सनराइज सहकारी ठगीमा पनि सांसद बस्नेत २५ लाख धरौटीमा रिहा

पूर्वी नवलपरासीको छिपछिपे सहकारी ठगी मुद्दामा एक वर्षदेखि फरार रहेकी सांसद बस्नेत बुधबार १५ लाख धरौटी बुझाएर रिहा भएकी थिइन् ।

भाद्र १९, २०८२

रमेशकुमार पौडेल

MP Basnet released on bail of 2.5 million also in Sunrise cooperative fraud

What you should know

चितवन — भरतपुर महानगरपालिकाभित्र कार्यक्षेत्र रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी मुद्दामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सामानुपातिक सांसद रहेकी गीता बस्नेत २५ लाख धरौटी बुझाएर छुटेकी छन् ।

गत कात्तिकमा मुद्दा दायर हुँदा अनुपस्थित रहेर फरार सूचीमा रहेकी सांसद बस्नेत बिहीबार चितवन जिल्ला अदालतमा हाजिर भएकी हुन् । बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश जयन्ती अवस्थी भट्टको आदेशबाट धरौटीमा रिहा भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । सनराइज सहकारीको ९० करोड रुपैयाँ बढी अपचलन आरोपमा सांसद बस्नेतसहित २१ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । 

तत्कालीन भरतपुर नगरपालिका–१२ मा कार्यालय रहने गरेर २०६६ भदौ ११ मा उक्त सहकारी दर्ता भएको थियो । पछि बर्दिया गुलरिया–५ का नगेन्द्रबहादुर रिमाल अध्यक्ष रहने गरेर सहकारी सञ्चालनमा आएको थियो । रिमाल अध्यक्ष भएपछि भरतपुर महानगरपालिका–३ लायन्सचोकमा कार्यालय राखेर २०७३ सालदेखि सहकारी सञ्चालन हुँदै आएको थियो । संस्थाले अन्य दुई ठाउँ चनौली र भरतपुर विकास चोकमा पनि सेवा केन्द्र खोलेको थियो । बर्दिया गुलरिया नगरपालिका–७ की बासिन्दा बस्नेत अध्यक्ष रिमालकी सासु हुन् । 

बयानका क्रममा रिमालले सहकारीको पैसाबाट सासु बस्नेतको नाममा जग्गासमेत किनेको खुलाएका छन् । 

चितवन जिल्ला अदालतमा दायर भएको ठगी मुद्दाको अभियोगपत्रमा बस्नेतले सनराइज सहकारीबाट रकम लगेर बर्दियाको कृष्णसार रिसोर्टमा खर्च गरेको १५ करोड रुपैयाँको २५ प्रतिशत रकम बेहोर्न माग गरिएको छ । 

त्यसैगरी सहकारीको बचत रकमबाट सांसद बस्नेत र अन्य सात जनाले चितवनमा ८ करोड रुपैयाँको जग्गा किनेको पनि अभियोगपत्रमा उल्लेख छ । ‘प्रतिवादी ढुण्डीराज गौतमसमेतको मिलेमतोमा प्रतिवादी गिता बस्नेत र सरिता गौतमले सनराइज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरी जग्गा खरिद गरेर सनराइजका शेयर सदस्य र बचतकर्तालाई ठगी गरेको पुष्टि हुन्छ,’अभियोगपत्रमा उल्लेख छ । 

प्रहरी अनुसन्धानले सांसद बस्नेतले चितवनको सहकारीको पैसा आफूसमेत सञ्चालक रहेको कृष्णसार रिसोर्टमा लगानी गर्नुका साथै जग्गासमेत खरिद गरेको देखाएको छ । मुद्दा दायरपछि गएको मंसिर ४ गते थुनछेक बहस हुँदा अदालतले त्योबेला उपस्थित रहेका ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । त्योबेला चितवन जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएका नगेन्द्रबहादुर रिमाल, योगेन्द्र पाण्डे, कृष्णप्रसाद ज्ञवाली र ढुण्डीराज गौतमलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीको छिपछिपे सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । नवलपरासीको उक्त मुद्दामा पनि उनीहरु पुर्पक्षका लागि भरतपुरकै कारागारमा थुनामा थिए । 

अभियोगपत्रमा उल्लेख भए अनुसार सहकारीको केन्द्रीय कार्यालय लायन्सचोक र सेवा केन्द्रहरु पार्वतीपुर, चनौली र विकास चोकमा रहेका २२ हजार ४ सय ६४ जना बचतकर्ताको ९० करोड ६७ लाख ८१ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने देखिन्छ । तर उजुरी गर्ने बचतकर्ता १ हजार ६ सय १० जना मात्रै छन् । छिपछिपे सहकारी संस्थाको मुद्दामा एक वर्षदेखि फरार सांसद बस्नेत बुधबार १५ लाख धरौटी बुझाएर अदालतबाट रिहा भएकी थिइन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully