चीनले भोटेकोशीमा राखेको ह्युमपाइप बाढीले बगायो, सीमानजिकै झर्‍यो सुख्खा पहिरो

चीनले मितेरी पुलको आफ्नो भूभागमा बेलिब्रिजका लागि फाउन्डेसन तयार गरेको छ । तर भोटेकोशी तरेर आउन नसक्दा नेपालतर्फको बेलिब्रिजको फाउन्डेसन तयार गर्न सकेको छैन ।

भाद्र १५, २०८२

ऋषिराम पौड्याल

The hump pipe placed by China in Bhotekoshi was swept away by the flood, a landslide occurred near the border.

What you should know

काठमाडौँ — रसुवागढी नाकामा बाढीपहिरो आउने क्रम नरोकिएकाले भोटेकोशीमा बेलिब्रिज निर्माणको काम अघि बढ्न सकेको छैन भने नेपालतर्फको सडकको माथिल्लो भागबाट नितान्तै पहिरो आइरहेको छ । शनिबार बिहान सुख्खा पहिरो खसेका कारण टिमुरे–रसुवागढी खण्ड सडक अवरुद्ध भएको छ ।

सीमानजिकै गएको सुख्खा पहिरोले आवतजावतमा झन् समस्या भएको छ । बिहान गढीको माथिल्लो भागबाट अचानक ढुंगामाटो खस्न थालेको थियो । स्थानीयको भागाभाग भएको थियो ।

चीनले मितेरी पुलको आफ्नो भूभागमा बेलिब्रिजका लागि फाउन्डेसन तयार गरेको छ । तर भोटेकोशी तरेर आउन नसक्दा नेपालतर्फको बेलिब्रिजको फाउन्डेसन तयार गर्न सकेको छैन । केही दिनअघि नेपाल आउन भोटेकोशीमा बनाएको अस्थायी संरचनाका दुई वटा ह्युमपाइप बाढीले बगाएको थियो । अघिल्लो दिन बनाएको संरचना रातिको वर्षाले बगाएपछि भोलिपल्ट उताका चिनियाँ यता आउन सकेनन् । वर्षा नरोकिएसम्म बेलिब्रिज राख्ने सम्भावना न्यून रहेको सीमाका नेपाली अधिकारीहरूले बताएका छन् । असारको बाढीले मितेरी पुल नै बगाएपछि नेपाल–चीनको स्थलमार्गबाट हुने आवतजावत ठप्प छ ।

सशस्त्र प्रहरी बल इलाका कार्यालय टिमुरेका प्रहरी निरीक्षक कृष्ण धितालले पानी परेपछि पहिरो जाने र भोटेकोशीमा बाढी आउने गरेको बताए । गत असार २४ को बाढीपछि लगातार बाढीपहिरो आइरहेको छ । वर्षाले पहिरो जाने क्रम रोकिएको छैन भने भोटेकोशीमा बाढी आइरहेको छ । बाढीले मितेरी पुल बगाएपछि सरकारले चीनलाई बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालनको वातावरण बनाइदिन अनुरोध गरेको थियो । चीनले मितेरी पुलको आफ्नो भूभागमा बेलिब्रिजको फाउण्डेशन तयार गरेर नेपालतर्फ आउन खोजेको हो । तर लगातारको बाढीले फाउन्डेसन बनाउन मेशिनरी सामान ल्याउन र मानिसको आवतजावत गर्न अवरोध सिर्जना भएको सीमाका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।

रसुवा भन्सार अधिकृत खड्ग माझीले टिमुरेबाट सीमा क्षेत्र आउजाउ गर्न नसक्ने अवस्था रहेको बताए । उनले टिमुरेबाट २ किमि भन्सारतर्फ पहिरो गएको जानकारी दिए । असारको बाढीले रसुवा भन्सार नाकाबाट हुने कारोबार ठप्प छ । रसुवा नाका बन्द भएपछि चीनबाट हुने व्यापार तातोपानीतर्फ मोडिएको छ । तर तातोपानी नाकाको कोदारी खण्ड सडक वर्षाले भासिएकाले नियमित रूपमा यातायात सञ्चालन हुन सकेको छैन । गत जेठदेखि यातायात सञ्चालनमा कठिन भएकोमा अहिलेसम्म पनि सहज हुन सकेको छैन ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले अघिल्लो दिन बनाएको सडक भोलिपल्ट भासिने गरेको बताए । सीमामा नेपाल आउने व्यापारिक कन्टेनरको लाइन लागेपछि सडक अवरोध हटाउन नसकिएको उल्लेख गरे । आइतबार बिहानैदेखि यातायात खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । भोटेकोशीले तलबाट कटान गर्ने र माथिल्लो भागबाट बग्ने भएकाले सडक निर्माण प्राविधिक रूपमा पनि कठिन भएको हो ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully