खोप केन्द्रको जग्गा भारतीय महिलाका नाममा धनीपूर्जा बनाएर बिक्री गरेको खुलासा

तत्कालीन जनप्रतिनिधि, मालपोत कार्यालयका केही कर्मचारी र भूमाफियाको मिलेमतोमा सार्वजनिक सम्पत्ति कब्जा गरेर बिक्री गरिएको तथ्य बाहिर आएपछि नगरपालिका र मालपोत कार्यालय दुवैले छानबिन अघि बढाएका छन्।

भाद्र १८, २०८२

पर्वत पोर्तेल

It was revealed that the land of the vaccination center was sold in the name of Indian women as a fortune

What you should know

विराटनगर — मोरङको सुनवर्षी नगरपालिका–८ मा रहेको सरकारी खोप केन्द्रको जग्गा भारतीय महिलाको नाममा धनीपूर्जा बनाएर बिक्री गरेको खुलेको छ। तत्कालीन जनप्रतिनिधि, मालपोत कार्यालयका केही कर्मचारी र भूमाफियाको मिलेमतोमा सार्वजनिक सम्पत्ति कब्जा गरेर बिक्री गरिएको तथ्य बाहिर आएपछि नगरपालिका र मालपोत कार्यालय दुवैले छानबिन अघि बढाएका छन्।

स्थानीयका अनुसार वडा नम्बर ८ खडेवारीस्थित आधारभूत विद्यालय पछाडिको ७ कठ्ठा बढी ऐलानी जग्गामा रहेको खोप केन्द्र वर्षौँसम्म सामुदायिक खेलमैदानको रुपमा प्रयोग हुँदै आएको थियो। तर, क्रमशः विभिन्न व्यक्तिहरुले घर टहरा बनाउन थालेपछि सो जग्गा भारतीय नागरिक पदमादेवी गन्गाईको नाममा गलत तरिकाले धनीपूर्जा बनाई, उनीमार्फत विभिन्न ९ जनाको नाममा बिक्री वितरण गरिएको पाइएको छ।

स्थानीयवासीले यो घटना सार्वजनिक सम्पत्तिमाथिको ठुलो अतिक्रमण भएको भन्दै आक्रोश पोखेका छन्। उनीहरुका अनुसार खोप केन्द्र र खेलमैदान रहेको ऐलानी जग्गा पदमादेवीको नाममा २०७१ सालमै दर्ता भएको थियो । पदमाको माइती सोही क्षेत्रमा भए पनि उनी भारतमा विवाह भएकी भारतीय नागरिक हुन्। वडाध्यक्ष अनवर मियाँका अनुसार तत्कालीन जनप्रतिनिधि र मालपोत कार्यालयका केही कर्मचारीको मिलेमतोमा अवैध रुपमा धनीपूर्जा बनेर बिक्री गरिएको हो।

'खोप केन्द्र रहेको सरकारी जमिनलाई निजी स्वामित्वमा पुर्‍याउने कार्य अत्यन्त गैरकानुनी हो। अहिले नगरपालिका र वडा कार्यालय दुवै मिलेर सो जग्गा फिर्ता ल्याउने पहल भइरहेको छ,' मियाँले भने ।

यता मालपोत कार्यालय रंगेलीका प्रमुख सुनिल पौडेलका अनुसार सो जग्गा कित्ता नं. १६६ अन्तर्गत ऐलानी जमिनका रुपमा उल्लेख भए पनि कार्यालयका प्रमाणित फाँटवाला र प्रमुखको अनुमोदन नपाएको पाइएकाले धनीपूर्जा किर्तेगरी तयार पारिएको हुनसक्ने आशंका गरिएको छ।

It was revealed that the land of the vaccination center was sold in the name of Indian women as a fortune

कार्यालयको अभिलेखअनुसार २०७४ पुस २४ गतेको हालसाविक निर्णय अनुसार सो कित्ता नं. १६६, नयाँ कित्ता नं. १२२ बनेको छ। पदमादेवीले सो जग्गा वडा नम्बर ९ की रेखादेवी साहलाई राजिनामा पास गरेकी थिइन्, रेखादेवीबाट हाल विभिन्न ९ जनाको नाममा बिक्री भएको देखिन्छ।

'यो प्रकरणमा गम्भीर अनियमितता देखिएको छ। हाल सो जग्गा रोक्का गरेर छानबिन भइरहेको छ। गलत पाइएको खण्डमा सरकारी सम्पत्ति फिर्ता ल्याइनेछ र संलग्न सबैमाथि कानुनी कारबाही गरिनेछ,' पौडेलले भने । 

हाल विभिन्न व्यक्तिहरुको नाममा पुगेको सो जग्गामा घर टहरा र संरचनाहरू निर्माण भइरहेका छन्। जमिन किनेका व्यक्तिहरुले आफूहरुले 'खुन पसिनाको कमाईले'जग्गा खरिद गरेको दाबी गर्दै क्षतिपूर्ति नदिइ फिर्ता लिन खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

तर, स्थानीयवासी भने सरकारी खोप केन्द्र र सार्वजनिक सम्पत्ति हडपेर बिक्री गिरोहलाई कानुनी कारबाही गर्न माग गरिरहेका छन्। सुनवर्षी नगरपालिकाले यस घटनालाई गम्भीर रुपमा लिएको नगर प्रमुख श्यामप्रसाद राजवंशीले जनाए। नगरको पहलमा मालपोत कार्यालयसँग समन्वय गरी सम्पत्ति फिर्ता ल्याउने र संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्ने तयारी भइरहेको छ।

'सार्वजनिक खोप केन्द्रको जग्गा भारतीय नागरिकको नाममा पुगेको घटना गम्भीर छ', प्रमुख राजवंशीले भने,'स्थानीयवासी, वडा कार्यालय र नगरपालिका मिलेर सरकारी सम्पत्ति फिर्ता ल्याउन पहल गर्ने छौ।'

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully