‘बलात्कार घटनामा महिला दोषी’ भन्ने अभिव्यक्तिपछि आलोचित बने रुपेश्वर गौर दास

उनले भनेका थिए, ‘केटाहरू भनेको बटर हो, केटीहरू भनेको आगो हो । बटरलाई आगोको नजिक लैजाऊ या आगोलाई बटरको नजिक लैजाऊ, पग्लिने भनेको बटर नै हो ।'

भाद्र १९, २०८२

दया दुदराज

Rupeshwar Gaur Das became criticized after saying that 'women are guilty in rape cases'

What you should know

काठमाडौँ — इस्कोन नेपालका सचिव ‘रुपेश्वर गौर दास’ उर्फ रुपेश जोशी महिलाद्वेषी टिप्पणीका कारण आलोचित बनेका छन् । आफूलाई 'आध्यात्मिक गुरु' दाबी गर्ने उनले महिलाको पहिरनका कारण बलात्कारको घटना बढेको टिप्पणी हालै गरेका थिए ।

गत अगस्ट १५ मा रिटा वर्ड नेपाली नामक युट्युब च्यानलबाट प्रसारित पडकास्टमा उनले महिलाहरूले छोटो कपडा लगाएका कारणले बलात्कारका घटना बढेको बताएका थिए ।कलाकार दीपकराज गिरीसँगको कुराकानीमा उनले महिलाहरूले छोटो कपडा लगाएका कारणले केटाहरू उत्तेजित भएको अभिव्यक्ति दिए । जोशीले भनेका छन्, ‘महिलाहरूलाई लुगा लगाउँदा खेरी, ल एन्ड अर्डर भयो, केटाहरूको उत्तेजनालाई रोक्यो, अब अहिले लुगा पनि छोटो लगायो फ्रिडम, केटाहरू पनि उत्तेजित भयो ।' 

संवादको ३७ औं मिनेटमा उनले भनेका छन्, केटी मान्छेहरूले लुगाहरू राम्ररी लगाउनु, शरीर ढाक्ने गरी लगाउनु । अब आजकाल कति महिलाहरूले भन्छ- हैन, यो हाम्रो राइट हो । हामी देखाउन चाहन्छौँ, हामी राख्छौँ त्यो पनि सही हो । मेरो इच्छा हो म नांगै दौडिन्छु या म गर्छु । तर मलाई जे मन लाग्यो त्यो गर्छुभन्दा त्यसको कन्सिक्वेन्सेस के हुन्छ ?’

उनले भक्तिवेदान्त प्रभुपादलाई उद्धृत गर्दै उनले पुरुष बटर र महिला आगो भनेका छन् ।केटाहरू भनेको बटर हो, केटीहरू भनेको आगो हो । बटरलाई आगोको नजिक लैजाऊ या आगोलाई बटरको नजिक लैजाऊ पग्लिने भनेको बटर नै हो । केटा भनेको अनियन्त्रित नै हुन्छ, केटाहरु भनेको भेडाबाख्रा जस्तै हो । केही पनि बुद्धि हुँदैन केटाहरूको । केटाहरूलाई उत्तेजित नबनाउनका लागि लुगा लगाएर बस,’ उनले भनेका छन्, ‘उनीहरुलाई उत्तेजित नबनाऊ । तर हामी के भन्छौँफ्रिडम’ ह्या..‍. कुरा गर्‍या छौँ । पहिला पहिला त दार्चुलामा कुनचाहिँ एउटालेरेपगर्‍यो, के गर्‍यो भनेर पूरा हेडलाइनमा आउँथ्यो । न्युजमा आउँथ्यो । पाँच १० वर्षमा एउटा सुन्न पाइन्थ्यो । अहिले तएनी सेम पर्सनले पनि गरिरहेको छ क्या । उसलेरेपनगर्ला तर उसले पट्याउला यो गर्ला, दुई चार महिना इन्जोय गर्छ छोडदिन्छ । यो विचार कल्चरमा डिग्रेडेसन भएर आएको हो ।

चौतर्फी आलोचना 

दुई साताअघि प्रसारित यो भिडियो सामाग्री बिहीबारसम्म युट्युबमा मात्रै ८३ हजारभन्दा धेरैले हेरिसकेका छन् । जसमा यो समाचार तयार पार्दासम्म १७३ कमेन्ट देखिन्छन् । तर यो भिडियो सामग्रीमा उनले दिएका विवादास्पद तर्कका क्लिप भने सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म फैलिएको छ । जसमा धेरैले आलोचना गरेका छन् ।

त्यसो त यही भिडियोको कमेन्टबक्समा पनि उनको यो भनाइमा धेरैले असहमति व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन्, ‘म तपाईंको ठूलोफ्यानथिएँ तर यो पडकास्टको ३७ मिनेटको भाग स्वीकारयोग्य छैन । तपाईं सबै देश विदेश घुमेर आउनुभयो । तपाईंले पक्कै देख्नुभएको होला प्राय: धेरै महिलाहरू आफ्नो इच्छाअनुसार नै कपडा लगाउँछन् । उनीहरू  सुरक्षित भए हिँड्छन् । त्यो कुरा  हाम्रो  समाजमा  हुँदैन किनकि महिलालाई   हेर्ने  तारिका  नै गलत  छ । यो कपडाका कारण  यस्तो भएको होइन । त्यसो भए सानो  बच्चाहरूको  किन बलात्कार भइराछ हाम्रो देशमा ?'

