न्यायपालिकाको हस्तक्षेपकारी सक्रियता देखाए सरकार र संसद्ले काम गर्न सक्दैनन् : सचिव भट्टराई

‘कतिपयले स्टेट फेल भयो भन्छन्, यो बेतुकको कुरा हो'

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

Judiciary's interventionist activity means the government and parliament cannot work: Secretary Bhattarai

What you should know

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकाको अधिकारमाथि हस्तक्षेप गर्दा प्रभावकारी रूपमा काम हुन नसकेको आरोप लगाएका छन् । 

बुधबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको १० वर्षको समीक्षा : उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा एमाले सचिव भट्टराईले उक्त आरोप लगाएका हुन् । सरकार, अदालत र संसद् एकअर्काको क्षेत्रमा हस्तक्षेप गरिरहेको भएपनि अदालतले भने सरकार र संसद्को काममा हस्तक्षेप गर्दा काम हुन नपाएको उनले बताए । 'न्यायपालिका, कार्यपालिका र कार्यपालिका यो १० वर्षमा एकअर्काको अधिकारभित्र घुसेको जस्तो लाग्छ । न्यायपालिकाले यसमा अझ सक्रियता देखाएको जस्तो लाग्छ, न्यायपालिकाले एक्टिभिज्म देखाइदियो भने स्टेटका अरु संयन्त्रहरूलाई काम गर्न समस्या हुन्छ,’ उनले भने । 

नेपालको संघीय राज्य प्रणाली सफलतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै भट्टराईले अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । संविधान घोषणापछि भएका दुई पटकका निर्वाचनलाई निर्वाचन आयोगले सफलतापूर्वक सम्पन्न गरेको स्मरण उनले राज्य संयन्त्र निरन्तर गतिशील रहेको बताए । ‘कतिपयले स्टेट फेल भयो भन्छन्, यो बेतुकको कुरा हो । हाम्रो स्टेट फेल छैन । हाम्रो स्टेटले अझै धेरै धेरै काम गर्नुपर्ने होला । निर्वाचन आयोगले संविधान घोषणापछि पनि दुई वटा निर्वाचन एकदमै सफलताका साथ सम्पन्न गरेको छ,' भट्टराईले भने, 'यदि हाम्रो प्रदेशले काम गरिराखेको छैन भने यो काम कसरी भइराखेको छ । हाम्रो कर्मचारीतन्त्र, हाम्रो सुरक्षा निकाय, हाम्रा आदालत, हाम्रो स्टेटका मेकानिजम राम्रोसित काम गरिरहेका छन् । हाम्रो आवश्यकता के हो भने अझै त्योभन्दा राम्रो होस् ।'

कर्मचारीतन्त्र, सुरक्षा निकाय, अदालत र राज्यका अन्य संयन्त्र प्रभावकारी रूपमा काम गरिरहेको भएपनि केही सुधारको आवश्यकता रहेको भट्टराईको भनाइ थियो । 'हाम्रो संविधानको कार्यान्वयन पनि ठिक ढंगले नै भएको छ । राजनीतिक गतिविधिहरु स्थायित्व तिर पनि गएका छन्,' उनले भने ।  

कान्तिपुर

Link copied successfully