कूल संक्रमितमध्ये ३९ डिस्चार्ज भइसकेका छन् । ७६ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।
What you should know
पर्सा — वीरगन्ज महानगर क्षेत्रमा हैजा संक्रमितको संख्या १ सय १५ पुगेको छ । मंगलबार साँझ ६ बजेको सार्वजनिक गरिएको तथ्यांकमा महानगरमा संक्रमितको संख्या १ सय १४ थियो भने बुधबार बिहान ११ बजेको तथ्यांकमा १ संक्रमित थपिएर कूल संक्रमित संख्या १ सय १५ पुगेको हो ।
कूल संक्रमितमध्ये ३९ डिस्चार्ज भइसकेका छन् । ७६ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।
हालसम्म वीरगन्ज महानगरमा झाडापखाला र हैजाका ४ सय ९३ बिरामी अस्पतालमा भर्ना भएकोमा २ सय २७ डिस्चार्ज भएका छन् भने संक्रमितसहित २ सय ६६ उपचाररत छन्। जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, हालसम्म भएको हैजाको पुष्टि आरडीटी परीक्षणबाट पुष्टि भएको हो । संक्रमित पुष्टि भएकाहरू वीरगन्ज महानगरपालिका वडा नं. ३, ११, १२, १३ र १६ का हुन् ।
नारायणी अस्पतालमा ४३ र तराई अस्पतालमा ३८ जना हैजा संक्रमित पुष्टि भएका छन् । नेसनल मेडिकल कलेजमा १५, भवानी, वीरगन्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा ३/३ जना संक्रमित पुष्टि भएका छन् । अली अर्थो र एडभान्स मेडिकेयर अस्पतालमा २/२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । नारायणी सेन्टर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी बयोधा, सर्वोत्तम र गण्डक अस्पतालमा पनि १/१ जना संक्रमित पुष्टि भएका छन् ।
पोखरिया अस्पतालमा पनि ३ संक्रमित उपचाररत
यता मंगलबार पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालमा भर्ना भई उपचाररत ४ जना हैजा संक्रमितमध्ये ३ जना अझै सोही अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जना रिफर भई मंगलबार साँझ वीरगन्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना भएको र त्यहाँ बिरामीको संख्या नथपिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए।
प्रादेशिक प्रयोगशालाबाट हैजा पुष्टि
प्रादेशिक प्रयोगशाला जनकपुरमा १५ जना हैजा संक्रमितमध्ये १२ जनाको कल्चर परीक्षण गर्दा हैजा फैलाउने भिब्रियो कोलेरा नामक जीवाणु नै पहिचान भएको नारायणी अस्पताल वीरगन्जका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए । सावधानी अपनाएर पिउने पानी उमालेर पिउने र खाना खानुअघि तथा शौचालय प्रयोगपछि साबुनपानीले राम्ररी हात धुनुको विकल्प नरहेको बताए ।