त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्- '…यो केवल अज्ञानी मात्र होइन, यो गैरजिम्मेवार र हानिकारक हो । जसको शब्दले जनतालाई प्रभाव पार्छ, उसले जान्नुपर्छ कि बलात्कारको लुगासँग कुनै सम्बन्ध छैन । बुर्का लगाएका महिलाहरू र बालबालिका पनि हरेक दिन आक्रमणमा पर्छन् ।'

उनका कुरा निकै समस्याग्रस्त रहेको अर्का प्रयोगकर्ताले उल्लेख गरेका छन् । 'बलात्कार वा यौन हिंसा कहिल्यै पनि महिलाको लुगा, स्वतन्त्रता वा छनोटको कारणले हुँदैन, यो अपराध गर्ने अपराधीहरूद्वारा हुन्छ । यो अभिव्यक्तिले महिलाहरूलाई दोष दिएर, उनी अपराधीहरूलाई मात्र माफी दिइरहेका छैनन् तर पीडितहरूलाई बोल्नबाट पनि निरुत्साहित गरिरहेका छन्,' उनले लेखेका छन्, 'यस्ता प्रतिगामी र हानिकारक विचार बोल्दा वास्तवमा उनको स्तर देखिन्छ । कृष्णजी आफैं सम्मान, मर्यादा र समानताको पक्षमा उभिएका थिए पीडितलाई दोष दिनु होइन । बलात्कारको लागि महिलाको लुगालाई दोष दिनु आध्यात्मिकता होइन, यो क्रूरता र मूर्खता हो ।

महिला बलात्कार हुनु महिलाकै कारण हुन्छ' भन्ने सोच आफैंमा हिंस्रक र पीडितलाई दोषारोप गर्ने मानसिकता हो ।-अभियन्ता सुनिलबाबु पन्तकमेन्ट बक्समा जस्तै अन्य सामाजिक सञ्जालमा पनि उनको सो भनाइको आलोचना गर्दै धेरैले टिप्पणी गरेका छन् । लेखक जीवन छेत्रीले समाजमा महिलालाई स्वतन्त्र र सार्वभौम नागरिक बन्नबाट रोक्न पितृसत्ताले कसरी विभिन्न बहाना प्रयोग गर्छ भन्ने उल्लेख गर्दै जोशीको विवादित अभिव्यक्तिमाथि टिप्पणी गरेका छन् । लेखक क्षेत्रीले इरान र अफगानिस्तानका उदाहरणहरू दिँदै नेपालमा पनि यस्तै पितृसत्तात्मक सोचका सूक्ष्म रूपहरू व्याप्त रहेको औंल्याएका छन् । क्षेत्रीका अनुसार, 'बटर र आगो'को अभिव्यक्ति सतही लागे पनि, यो हजारौं वर्षदेखि समाजमा जड गाडेको पितृसत्तात्मक विषकै प्रकटीकरण हो, जसले मानिसलाई जात, लिंग, क्षेत्र वा राष्ट्रियताको आधारमा उत्पीडन गर्छ ।

दासको यो अभिव्यक्तिले अपराधीलाई जोगाउने र हिंसालाई वैधता दिने भन्दै सामाजिक अभियन्ता सुनिलबाबु पन्तले सामाजिक  सञ्जाल फेसबुकमा लेखेका छन्, 'महिला बलात्कार हुनु महिलाकै कारण हुन्छ' भन्ने सोच आफैंमा हिंस्रक र पीडितलाई दोषारोप गर्ने मानसिकता हो । यसले अपराधीलाई जोगाउँछ र हिंसालाई वैधता दिन्छ । इतिहासमै थुप्रै उदाहरण छन् जहाँ पूरा शरीर ढाकेका महिलाहरू समेत बलात्कृत भएका छन् । त्यसैले कपडा, चालचलन वा महिलाकोव्यवहारलाई मात्र कारण ठहराउनु गलत र भ्रामक हो ।

अभिनेता राजवल्लभ कोइरालाले पनि सामाजिक सञ्जालमा 'भागवद् गीताको' श्लोक राख्दै रुपेश्वर गौर दासको अभिव्यक्तिले समाजमा विकृति फैल्याउने मत राखेका छन् । 'कुन तर्कले 'डिजिटल गुरुहरू' महिलाले छोटा कपडा लगाउँदा पुरुषको मति बिग्रन्छ भनेर दोष महिलामाथि थोपर्छन् ? कि उनीहरू पूर्ण रूपले ज्ञानी नै भाका छैनन् । न शास्त्र पठेका, न चेतना खुलेका, ज्ञान चक्षुले पनि हेर्न भुलेका जस्तो, काम क्रोध र कुण्ठा अझै बाँकी छ कि उनीहरूभित्र,' उनले फेसबुकमा लेखेका छन्, 'किनभने, वास्तविकता त उल्टो हो, समस्या दृष्टिकोणमा छ, कपडामा होइन । अझ अचम्म त, यस्ता तर्कहीन विचारहरू बोकेका गुरुलाई पनि भीडले नमन गर्छ। यही दृष्टिकोणको अभावले हाम्रो समाजमा गलत व्यवहार र अज्ञानता फैलाइरहेको छ। यही नै हाम्रो समाजको विडम्बना हो ।'

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully