पैसासँगै सुनका ढिक्का, बाला, औंठीलगायतको गरगहना बरामद भएको एसपी अपिलराज बोहराले जानकारी दिए । उनको कोठामा भेटेको पैसा प्रहरीले मेसिनबाट गनेको थियो ।
What you should know
काठमाडौँ — विनोदकुमार श्रेष्ठको घरबाट प्रहरीले झन्डै ४ करोड अवैध रकमसहित गरगहना बरामद गरेको छ । काठमाडौं महानगरपालिका–२६, गोंगबुमा रहेको उनको साढे दुई तले घरबाट प्रहरीले मंगलबार ४ करोड २५ लाख ५० हजार रुपैयाँसहित ९८३७.९६ ग्राम सुन र ३२१८.४९२ ग्राम चाँदी बरामद गरेको हो ।
पैसासँगै सुनका ढिक्का, बाला, औंठीलगायतको गरगहना बरामद भएको एसपी अपिलराज बोहराले जानकारी दिए । उनको कोठामा भेटेको पैसा प्रहरीले मेसिनबाट गनेको थियो ।
बोहराका अनुसार सुन धितो राख्ने र मिटरब्याजमा पैसा लगाउने काम श्रेष्ठले गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘सुन पसलदेखि व्यक्तिहरुलाई पनि सुन धितो राखेर पैसाको कारोबार गर्ने गरेको देखियो,’ उनले भने, ‘ उनलाई पक्राउ गरेर हामी थप अनुसन्धानमा छौं ।’
यद्यपि श्रेष्ठलाई चिन्नेहरुले भने उनी पहिलेदेखि नै व्यापारी पृष्ठभूमिको मान्छे भएको बताएका छन् । गोरखा नगरपालिका-६ का श्रेष्ठको परिवारिक पृष्ठभूमि नै व्यावसायिक हो । उनीहरुको गोरखा बजारमा कपडा व्यवसाय थियो । गोरखामा कपडा व्यवसायदेखि पैत्तृक सम्पत्तिले सम्पन्न श्रेष्ठले पहिलेदेखि नै गोरखाका सुन पसलहरुलाई पैसा लिएर सुन दिनेदेखि सुन धरौटीमा लिएर पैसा लगानी गर्ने गरेका थिए ।
गोरखाको घर र जमिनहरु बेचेर उनले काठमाडौंमा पनि सुन राखेर पैसा लगानी गर्नेदेखि पैसा ब्याजमा लगाउने काम गर्दै आएको उनलाई चिन्नेहरु बताउँछन् । उनका तीन छोरा छन्, उनीहरु पनि व्यवसायमा छन् ।
एसपी बोहराका अनुसार उनलाई स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको विषयमा अनुसन्धान गरेर मुद्दा चलाइने छ ।
