छिपछिपे सहकारी ठगी : राप्रपाकी सांसद बस्नेत १५ लाख धरौटीमा रिहा

पूर्वीनवलपरासीका न्यायाधीश कमलप्रसाद ज्ञावालीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो । पूर्वी नवलपरासीको कावासोतीमा रहेको उक्त सहकारीको रकम हिनामिनाको अभियोग लागेपछि गत एकवर्षदेखि उनी फरार थिइन् ।

भाद्र १८, २०८२

नारायण शर्मा

Cooperative Fraud: RPP MP Basnet released on 1.5 million bail

What you should know

नवलपरासी — छिपछिपे सहकारी संस्थाको रकम हिनामिनामा संलग्न रहेर एक वर्षदेखि फरार राप्रपाकी संघीय सांसद गीता बस्नेत बुधबार १५ लाख धरौटी बुझाएर अदालतबाट रिहा भएकी छन् । 

पूर्वीनवलपरासीका न्यायाधीश कमलप्रसाद ज्ञावालीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो । पूर्वी नवलपरासीको कावासोतीमा रहेको उक्त सहकारीको रकम  हिनामिनाको अभियोग लागेपछि गत एकवर्षदेखि उनी फरार थिइन् ।

'आजै मैले नै यो मुद्दामा बहस गरेर आएको हुँ । बहस गर्दा थुनामा जान्छिन् कि भन्ने लागेको थियो, छुटिछन्,' जिल्ला सरकारी वकिल सुरेन्द्र काफ्लेले भने । बस्नेत अध्यक्ष रहेको बर्दियाको कृष्णसार रिसोर्टमा छिपछिपे सहकारीको ९६ लाख रुपैयाँ लगानी भएको त्यतिबेलाको छानबिन प्रतिवेदनले औंल्याएको थियो । त्यसैको आधारमा उनीमाथि रकम अपचलनको अभियोगमा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले सहकारी ठगिमा मुद्दा दर्ता गरेको थियो । 

मुद्दा दर्ता गरेदेखि नै फरार रहेकी बस्नेत बुधबार दुई जना वकिलसहित जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहान साढे १० बजे हाजिर भएकी थिइन् । अदालत हाजिर भएकै दिन बुधबार थुनछेक बहस हुँदा बस्नेत छुटेकी हुन् । उनीविरुद्ध जिल्ला अदालतको आदेशले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । बस्नेत राप्रपाबाट समानुपातिकतर्फकी प्रतिनिधिसभा सदस्य हुन् । 

बस्नेतका ज्वाइँ नगेन्द्र रिमाल छिपछिपे सहकारीको सचिव भएको अवस्थामा रकम कृष्णसार रिसोर्टमा ऐनविपरीत लगानी भएको अनुसन्धानले देखाएको थियो । रिमाल हाल हिरासतमै छन् । बस्नेतको पक्षबाट बहस गरेका अधिवक्ता भूपेन्द्र खनालले बुधबार बिहानै निवेदन दिएर बहस भएपछि बस्नेत छुटेको जानकारी दिए ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully