दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ भदौ अन्तिममा खोलिँदै

यसपालि दसैं छिटो भएकाले त्यही अनुसार बुकिङ खुला गर्नेगरी सरोकारवाला निकायबीच छलफल थालिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

भाद्र १७, २०८२

विमल खतिवडा

Advance ticket booking for Dasain will be opened at the end of August

What you should know

काठमाडौँ — दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ भदौ अन्तिममा खुला गरिने भएको छ । यो पटक दसैं छिटो भएकाले त्यही अनुसार बुकिङ खुला गर्नेगरी सरोकारवाला निकायबीच छलफल थालिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका निर्देशक नरहरि तिवारीले घटस्थापना सुरु हुनु सात दिनअघि अग्रिम बुकिङ खोल्नेगरी तयारी गरिरहेको बताए ।

‘सोमबार विभागमा ट्राफिक प्रहरी, यातायात व्यवसायी लगायत सरोकारवाला निकायहरुको उपस्थितिमा अग्रिम टिकट बुकिङ खुल्ला गर्नेबारे छलफल भएको थियो,’ उनले भने, ‘छलफल अनुसार घटस्थापनाको एक हप्ता अघिबाट खुलाउनेगरी तयारी भएको छ ।’ अग्रिम टिकट बुकिङ खोल्ने सम्बन्धमा सरोकारवाला निकायविच फेरि छलफल गरेर मात्र निर्णय गरिने उनको भनाइ छ । ‘सडकको अवस्था के छ, गाडीको संख्या के कति छ ? ,’ उनले भने, ‘अनलाइन बुकिङलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे प्रारम्भिक छलफल भएको छ ।’ विभागको बढी अनलाइन टिकटमै रहेको उनको भनाइ छ । 

अनलाइन टिकटमा हुने मनपरीलाई कसरी रोक्ने र यसलाई यात्रुमैत्री कसरी बनाउने भन्नेबारे अर्को चरणमा छलफल गरेर निर्णय गरिने उनको भनाइ थियो । त्यसो भए चाडबाडका बेला गाडी भाडा त वृद्धि हुँदैन नि ? भन्न्ने प्रश्नमा उनले भने– ‘अहिलेसम्म त्यस्तो कुनै तयारी छैन ।’    

सबै निकायले दसैंमा आ–आफूले गर्नुपर्ने जिम्मेवारी पूरा गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए । ‘चाडबाडमा महासंघको कुरा प्रस्ट छ,’ उनले भने, ‘जसले जे–जे गर्ने हो, त्यसको जिम्मेवारी लिन पर्छ र त्यही अनुसार पूरा गर्न पर्छ ।’ सडक विभागले सडक सहज बनाउने, यातायात व्यवस्था विभाग र व्यवसायीले के के गर्ने हो त्यो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ । 

‘चाडबाड आएपछि गाडी भाडाका कुरा उठ्ने गरेको छ, यसमा जे निर्णय गर्छ, त्यो विभागले नै गर्छ,’ उनले भने, ‘तर हामी चाडबाडमा यात्रुलाई घरसम्म पुर्‍याउन तयार छौं, त्यसका लागि सडक सहज हुनु पर्छ ।’ चाडबाडका बेला टिकटमा हुने कालोबजारी नियन्त्रण गर्न सरकारी संयन्त्र सक्रिय हुनुपर्ने उनले बताए । 

‘सर्वपक्षीय छलफल गरेर व्यवहारिक रुपमा एक हप्ता अघि टिकट बुकिङ खुल्ला गर्नु पर्छ, यो पटक पनि त्यही होला,’ उनले भने, ‘यात्रु सहायता कक्ष पनि त्यही अनुसार ठाउँ–ठाउँमा राखेर यात्रुलाई सहजीकरण गर्ने काम गर्नु पर्छ ।’ उनले यात्रुलाई चाडबाडमा ठगिन दिन नहुने र यात्रुहरु पनि आफू सचेत मात्र टिकट काट्नुपर्ने उनको सुझाव छ । 

त्यस्तै, सवारी साधनका लागि रुट परमिट पनि त्यही अनुसार खुल्ला गर्नुपर्ने यातायात व्यवसायीले बताएका छन् । गत वर्ष घटस्थापनाको दुईदिनपछि १९ गतेबाट अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । तर रुट परमिट भने घटस्थापनाबाट पूर्णिमासम्मका लागि खुला गरिएको थियो । रुट परमिट खुला भएपछि उत्यका वा मुलुकका कुनै पनि ठाउँमा गुड्ने सवारी साधनले यात्रुबोकेर जुनसुकै जिल्ला वा ठाउँ पुग्न पाउने छन् । दसैंका बेला करिब २० लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिने गर्छन् । 

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully