प्रधानमन्त्रीको भ्रमणमा चिनियाँ पक्षसँग भेटवार्ताबारे गृहकार्य भइरहेको छ : राजदूत ओली

राजदूत ओलीका अनुसार बेइजिङमा भदौ १७ गते प्रधानमन्त्री ओली र राष्ट्रपति चिनिफिङबीच भेटवार्ता गर्ने तय भएको छ ।

भाद्र १२, २०८२

गंगा बीसी

Homework is being done regarding the meeting with the Chinese side during the Prime Minister's visit: Ambassador Oli

What you should know

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनिफिङसँग हुने भेटवार्तालाई नेपाली पक्षले निकै महत्त्वका साथ हेरेको छ । बेइजिङस्थित नेपाली राजदूतावासले चिनियाँ पक्षसँग भेटवार्ताबारे गृहकार्य गरिरहेको नेपाली राजदूत कृष्णप्रसाद ओलीले बताए ।

शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा शनिबार चीन भ्रमणका क्रममा बेइजिङमा उनले भदौ १७ गते राष्ट्रपति चिनिफिङसँग भेटवार्ता गर्ने तय भएको छ ।

‘हाम्रो प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँगको भेटवार्ताको गृहकार्यमा लागेका छौँ,’ उनले बेइजिङबाट टेलिफोनमा इकान्तिपुरसँग भने, ‘भ्रमणको यो निकै महत्त्वपूर्ण भेटवार्ता हो ।’

दुई नेताबीच हुने भेटवार्तामा छलफल गर्ने एजेन्डाबारे नेपालको परराष्ट्र मन्त्रालय, चीनस्थित नेपाली राजदूतावास, र चीनको विदेश मन्त्रालयबीच समन्वय भइसकेको छ । प्रधानमन्त्रीको यो भ्रमणमा हुने भेटवार्तामा चीन र भारतबीच सम्बन्ध बलियो बनाउने दिशामा सकारात्मक भूमिका खेल्ने बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भारत र चीनबीच दुई साता अघि भदौ ४ मा सहमति गरे पनि नेपालले त्यसको विरोध गरेको छ । ओलीले सीसँग हुने भेटवार्तामा गत मंसिरमा चीन भ्रमणमा गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कमा रहेका आयोजनाहरू अघि बढाउनेबारे, चीनले नेपाललाई अनुदानमा दिन सक्ने मेगा प्रोजेक्टबारे कुराकानी गर्ने स्रोतको भनाइ छ । ‘बीआरआई फ्रेमवर्कमा रहेका आयोजनाहरूको अवस्था के कस्तो छ ?’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘नेपालले ती आयोजनाहरू अघि बढाउन आग्रह गरिन्छ ।’

बीआरआई फ्रेमवर्कमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं वैज्ञानिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स गरी दस परियोजना छन् । सहमति भए पनि यी परियोजनाले गति लिन सकेको छैन । नेपाल र चीनबीच बीआरआईमा सन् २०१७ मा हस्ताक्षर गरेको थियो ।

भ्रमणमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि साइडलाइन वार्ता हुनेछ । ‘प्रधानमन्त्रीको चीन भ्रमणमा उच्चस्तरीय साइडलाइन भेटवार्ता हुनेछन्,’ ओलीले भने । एससीओको सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । ‘भ्रमणको मुख्य फोकस एससीओमा नै हो,’ उनले भने, ‘अरू कूटनीतिक र राजनीतिक भेटवार्ता सँगसँगै हुनेछन् ।’

एससीओ बैठक १५–१६ भदौमा चीनको तियानजिन सहरमा हुँदै छ । नेपाल ‘डायलग पार्टनर’का रूपमा एससीओमा सहभागी हुन लागेको हो । मोदीसँगको भेटवार्ताबारे परराष्ट्र मन्त्रालयले गृहकार्य गरेको छ । यो भ्रमणमा भारत–चीनले लिपुपास हुँदै अघि बढाउने व्यापार सम्झौताले नेपालको राष्ट्रिय अखण्डतामा आँच पुर्‍याएको सन्दर्भ उठाउने तयारी छ ।

गंगा बीसी

Link copied successfully