शर्मा, भुसाल र चन्दको सहकार्य : कति सम्भव छ वाम ध्रुवीकरण ?

पहिलो पुस्ताका नेता एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपालबाट वामपन्थी आन्दोलनमा नयाँ ध्रुवीकरण कठिन भएको उनीहरूको दाबी छ।

भाद्र १२, २०८२

गंगा बीसी

Collaboration of Sharma, Bhusal and Chand: How possible is left polarization?

What you should know

काठमाडौँ — नेपाली वामपन्थी ध्रुवीकरण गर्न ‘नयाँ प्रयोग’ गर्ने भन्दै तीन कम्युनिस्ट पार्टीका तीन वरिष्ठ नेताले सहकार्य थालेका छन्। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादी महासचिव घनश्याम भुसाल र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) साझा मञ्चमार्फत् सहकार्य सुरु भएको हो।

 नेपाल वाम आन्दोलनको भविष्यप्रति प्रश्न उठ्न थालेको भन्दै तीन नेता आ-आफ्नो पार्टीको सीमारेखाभित्र रहेरै बहसको थालनी गरेका हुन्। माओवादी धारका साझा संगठन ‘सहिद बेपत्ता स्मृति प्रतिष्ठान’ ले आयोजना गरेको कार्यक्रममा उनीहरूले ‘वर्तमान राजनीतिक संकट र निकास’ मा अन्तर्क्रिया गर्ने कार्यक्रम छ । यो सशस्त्र युद्धमा मृत्यु भएका र बेपत्ताको स्मृतिमा गठन भएको माओवादीहरूको साझा संस्था हो । 

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका मूल नेतृत्व परम्परागत विचार, कार्यशैली र संरचनामा चलेको भन्दै तीन नेताले नयाँ प्रयोग गर्ने भन्दै बहस सुरु गरेका हुन् । पहिलो पुस्ताका नेता एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबाट वामपन्थी आन्दोलनमा नयाँ ध्रुवीकरण कठिन भएको दाबी उनीहरूको छ।

तीन नेताबीच पटक पटक भएको अनौपचारिक छलफलमा वाम आन्दोलनको साझा मञ्च बनाउने समझदारी भएको छ । त्यही समझदारी अनुसार साउन ६ मा पुष्पलाल स्मृति दिवसदेखि एउटै मञ्चबाट बहस थालेका छन् । नेपालका कम्युनिस्ट पार्टीहरूले पटक पटक राज्य सञ्चालन गरे पनि राजनीतिक, विचार र सिद्धान्त अनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै शर्मा, भुसाल र चन्दले नयाँ विचारसहित सहकार्य थालेका छन् ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी मूल नेतृत्व राज्य संचालनमा परीक्षण भइसकेकाले वाम आन्दोलनमा नयाँ प्रयोग हुन नसके आम मानिसमा झन् निराशा बढ्ने उनीहरूको ठम्याइ छ । तीन नेताको यो सहकार्य तत्काल पार्टी एकता गर्ने तहसम्मको नभए पनि एउटै मञ्चबाट वाम आन्दोलनको समीक्षा गर्ने रहेको छ ।

समाजको आधार तयार गर्न ‘जडसूत्रवादी र दक्षिणपन्थी’ विचारबाट सम्भव नभएकाले अबको वाम आन्दोलन आधारभूत वर्ग केन्द्रित मुद्दामा केन्द्रित गर्ने तयारी उनीहरूको छ । एमाले, माओवादी र एकीकृत समाजवादीको अध्यक्षको नेतृत्वको सरकारले गरेको कामको समीक्षा गर्दा आधारभूतभन्दा माथिल्लो वर्गलाई सेवा गरेको, राजनीतिक भ्रष्टीकरण भएको, आम मानिसमा निराशा फैलिएकाले वाम आन्दोलनको नयाँ प्रयोगको थालनी गरेको बताएका छन् ।

समाजवादीका महासचिव घनश्याम भुसालले वाम आन्दोलन छिन्नभिन्न भएको सन्दर्भमा साझा जमिनको खोजी गर्न बहस सुरु गरेको बताए । वाम आन्दोलन के का लागि ? भन्ने प्रश्न खरोरूपमा उठिरहेको बेला खुला मञ्चबाट बहस सुरु गरेको उनको भनाइ छ । 

