अंग्रेजी लिपिमा इम्बोस्ड नम्बर प्लेट हुँदा नेपाली भाषाको संरक्षणमा चुनौती थपिएको भाषाविद्हरूको आरोप।
What you should know
काठमाडौँ — सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट देवनागिरी लिपिमा हुनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । बुधबार जाग नेपाली समूहले बानेश्वरमा नेपाली भाषा र लिपि मेट्न नपाइने भन्दै प्रदर्शन गरेको हो । उनीहरूले देवनागिरी लिपिको रक्षा गर्नुपर्ने बताएका छन् ।
भाषाविद्हरूले पनि देवनागरी लिपिमा लेख्नुको साटो अंग्रेजीलाई प्रश्रय दिने काम गरिएको आरोप लगाएका छन् । उनीहरूको प्रश्न छ, ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?’ देवनागरी लिपिमा नलेखेर नेपाली भाषालाई समाप्त पार्न खोजिएको भाषाविद्हरूको आरोप छ ।
सर्वोच्चले गरेको थियो रिट खारेज
काठमाडौं महानगरपालिका–३ स्थित जलढुंगामार्गका भरतकुमार बस्नेतले अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट वितरण रोक लगाउन र देवनागरी लिपिमा नम्बर प्लेट लेखिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट हालेका थिए । ०७४ माघ १० मा सर्वोच्चमा दायर रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले ०७६ मंसिर २७ मा रिट खारेज गरिदिएको थियो । त्यसपछि पुनः इम्बोस्ड नम्बर प्लेट जडानका लागि बाटो खुलेको थियो ।
इम्बोस्ड नम्बर प्लेट डिजिटल प्रविधिबाट मुद्रण हुने भएकाले नेपालीमा ह्रस्व, दीर्घ, तर्कुले, बर्दने/आकार, इकार, उकार जस्ता अक्षरका कारण साइज सानो र ठूलो हुने यातायात व्यवस्था विभागले अदालतलाई पठाएको जवाफमा उल्लेख छ । नेपाल–भारत क्रस बोर्डर एग्रिमेन्टअनुसार नेपालका सवारीसाधन भारतमा समेत सञ्चालन हुने भएको हुँदा अंग्रेजीमा लेख्दा सबैले बुझ्ने विभागको दाबी थियो ।
‘अंग्रेजी अक्षरको नम्बर प्लेट हुँदा नेपालमा आउने विदेशी पर्यटकलाई बुझ्न सरल र सहज हुन्छ,’ यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सर्वोच्चलाई त्यसबेला पठाएको लिखित जवाफमा भनिएको थियो, ‘अन्य देशमा प्रचलनमा रहेका इम्बोस्ड नम्बर प्लेटमा लेखिएका अक्षरलाई समेत आधार मानेर नम्बर प्लेटको जडान थालिएको हो ।’
