समितिमा सभापतिले कर्मचारीले कार्यालय समय बाहिर पढाउन पाउने व्यवस्था राखेर जानुपर्ने भनेको कुरा प्रतिवेदनमा समेटिएको छैन ।
काठमाडौँ — संघीय निजामती सेवा सम्बन्धी विधेयकमा विधायन व्यवस्थापन समिति सभापति तुलसा दाहालले पारित भएको भनी घोषणा गरेको व्यवस्था प्रतिवेदनमा नसमेटिएको पाइएको छ ।
सभापति सभापति दाहालले समितिको मंगलबारको बैठकमा निजामती सेवामा बहालवाला कर्मचारीले कार्यालय समय बाहेकको समयमा लोकसेवा तयारी कक्षा पढाउन पाउने व्यवस्था गरेर जानुपर्ने बताएकी थिइन् ।
विधेयकको दफा ८२ (३)मा लोकसेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रतियोगितात्मक परीक्षाको तयारीक लागि संचालन गरिने प्रशिक्षण कार्यक्रममा कुनै पनि निजामती कर्मचारीले प्रशिक्षण दिन पाउने छैन भन्ने व्यवस्था छ । यो व्यवस्था संशोधन गर्नुपर्ने सांसदहरूले धारणा राखेका थिए । कार्यालय समय बाहिर अध्यापन गराउन पाउने व्यवस्था राख्नुपर्ने सांसदहरूको धारणा आएपछि सभापति दाहालले भनिन्, ‘कार्यालय समय बाहिर पढाउन पाउने गरी व्यवस्था राखेर जाऔं ।’ त्यतिबेला कसैले विरोध गरेका थिएनन् । तर, समितिमा सभापतिले पढाउन पाउने व्यवस्था राखेर जानुपर्ने भनेको कुरा प्रतिवेदनमा भने समेटिएको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी भने निजामती कर्मचारीलाई पढाउन पाउने व्यवस्था राख्न नहुने अडानमा थिए ।
सरकारको प्रस्तावलाई सत्तारुढ एमाले, कांग्रेस र एकीकृत समाजवादीका केही सांसदले साथ दिएका थिए । प्रमुख प्रतिपक्षी माओवादी, एकीकृत समाजवादीका केही र जसपा नेपालका सांसदले कार्यालय समय बाहिर पढाउन पाउने व्यवस्था राख्नुपर्ने धारणा राखेका थिए ।
प्रतिवेदन राष्ट्रिय सभामा पेस भइसकेको छ । प्रतिवेदन लेखनका क्रममा उक्त व्यवस्था नसमेटिएको हुनसक्ने सांसदहरूले बताएका छन् ।
सांसद मायाप्रसाद शर्माले कार्यालय समय बाहेकमा काम गर्न पाउने सहमति भएकोमा संसद् पुग्दासम्म उल्टिएको बताए । कार्यालय समय बाहिर काम गर्न पाउने भन्ने व्यवस्था पास भएको भनिएको तर संसद्मा पुग्दा प्रतिवेदनमा नसमेटिएको उनले बताए । 'कार्यालयको अतिरिक्त समयमा काम गरेर खान पाउने अधिकार कुण्ठित गर्नुहुन्न,' उनले भने ।
सांसद राधेश्याम पासवानले प्रतिनिधिसभामा चलखेल भएको विधेयक राष्ट्रिय सभामा आउँदा पनि त्यै कायम रहेको हो कि भन्ने आशंका गरे । 'दफा ८२ (३)मा लोकसेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रतियोगितात्मक परीक्षाको तयारीका लागि निजामती कर्मचारीहरू प्रशिक्षण कार्यक्रम अफिस समयबाहेक गर्नुपर्ने हाम्रो सहमति भएको थियो, विधायन समितिमा,' पासवानले भने, 'तर, यहाँ आउँदा प्रतिवेदनबाट हटाइएको छ । यो किन हटाइयो र के कारण हटाइयो ? यो त 'कुलिङ अफ पिरियड'जस्तै यहाँ पनि गरियो । निजामतीका कर्मचारीले आफ्नो कार्यालय समय बाहेक काम गर्न त पाउँछ नि ! गलत गरेमा नियम कानुन छ, कारबाही गर्न सकिन्छ । सहमति हुँदाहुँदै पनि यहाँ आएन । '