‘वाम आन्दोलन चिराचिरा परेको अवस्था छ । कम्युनिस्ट पार्टीले बेलाबेला सरकारको नेतृत्व गरेका छन् तर आशाभन्दा निराशा बढ्दो छ’ उनले भने, ‘अब यसरी हुँदैन । वामपन्थी आन्दोलनमा नयाँ प्रयोगका लागि साझा मञ्च तयार गर्ने प्रयास हो ।’ माओवादी उपमहासचिव शर्माले तीन नेताको जमघट आफू सम्बन्धित पार्टीविरुद्ध नभएको र विशुद्ध वामपन्थी आन्दोलनलाई गति दिन भएको बताए । 

‘यसरी बहस गर्दा आफ्नो पार्टीविरुद्ध जान खोजेको अर्थ लगाउनु हुँदैन’ उनले भने, ‘यो विशुद्ध नेपाली कम्युनिस्ट आन्दोलनलाई गति दिन भएको बहस मात्र हो ।’ नेपालको वाम आन्दोलनलाई सही गति दिन नसके अर्को शक्ति आउने भन्दै बहसको थालनी गरेको बताए । ‘हामी नलायक भए यो आन्दोलनमा अरुनै आउनेछन्’ उनको भनाइ छ, ‘वाम आन्दोलन कहाँ छ ? यसको बाटो के हो ? खुला बहस गर्नुपर्छ भन्ने हो ।’ 

नेकपा नेता असल क्षेत्रीले तीन नेताबीच भएको बहस, विमर्शले वाम ध्रुवीकरणलाई मद्दत पुग्ने बताए । ‘कम्युनिस्ट आन्दोलनलाई दीर्घकालीन रूपमा अघि बढाउन बहस, विमर्श सुरु भएको हो,’ उनले भने ।पछिल्लो समय माओवादी उपमहासचिव शर्माले अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । पुसको अन्तिम साता भएको केन्द्रीय समिति बैठक देखिनै उनले दाहालको कार्यशैलीप्रति प्रश्न उठाउँदै नेतृत्व हस्तान्तरणको माग गर्दै आएका छन् । 

साउन ६ मा ‘स्कुल अफ मार्क्सिजम’ ले आयोजना गरेको पुष्पलाल स्मृति दिवसमा ‘वर्तमान राजनीतिक र कम्युनिस्ट आन्दोलन’ शीर्षकमा तीन नेताले कम्युनिस्ट पार्टीका मूल नेतृत्वबाट वाम आन्दोलन सफल हुन नसक्ने निष्कर्ष निकालेका थिए । 

कार्यक्रममा शर्माले हाल नेतृत्वले कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने बताएका थिए । ‘वामपन्थीबीच एकता र ध्रुवीकरण अहिलेको आवश्यकता हो’ उनले भने, ‘एकता र ध्रुवीकरणको अब सुरु हुन्छ ।’ पुराना नेतृत्वबाट कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने भुसालको भनाइ थियो । ‘हाल एकता त सम्भव नहोला तर ध्रुवीकरण सुरु हुन्छ’ उनको भनाइ थियो ।

नेकपा महासचिव समेत रहेका चन्दले पनि त्यही कार्यक्रममा पहिलो पुस्ता नेताको योगदानको सम्मान गरी कम्युनिस्ट ध्रुवीकरण आवश्यक भएको बताएका थिए । अन्तर्क्रियामा शर्माले कम्युनिस्ट पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको, एमाले तत्कालीन अध्यक्ष मनमोहन अधिकारीबाहेक अरु नेतृत्व आर्थिक रूपमा पारदर्शी नभएको आरोप लगाएका थिए । साउन तेस्रो साता (२१) को स्थायी समितिले उनलाई सार्वजनिक रूपमा अभिव्यक्ति नदिन सचेत गराएको थियो ।

त्यही स्थायी समितिले चन्दले नेतृत्व गरेको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरे पनि अघि बढेको छैन । १० वर्षे सशस्त्र युद्धमा सहयोद्धा चन्द र माओवादी उपमहासचिव शर्माबीच पछिल्लो समय हिमचिम मात्र बढेको छैन, सहकार्यका लागि गोरेटो कार्ने बाटोमा लागेका छन् । त्यही अभियानमा एकीकृत समाजवादीका महासचिव भुसाल पनि जोडिएका छन् । युवाको नेतृत्वमा कम्युनिस्ट आन्दोलन अघि बढाउने यो बहस सुरु गरेको उनीहरूको भनाइ छ । 

तीन नेताले खुला मञ्चमार्फत् बहस अभियान देशव्यापी बनाउने तयारी गरेका छन् । बिहीबार बुटवलको एक होटेलमा हुने कार्यक्रमको व्यवस्थापनको जिम्मा नेकपाले लिएको छ । अन्तर्क्रियामा सहभागी हुन वामपन्थी बुद्धिजीवी र समर्थकलाई निमन्त्रण गरिएको छ ।

गंगा

Link copied successfully