महिलाको नाममा जग्गा पास गर्दा राजस्व कम लाग्छ भनेर त्यसो गरेको अध्यक्ष रिमालले बयान दिएका छन् । योगेन्द्र पाण्डेले आफ्नो बयानमा अध्यक्ष रिमालले थप जग्गा पनि सासुको नाममा पास गरेको खुलाएका छन् ।

‘मलाई थाहा भएअनुसार नगेन्द्रबहादुर रिमालले सहकारीमा जम्मा भएको रकमबाट भरतपुरको बसेनीमा १५ धुर जग्गा खरिद गरी गीता बस्नेतको नाममा, गोरखाली टोलमा एक कट्ठा जग्गा उपाध्यक्ष सन्तोषी केसीको नाममा खरिद गरी केसीबाट नगेन्द्रबहादुर रिमालको सालाको नातामा साला पर्नेको नाममा पास गरेको भन्ने सुनेको छु,’ पाण्डेले प्रहरीमा दिएको बयानमा उल्लेख छ । त्यसैगरी सहकारीको पैसाले गुलरियामा घर बनाएर सो घर पनि सासु गीता बस्नेतको नाममा पास गरेको उनले प्रहरीलाई बताएका छन् ।

त्यसै गरी कृष्णप्रसाद ज्ञवालीले प्रहरीलाई दिएको बयानमा सनराइजको पैसाले अध्यक्ष रिमालले गुलरिया बजारमा कृष्णसार टायल उद्योग खोलेको र हाल सो टायल उद्योग रिमालका सालाले सञ्चालन गर्दै आएको उल्लेख छ । अध्यक्ष रिमालसहित सचिव पाण्डेले पनि बचतकर्ताको रकमबाट नवलपरासीमा पक्की घरसहितको जग्गा खरिद गरेको ज्ञवालीको बयान छ । आफूले पनि चितवन भण्डारामा सात कट्ठा जमिन किनेको स्वीकारेका छन् । 

२०६६ साल भदौमा स्थानीयले दर्ता गरेको सनराइज सहकारी पछि बर्दियाको टिमको जिम्मामा पुगेको हो । त्यसपछि उनीहरुले नारायणगढ लायन्सचोकमा केन्द्रीय कार्यालय राखेर कारोबारलाई बढाउँदै लगे । उनीहरुले भरतपुरको विकास चोक, पार्वतीपुर र चनौलीमा सेवा केन्द्र सञ्चालन गरे । केन्द्रीय कार्यालय र सबै सेवा केन्द्रमा परेर २२ हजार ४६४ जना बचतकर्ताबाट २६ अर्ब ५० करोड ५८ लाख ६८ हजार ५९५ रुपैयाँ बचत संकलन गरेको प्रहरीको अनुसन्धानमा देखिन्छ । २५ अबर रुपैयाँभन्दा बढी रकम फिर्ता पनि भएको छ । 

तर ९० करोड ६७ लाख ८१ हजार ५२ रुपैयाँ फिर्ता हुन नसकेको अनुसन्धानले खुलाएको छ । सो सहकारी भरतपुर महानगरपालिकाभित्र कार्यक्षेत्र रहने गरेर सञ्चालनमा आएको थियो । सहकारीमा समस्या आएपछि महानगरले गत वर्ष अध्ययन समिति बनाएको थियो । सो समितिको निष्कर्षमा पनि संस्थाको वास्तविक सेयर पुँजीभन्दा पनि सञ्चालक र सञ्चालकका नजिकको मान्छेको नाममा बढी फर्जी सेयर देखाएर व्यक्तिगत लाभ लिएको उल्लेख छ । सहकारीको सेयर सदस्य नभएका व्यक्तिसँग कारोबार गरेको पाइएको समितिको ठहर छ ।

त्यसैगरी संस्थाका सञ्चालकहरु कोही पनि संस्थाको कार्याक्षेत्रभित्रको स्थायी बासिन्दा नभएको, सञ्चालकहरुले आफ्ना नामका साथै श्रीमती, सासू र अन्य नातेदारको नाममा पनि जग्गा खरिद गरेको, बर्दियाको कृष्णसार रिसोर्टमा सनराइन सहकारीका सञ्चालक साथै सांसद गीता बस्नेत पनि सञ्चालक रहेको महानगरको छानबिन प्रतिवेदनमा उल्लेख छ । सो समितिले पालिकाको क्षेत्राधिकारमा पर्ने सहकारीको सञ्चालक र लेखा समितिका पदाधीकारीहरु संस्थाको कार्यक्षेत्र भित्रैका स्थायी बासिन्दा हुनुपर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

सहकारीमा बचत गर्ने मात्रै नभएर सेयर पुँजी लगानी गर्न, त्यसरी लगानी गरी सहकारीमा सदस्य बन्दा संस्थाको वित्तीय अवस्था कस्तो छ, सञ्चालकहरु कोको हुन् र कस्ता छन् ? व्यवस्थापक लगायतका कर्मचारीका बारेमा पनि बुझेर सहकारीको सदस्य बन्न समितिले सर्वसाधरणलाई अपिल गरेको छ । सनराइज सहकारीले समयमा साधारणसभा र लेखा परीक्षण नगरेको, लेखा सुपरीवेक्षण समिति नै नबनाए महानगरको समितिले पत्ता लगाएको थियो । सो सहकारी २०७९ सालको कात्तिक १४ गतेदेखि बन्द भएको छ । 

समितिको सिफारिसबमोजिम भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले बचत रकम फिर्ता समिति गठन गर्न सेयर सदस्यहरुलाई अनुमति दिएको छ । महानगरले भदौ १५ मा पत्र पठाएपछि सेयर सदस्यहरुले सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय बचत रकम फिर्ता समिति गठन गरेका छन् । समितिले ६ महिनाभित्र साधरणसभा गरेर विवरण पेस गर्न महानगरले निर्देशन दिएको छ । सहकारी ऐनमा कम्तीमा १५ प्रतिशत सदस्य मिलेर ६ महिनाभित्र साधरणसभा गर्ने गरी सम्पति जिम्मा लिने र बचत रकम फिर्ता र सञ्चालक समिति गठनका लागि कारबाही अगाडि बढाउन सक्ने व्यवस्था रहेको छ । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully