नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका–२०७७ मा विद्यार्थीलाई १ ग्राम सुनको लेपन लगाएको पदक दिइने उल्लेख थियो । तर सुनको भाउ उकालो लागेकै बेला मन्त्रालयले गत साता निर्देशिका संशोधन गरेर पदकमा शून्य दशमलव १ ग्राम सुनको मात्रै लेपन लगाउने व्यवस्था गर्यो ।
What you should know
काठमाडौँ — सुनको भाउ उकालो लाग्दा त्यसको असर कहाँ-कहाँसम्म पर्ला ? बिहे र अन्य सांस्कृतिक कर्ममा त असर पर्ने नै भयो । अहिले भने उकालो लागिरहेको सुनको भाउको सोझो असर सर्वोत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्ने विद्यार्थीले पाउन पदकसम्म पुग्ने भएको छ ।
केही महिनायता निरन्तर उकालो लागिरहेको सुनको भाउ आइतबार अहिलेसम्मकै उच्च बिन्दु तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ कायम भयो । सुनको भाउ उकोलो लागेकै कारण सरकारले सर्वोत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्ने विद्यार्थीलाई दिने पदकको परिणाम कटौती हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्याभूषण पदकमा सुनको मात्रा घटाएर विभिन्न तहमा सर्वोत्कृष्ट उपाधि ल्याउने विद्यार्थीलाई सम्मान र पुरस्कृत गर्ने भएको हो । नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका–२०७७ मा विद्यार्थीलाई १ ग्राम सुनको लेपन लगाएको पदक दिइने उल्लेख थियो । मन्त्रालयद्वारा गत साता संशोधित निर्देशिकामा शून्य दशमलव १ ग्राम सुनको मात्रै लेपन लगाउने व्यवस्था गरिएको छ । पदकमा चाँदीको परिमाण यथावत् रहे पनि तीनवटै पदकबाट सुनको मात्रा भने कटौती गरिएको हो ।
१ ग्राम सुन राखेर पदक निर्माण गर्न ३० हजार खर्च हुने गरेकोमा अब शून्य दशमलव १ ग्राम सुन मात्र राख्दा एउटै पदकमा १२ देखि १५ हजार बचत हुने मन्त्रालयको अनुमान छ ।
शिक्षा मन्त्रालय उच्चशिक्षा महाशाखाका सहसचिव वैकुण्ठ अर्यालले लेपन लगाउन १ ग्राम सुन धेरै हुँदा परिमाण घटाएर निर्देशिका संशोधन गरिएको बताए । ‘१ ग्राम सुन पदकमा राख्ने निर्देशिका बने पनि पदक बनाएर वितरण भएको थिएन । लेपन लगाउन शून्य दशमलव १ ग्राम मात्र सुन भए पुग्ने भएपछि निर्देशिका परिमार्जन गरिएको हो । यसपालि सरकारी निकायसँग सम्झौता गरेर पदक निर्माण गर्दै छौं,’ उनले भने, ‘असोज २ मा वितरण गर्न नसकेपछि अनुकूल समयमा वितरण गर्नेगरी मिति घोषणा हुन्छ ।’
एक ग्राम सुन राखेर पदक निर्माण गर्न ३० हजार खर्च हुने गरेकोमा अब शून्य दशमलव एक ग्राम सुन मात्र राख्दा एउटै पदकमा १२ देखि १५ हजार बचत हुने मन्त्रालयको अनुमान छ । खर्च कटौती भएपछि अहिलेसम्म रोकिएका सबै पदक वितरण गर्ने तयारी गरिएको मन्त्रालय स्रोतले जनायो । पदक बनाउन नेपाली सेनालाई जिम्मा दिने गरी छलफल अघि बढेको एक उपसचिवले बताए । यसअघि पदक वितरणका लागि सुन खरिदलगायतका विषयमा मन्त्रालयभित्रै दुई धार देखिँदा रोकिएको उनले बताए । ‘पदकमा सुनचाँदी प्रयोग हुने र त्यसको खरिद प्रक्रियामा संलग्न हुन नचाहने कर्मचारीका कारण पनि अलमल भएको छ,’ उनले भने, ‘निर्देशिकामा तोकिएअनुसार सुन र चाँदी पदकमा राखे/नराखेको यकिन गर्न सकिँदैन । विवादमा परिन्छ भनेर पन्छिन प्रवृत्ति छ ।’
विज्ञान तथा प्रविधि इन्जिनियरिङ, कृषि, पशु विज्ञान, वन विज्ञान, चिकित्साशास्त्र विधाको स्नातकोत्तर तह वा सोभन्दा माथि अध्ययनलाई निरन्तरता दिन वा प्रयोग गर्न सकिने गरी तयार शोधपत्रका आधारमा विश्वविद्यालयका प्रत्येक संकायका २/२ विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण पदक उपलब्ध गराउने व्यवस्था छ । विश्वविद्यालय अनुदान आयोगको सिफारिसका आधारमा ३१ ग्राम शुद्ध चाँदी र शून्य दशमलव एक ग्राम सुनको लेपन लगाएको पदक प्रदान गर्ने प्रावधान छ । विद्यार्थीबाट आवेदन माग गरी, त्यसको छानबिन गरेर पदकका लागि सिफारिस गर्ने मापदण्ड छ ।
निर्देशिकाले पदकको मापदण्ड तोकेको छ । शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति र शैक्षिक क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी तथा शिक्षण संस्थालाई विभिन्न पदक, प्रमाणपत्र, सिल्ड, ध्वजा वा नगद तथा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिने उल्लेख छ । निर्देशिकाअनुसार विद्यावारिधि वा सोभन्दा माथिल्लो उपाधि हासिल गरेकाले नेपाल विद्याभूषण ‘क’ श्रेणीको पदक पाउँछन् । पदकमा शुद्ध चाँदीसहित एक ग्राम सुन रहने व्यवस्था निर्देशिकामा परिवर्तन गरी शून्य दशमलव १ ग्राम मात्रै सुन राख्ने बनाइएको छ ।
अब विद्याभूषण ‘क’ श्रेणीका लागि ४२ ग्राम शुद्ध चाँदी र शून्य दशमलव १ ग्राम सुनको लेपन लगाएको पदक बनाउनुपर्छ । ‘नेपाल विद्याभूषण पदक गोलाकारमा पचास मिलिमिटर परिधिको षटकोण आकारको हुनेछ । यसको तौल जर्तीबाहेक ४२ ग्राम शुद्ध चाँदी र त्यसमा शून्य दशमलव १ ग्राम सुनको लेपन हुनेछ । अगाडिपट्टिको माथिल्लो भागमा नेपाल विद्याभूषण लेखिएको, त्यसको तल नेपालको नक्सा र सो नक्सामुनि पदक प्रदान गरिएको साल लेखिएको हुनेछ । पछाडिको भागमा नेपाल सरकारको निसाना छाप र सोको मुनि श्रेणी लेखिएको हुनेछ,’ निर्देशिकामा भनिएको छ । स्नातकोत्तर तहमा सर्वप्रथमले ‘ख’ श्रेणीको विद्याभूषण प्राप्त गर्ने व्यवस्था छ ।
३१ ग्राम शुद्ध चाँदी र शून्य दशमलव १ ग्राम सुनको लेपनबाट पदक बनाउने निर्देशिकामा उल्लेख छ । निर्देशिकाअनुसार स्नातक तहमा सर्वोत्कृष्टले ‘ग’ श्रेणीको २२ ग्राम शुद्ध चाँदी र शून्य दशमलव एक ग्राम सुनको लेपन भएको पदक प्राप्त गर्ने व्यवस्था गरिएको छ । स्नातक तहमा सबैभन्दा बढी अंक वा ग्रेड प्राप्त गर्ने छात्राले ‘क’ श्रेणीको नेपाल छात्रा विद्यापदक पाउँछन्, जुन ३० ग्राम चाँदीसहित शून्य दशमलव एक ग्राम सुनको लेपनबाट तयार पारिन्छ। कक्षा १२ वा प्राविधिक शिक्षामा सीटीईभीटीबाट सबैभन्दा धेरै अंक वा ग्रेड प्राप्त गर्ने छात्रालाई ३० ग्राम चाँदीबाट मात्र बनेको ‘ख’ श्रेणीको पदक प्रदान गरिन्छ।
कहिले सुनचाँदी किन्न पर्याप्त बजेट नहुँदा त कहिले खरिद प्रक्रिया नमिल्दा सरकारले ६ वर्षदेखि विद्याभूषण पदक वितरण गरेको छैन
सरकारले हरेक वर्ष राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदी जडित विद्याभूषण पदकबाट विभूषित गर्दै आएको थियो । तर, कहिले सुनचाँदी किन्न पर्याप्त बजेट नहुँदा त कहिले खरिद प्रक्रिया नमिल्दा सरकारले ६ वर्षदेखि विद्याभूषण पदक वितरण गरेको छैन । २०७६ देखि २०८१ सम्मका सर्वोत्कृष्ट करिब १५ सय विद्यार्थीले पदक पाउन बाँकी छ । गत वर्ष असोज २ मा शिक्षा दिवसको अवसरमा बजेट अभाव देखाउँदै विद्यार्थीलाई पदकबिनै प्रमाणपत्र मात्रै वितरण गरिएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले २०७६ यता रोकिएको पदक वितरण यस वर्ष सम्पन्न गर्ने कार्यतालिका रहेको जनाए । ‘असोज २ मा कति सकिन्छ । सकिँदैन । थाती रहेका सबै पदक वितरण गरिसक्ने तयारी छ । यसपालि फर्छ्योट गर्ने हो । कहिले बजेट र कहिले खरिदका कारण रोकिएको थियो,’ उनले भने ।
पदक वितरण हुन नसक्दा गत वर्षसम्म सरकारले नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवं छात्रा पुरस्कार पदक पाउने विद्यार्थीको सूची मात्र सार्वजनिक गर्ने गरिएको थियो । गत वर्षसम्मका साढे १२ सय विद्यार्थी घोषणा भए पनि पदकबाट विभूषित गर्न सकिएको छैन । यस वर्ष पदक पाउने विद्यार्थीको संख्या करिब ३ सयले थप हुने अनुमान मन्त्रालयले गरेको छ ।
शिक्षा दिवस कहिले मनाउने अन्योलता हुँदा पनि पदक वितरण रोकिएको थियो । नेपालमा २०३१ सालदेखि फागुन १२ मा राष्ट्रिय शिक्षा दिवस मनाउने गरिएको थियो । गणतन्त्र स्थापनापश्चात् अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन शिक्षा दिवस पनि मनाउन थालियो । शिक्षा दिवस र साक्षरता दिवस एकै दिन मनाउनु उपयुक्त नहुने भन्दै २०७६ देखि स्थगन गरियो । २०८० जेठ ९ को मन्त्रिपरिषद् बैठकले मुलुकभर असोज २ मा शिक्षा दिवस मनाउने निर्णय गरेको छ । संवैधानिक व्यवस्थाअनुसार अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ जारी भएको दिनका अवसरमा असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
