दार्चुलामा नेपाल-भारत डीआईजीस्तरीय बैठक

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बलका उच्च अधिकारीहरूको बैठकमा सीमा स्तम्भ मर्मत, सुरक्षा समन्वयलाई बलियो बनाउन सहमति भएको छ।

भाद्र १०, २०८२

मनोज बडू

Nepal-India DIG level meeting in Darchula

What you should know

दार्चुला — नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको बैठक दार्चुलामा सम्पन्न भएको छ । नेपाल–भारत सीमा सुरक्षासम्बन्धी १० औं डीआईजीस्तरीय ‘काउन्टरपार्ट’ समन्वय बैठक सम्पन्न भएको हो । सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बलका अधिकारीबीच समन्वय बैठकले सीमा स्तम्भ अभिलेख र मर्मत–सम्भारमा सहकार्य गर्ने सहमति भएको जनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति प्रदीपकुमार पाल र भारत अल्मोडा सेक्टर मुख्यालयका डीआईजी सुधांशु नौटियाल, सेक्टर मुख्यालय पिलिभितका डीआईजी अनिलकुमार शर्मा लगायत नेपाल र भारतका उच्च सीमा सुरक्षा अधिकारीको उपस्थितिमा सीमा समन्वय बैठक भएको हो।

उक्त बैठकले दुवै देशका सीमा स्तम्भ अभिलेख तथा मर्मत–सम्भार गर्ने सहमति भएको छ। बैठकले दुई देशका सीमा क्षेत्रमा ध्वस्त वा हराएका सीमा स्तम्भहरूको मर्मत, संरक्षण र पुनर्निर्माणमा सहकार्य गर्ने सहमति गरिएको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गणका गणपति देवराज जोशीले जानकारी दिए। उनले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र सौहार्दपूर्ण वातावरण कायम राख्ने विषयमा सहमति गरेको जनाए।

बैठकले दुवै देशका सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी, तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखनलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल भएको हो।

बैठकमा दुवै देशका सुरक्षा निकायका अधिकारीहरूले सीमा क्षेत्रको वर्तमान सुरक्षा स्थिति, चुनौती र सम्भावित खतराहरूको समीक्षा गरिएको उनले बताए । उनले सीमा क्षेत्रमा आपराधिक क्रियाकलापबारे सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने विषयमा समेत सहमति भएको छ ।

बैठकमा भारतीय सशस्त्र सीमा बलतर्फबाट डीआईजी सेक्टर मुख्यालय अल्मोडा, सेक्टर मुख्यालय पिलिभित, कमान्डेन्ट ५७ बटालियन सितारगञ्ज, कमान्डेन्ट ५५ बटालियन पिथौरागढ, कमान्डेन्ट ३९ बटालियन पलियाकलन, कमान्डेन्ट ४९ बटालियन पिलिभित, कमान्डेन्ट ११ बटालियन दिदीहाट र डेपुटी कमान्डेन्ट ५ बटालियन चम्पावतलगायतका इन्चार्ज एवं सुरक्षा उच्च अधिकारीको सहभागिता थियो ।

त्यस्तै, नेपालतर्फबाट सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति, सशस्त्र प्रहरी बल नेपाल नं. ३४, ३५, ४४ गणका गणपति तथा ५१, ५२ र ५० नम्बर गुल्मका गुल्मपतिको सहभागिता रहेको थियो।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully