अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै

स्थानीय स्वयंसेवकहरुको सहयोगमा सुदूरपश्चिम प्रदेशभर गिद्ध गणना कार्य पनि हुनेछ ।

भाद्र १६, २०८२

रासस

Celebrating International Vulture Awareness Day

What you should know

कञ्चनपुर — कञ्चनपुरसहित देशभर आजदेखि सप्ताहव्यापी १७औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । 

नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन) को अगुवाइमा विभिन्न संरक्षण साझेदार सङ्घसंस्थाको सहकार्यमा भदौ १६ गतेदेखि २२ गतेसम्म (सेप्टेम्बर १ देखि ७ तारिख) यस दिवसलाई सप्ताहव्यापी रूपमा मनाइँदै छ ।

यस अवसरमा लोपोन्मुख गिद्ध संरक्षणका लागि जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने गरिने छन् । बीसीएनका चरा विज्ञ हिरुलाल डगौराका अनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी सामुदायिक वन समन्वय समिति, धनगढीको वन विज्ञान अध्ययन संस्थान, कञ्चनपुर पन्छी संरक्षण सङ्घ बेलौरी र शुक्लाफाँटा नेचरगाइड एसोसिएसनको सहकार्यमा विभिन्न संरक्षण शिक्षासम्बन्धी कार्यक्रम आयोजना गर्न लागिएको छ ।

यस्तै, ६ सेप्टेम्बरसम्म स्थानीय स्वयंसेवकहरुको सहयोगमा सुदूरपश्चिम प्रदेशभर गिद्ध गणना कार्य सञ्चालन हुने उनले जानकारी दिए । सुदूरपश्चिममा हाल नौ प्रजातिका गिद्ध पाइन्छन् भने कञ्चनपुरमा आठ प्रजाति गिद्ध रहेका उनले बताए ।

गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ । मरेका तथा सडेगलेका जनावरको सिनो खाने गिद्धले वातावरण सफा राख्नुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, एन्थ्राक्स, क्षयरोगजस्ता महामारी फैलन नदिन महत्वपूर्ण भूमिका खेल्ने भएकाले कुचीकार भनिएको चरा विज्ञ चौधरी बताउँछन् । उनका अनुसार गिद्ध आफैं सिकार नगरी केवल सिनोमा निर्भर रहने भएकाले वातावरणलाई प्रदूषित हुनबाट जोगाउँछन् ।

तर पछिल्लो समय गिद्ध लोपोन्मुख अवस्थामा पुगेका छन् । दर्दनिवारक औषधि ‘डाइक्लोफेनेक’ प्रयोग गिद्ध विनाशको प्रमुख कारण भएको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ । किसानले जनावर बचाउन सिनोमा विषादी प्रयोग गर्ने, ठूला रुख फँडानी, विद्युत् तारमा ठोक्किने, तथा आधुनिक कृषि उपकरणको प्रयोगका कारण पशुपालनमा कमी आउनुले गिद्धको आहारा घटेको छ । साथै, प्राकृतिक प्रकोप, डढेलो, पहिरो, आँधीबेहरी आदिले गिद्धको बाँसस्थान नष्ट भइरहेको तथ्याङ्कले देखाएको छ ।

यसैगरी एसिक्लोफेनेक, किटोप्रोफेन, निमुस्लाइड, कारप्रोफेन र फ्लुनिक्सिन जस्ता औषधि गिद्धको मृत्युका कारण बनेका छन् । नेपालमा पाइने गिद्धमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध आइयुसिएनद्वारा ‘अति सङ्कटापन्न’ श्रेणीमा राखिएका छन् भने गोब्रे गिद्ध ‘दुर्लभ’ अवस्थामा छ । यस्तै, राज गिद्ध र खैरो गिद्ध हिउँदयाममा पाहुनाका रूपमा नेपाल आउने गर्दछन् । हिमाली गिद्ध नेपालको रैथाने भए पनि मुख्यतः जाडो महिनामा तराईमा देखिने गरिएको छ । 

गिद्ध संरक्षण दिवस पहिलोपटक अफ्रिकामा सन् २००५ देखि ‘राष्ट्रिय सचेतना दिवस’ का रूपमा मनाइँदै आएकोमा सन् २००९ देखि विश्वव्यापी रूपमा ‘अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस’ को रूपमा मनाउन थालिएको हो । दिवस मनाउनुको प्रमुख उद्देश्य गिद्धको घट्दो सङ्ख्या, संरक्षणका प्रयास, चुनौती र यसको आवश्यकताबारे आमनागरिकमा सचेतना अभिवृद्धि गर्नु रहेको बताइएको छ । 

रासस

Link copied successfully