तल्लो तहको कर्मचारीले आदेश पालन गर्नुपर्नेमा माथिल्लो पदको कर्मचारीलाई चुनौती दिन्छन् : सचिव पन्थ

'कर्मचारी राजनीतिक दलमा रहनु हुँदैन, चेन अफ कमाण्डमा चल्नुपर्छ । त्यसो भएन भने प्रतिफल राम्रो आउँदैन । कर्मचारीहरू विभिन्न कारणले गर्दा चेन अफ कमान्ड नमान्ने भएका छन् ।' - सचिव रविलाल पन्थ

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

Lower-level employees challenge higher-ranking employees to follow orders: Secretary Panth

What you should know

काठमाडौँ — निजामती कर्मचारी राजनीतिक दलको आडमा जिम्मेवारी बहन नगर्ने भनेर आलोचना भइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले तल्लो पदमा रहेका कर्मचारीले माथिल्लो पदमा रहेका कर्मचारीको आदेश पालना अवज्ञा गर्न लागेको बताएका छन् ।

पछिल्लो समय कर्मचारीहरूले 'चेन अफ कमान्ड' नमान्ने गरेको सचिव पन्थले बताए । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको शनिबारको बैठकमा संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा सचिव पन्थले उक्त कुरा बताएका हुन् । 

विधेयकको दफा ७७ माथिको छलफलका क्रममा सचिव पन्थले भने कर्मचारी संगठनात्मक संरचनामा संलग्न हुनुपर्ने बताए । 'कर्मचारी राजनीतिक दलमा रहनु हुँदैन, चेन अफ कमान्डमा चल्नुपर्छ । त्यसो भएन भने प्रतिफल राम्रो आउँदैन,' सचिव पन्थले भने, 'कर्मचारीहरू विभिन्न कारणले गर्दा चेन अफ कमान्ड नमान्ने भएका छन् । तल्लो पदमा रहेको कर्मचारीले माथिल्लो पदमा रहेको कर्मचारीको आदेश पालना गर्नुपर्नेमा, तल्लो तहको कर्मचारीले माथिल्लो पदको कर्मचारीलाई चुनौती दिने भएका छन् ।'

कर्मचारीले राजनीतिक दलमा संलग्न हुन नहुने भन्ने व्यवस्था गरेकाले संसदीय समितिले विधेयकमा संशोधन गर्न नहुने सचिव पन्थको भनाइ थियो । 

कर्मचारीले राजनीतिमा संलग्न नहुने भन्ने बारेमा सरकारले विधेयकको दफा ७७ मा प्रस्ताव गरेको छ, 'निजामती कर्मचारीले राजनीतिक दल, राजनीतिक दलको भातृ संगठन, राजनीतिक दलको जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध पेसागत संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा कुनै पनि राजनीतिक गतिविधिमा भाग लिनु हुँदैन ।' सचिव पन्थले सरकारले पारित गरेका नीति तथा कार्यक्रममा निजामती कर्मचारी प्रतिबद्ध भएर काम गर्नुपर्ने बताए । 

सांसद कृष्णप्रसाद सिटौलाले कर्मचारीलाई राजनीतिक दलका क्रियाकलापमा बन्द लगाउनुपर्ने बताए । सांसद बेदुराम भुसालले कर्मचारी तटस्थ हुनुपर्ने बताए । 'निजामती कर्मचारीले कुनै राजनीतिक दलको सदस्यता लिन र दलका क्रियाकलापमा संलग्न भई दलीय राजनीतिमा संलग्न हुन नपाउने, दलको र संगठनको सदस्यता लिन नपाउने व्यवस्था राख्नुपर्छ,' भुसालले भने । सांसद सुरेश आलेमगरले कर्मचारी राजनीतिक दलमा आबद्ध हुन नपाउने कानुन बनाउनुपर्ने बताए । सांसद झक्कुप्रसाद सुवेदीले भने, 'राजनीतिक क्रियाकलापमा संलग्न हुन र कुनै राजनीतिक गतिविधिमा दलसँग आबद्ध हुन नपाउने व्यवस्था राख्नुपर्छ ।'

यो दफामा कस्तो व्यवस्था राख्ने भन्ने विषयमा सहमति जुटेको छैन । समितिमा भएको छलफलका आधारमा यस दफाको व्यवस्था लेख्ने समिति सभापति तुलसा दाहालले जनाएकी छन् । 

कान्तिपुर

Link copied successfully