गृहिणी समूहले फुर्सदको समय सदुपयोग गर्दै व्यावसायिक रूपमा अचार उत्पादन थालेपछि लाखौंको कारोबार गर्दै आत्मनिर्भर बनेका छन् ।
What you should know
महोत्तरी — सर्लाही ईश्वरपुरकी ३६ वर्षीया बबिता झा २ जना छोराछोरी पाल्न गौशाला बजारमा डेरा लिएर बस्छिन्। बच्चाहरू विद्यालय गएपछि डेरामा समय बिताउनै मुस्किल हुन्थ्यो। कक्षा १० सम्मको पढाइ गरेकी झा आफ्नै व्यवसाय गर्न चाहन्थिन्। तर पैसा अभावमा सम्भव भएन।
फुर्सदमा गफ गरेर बस्ने सहेलीहरू मिलेर अहिले अचार बनाउन थालेपछि बबिताले दिन बितेको थाहै पाउँदिनन्। फुर्सदमा गफगाफ गर्ने सहेलीहरू मिलेर 'सहेली अचार उत्पादन' थालेकी छिन्। बबिता जस्तै गौशाला बजारकी गृहिणीहरू फुर्सदमा हुन्थे। खाना पकाएर बच्चा विद्यालय पठाएपछि खासै काम हुन्थेन। फुर्सदको समय कोही मोबाइल चलाएर बिताउँथे, कोही छिमेकीसँग गफ गरेर। तर अहिले मोबाइल चलाउन र छिमेकीसँग भेट्ने समय गृहिणीहरूलाई छैन।
श्रीमान् जागिरे भएपछि बच्चा पढाउन बजार क्षेत्रमा डेरा गरी बस्ने महिलाहरू समूहमा आबद्ध भई अचारको व्यवसाय थालेकी छिन्। गौशाला बजारकी गृहिणी साथीहरू मिलेर सहेली अचार उत्पादन थालेका छन्। फुर्सदको समय सदुपयोग र घरवारीमा खेर जाने कृषि उत्पादनलाई सस्तोमा खरिद गरी स्वादिलो अचार बनाउन थालेकी छन्। ११ जना गृहिणी महिलाहरू अचार व्यवसाय थालेकी छन्।
२/२ हजार रुपैयाँ जम्मा गरी अचार बनाउन थालेकी महिला समूहको कारोबार लाखमा पुगेको छ। सहेली अचार उद्योग नाम राखी ६ महिनाको प्रयासपछि व्यावसायिक रूपमा अचार बिक्री गर्न थालेको उद्योगकी अध्यक्ष रञ्जिताकुमारी कर्णले बताइन्। ‘हामी सबै जना साथीहरू मिलेर सुरुमा २ हजार, १० हजार गरी २५ हजारसम्म लगानी लगाएर अचार उद्योग थालेका छौँ,’ कर्णले भनिन्, ‘हावाहुरी आउँदा बगैंचामै आम छोड्नु पर्ने, बजारमा मूल्य नपाउने र बेच्न ल्याउँदा परिश्रम खेर जाने देखेर हामीले सिजनमा सस्तो मूल्यमा आम स्टोर गर्ने, काटेर सुकाउने र वर्षभरि अचार बनाएर बेच्ने योजना बनाएर अचार बनाउन थाल्यौँ।’
पहिले घरघरमै काम गर्दा पारिश्रमिक थिएन, तर अहिले अचार सुकाउन, बनाउन र बजारसम्म पुर्याउने जिम्मेवारी तोकेर काम गरेको प्रति घण्टा ८० रुपैयाँ सदस्यहरूलाई दिने गरेका छौँ, कर्णले भनिन्।
उद्योगकी अध्यक्ष कर्ण घरमा सासू–ससुराको रेखदेख गर्ने कोही नभएपछि निजी विद्यालयको शिक्षण छोडेर घरको कामसँगै फुर्सदको समय अचार उद्योगमा बिताउँछिन्। शिक्षण पेशा छोडेकी कर्णले नै साथीहरूसँग अचार बनाएर बेच्ने कन्सेप्टसहित समूह बनाएकी हुन्।
अचार बनाउन र राख्न घर भाडा लिएर बजार प्रवर्द्धन गर्ने जिम्मा उद्योगकी अर्की सदस्य पवित्रा आचार्यले पाएकी छन्। आचार्य सामुदायिक विद्यालयकी शिक्षिका हुन्। उनले उद्योगको प्रशासनिक काम सम्हाल्छिन्। आमको अचार बनाउनबाट थालिएको उद्योगमा अहिले करेला, कागती, अमला, गाजर, मुला, अदुवा, लसुन, खुर्सानीको अचार बन्न थालेको आचार्यले बताइन्। ‘आमबाट फक्का, कसौनी, लेदो, आम–खुर्सानी मिक्सलगायत ५ प्रकारको अचार बनाउँछौँ,’ आचार्यले भनिन्, ‘अहिले खुद्रा आसपासकै व्यक्तिहरूले किनेर लग्ने गरेको छ। उद्योग दर्ता थिएन, अहिले दर्ता भयो। अब होलसेल, सुपरमार्केटलाई सप्लाई गर्नेगरी उत्पादन बढाउँछौँ।’
‘फुर्सदको सदुपयोग गर्दै बजारमा सस्तोमा उपलब्ध हुने समयमा अमला, करेला, आम, मुला, गाजर खरिद गरी अचार बनाएर आत्मनिर्भर बन्न उद्योग सुरु गरेका छौँ,’ उनले भनिन्। अचार उत्पादन थाल्ने योजना बनाउँदा घरमा सिकेको सामान्य सिप मात्रै थियो। अहिले सदस्यहरूले अचार बनाउने तालिम पाएकी छन्, आचार्यले भनिन्। ‘सिपसँगै औजारहरू पनि जोड्यौँ। अचार राख्नेदेखि बजारसम्म बेच्ने र मूल्य निर्धारण गर्ने विधि सिक्यौँ।’ ‘अचार बनाउने हुटहुटीले हामी महिलाहरू एक भएर मिहिनेत गरिरहेका छौँ,’ उनले भनिन्।
