'महाधिवेशनमा उहाँले जित्ने स्थिति छ, हुन्छ जित्ने स्थिति ? अनि उहाँ आएर चुनाव हार्ने र भीम रावलको तरिकाले चुनाव हार्ने असन्तुष्ट हुने अनि खाँबो चिथोर्ने ।'-ओली
What you should know
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने बताएका छन् । काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि पार्टीमा नल्याइने बताएका हुन् ।
त्यस्तै ओलीले आगामी महाधिवेशनमा भण्डारीले जित्ने आधार नरहेको बताए । भण्डारीले जिते राम्रो भए पनि त्यस्तो आधार नभएको बताएका छन् । चुनाव हारे भण्डारीको अवस्था पनि भीम रावलको जस्तो हुन सक्ने पनि ओलीको भनाइ छ ।
'उहाँ आएर महाधिवेशनमा ल जित्नुभयो भने त बहुत राम्रो । तर जित्ने स्थिति छ, हुन्छ जित्ने स्थिति ? अनि उहाँ आएर चुनाव हार्ने र भीम रावलको तरिकाले चुनाव हार्ने असन्तुष्ट हुने अनि खाँबो चिथोर्ने बस्ने अलिक समय । पार्टीले स्पष्टीकरण सोध्नुपर्छ । एउटा राष्ट्रपति भइसकेको सम्मानित व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुर्याउने ?,' उनले भने ।
सदस्यता नभएकाले अहिले भण्डारीलाई स्पष्टीकरण नसोधिने पनि ओलीले बताए । 'अहिले उहाँको सदस्यता छैन, हामी स्पष्टीकरण सोध्दैनौँ । बरु यही ठीक छ नि । उहाँलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने बिन्दुमा पार्टी पुग्यो भने कति नराम्रो सुनिन्छि, कति नराम्रो देखिन्छ । हारेर कुनै पनि पोजिसनमा नहुँदा केन्द्रीय कमिटीमा हार्नुभयो भने के हुन्छ ? उहाँ केन्द्रीय कमिटीको सदस्य भएर बस्नुभयो भने के हुन्छ ?,' उनले भने ।
अध्यक्ष ओलीले भण्डारी महाधिवेशनमा प्रतिस्पर्धा गरे पनि नराम्ररी हार्ने बताए । 'उहाँलाई अध्यक्ष दिन सकिँदैन । उहाँ चुनाव लड्नुभयो भने हार्नुहुन्छ । नराम्ररी हार्नुहुन्छ । उहाँ हार्नुपर्छ पार्टीको आफ्नो हितको लागि छ । लालगेडी भएर त चल्दैन नि । यो त संघर्षको मैदान हो नि । सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर चल्छ, आन्दोलन ?,' उनले भने ।
