वीरगन्जमा हैजा : बढ्दै बिरामी, ९३ जनामा पुष्टि

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा झाडापखाला तथा हैजाका बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएका छन् ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

Cholera in Birgunj: Increasing cases, 93 confirmed

What you should know

काठमाडौँ — वीरगन्ज महानगर क्षेत्रमा शुक्रबारदेखि फैलिएको हैजा नियन्त्रणमा आउन सकेको छैन । यहाँका अस्पतालमा बिरामीको संख्या दिनहुँ बढिरहेको छ । सोमबार साँझसम्म महानगरका विभिन्न अस्पतालमा झाडापखाला तथा हैजाका १ सय ६६ बिरामी उपचाररत छन् । हैजा संक्रमितको संख्या मात्रै ९३ पुगेको छ । 

हैजा पुष्टि भएकाहरू वीरगन्ज महानगरपालिका–३, ११, १२, १३ र १६ वडाका छन् । सोमबार नारायणी र तराई अस्पतालमा ३२/३२ जना, नेसनल मेडिकल कलेजमा १२, भवानी, वीरगन्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा ३/३ जना हैजाका बिरामीको उपचार भइरहेको छ । यस्तै अली अर्थो अस्पतालमा २, नारायणी सेन्टर, एडवान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी बयोधा र सर्वोत्तम अस्पतालमा १/१ जना संक्रमितको उपचार भइरहेको छ ।

शुक्रबार वीरगन्ज–१२ मुर्ली टोलका ३० जना झाडापखाला लागेर तराई अस्पतालमा भर्ना भएका थिए । एकैपटक ठूलो संख्यामा पखालाका बिरामी आएपछि अस्पतालले महानगरलाई जानकारी दिएको थियो । नारायणी अस्पताल र स्वास्थ्य कार्यालयले सोही दिन गरेको परीक्षणमा तीन जनामा हैजाको जीवाणु फेला परेको थियो । त्यसपछि महानगरले स्वास्थ्यकर्मीलाई बस्तीमा खटाएर बिरामीको खोजी गरेको थियो । 

हैजा फैलनुको कारण भने अझैसम्म खुलेको छैन । पानीबाट संक्रमण फैलिएको आशंकामा खानेपानी मन्त्रालय प्रादेशिक कार्यालय जनकपुरका प्राविधिकले शनिबार वीरगन्ज–११, १२ र १३ बाट खानेपानी संस्थान वीरगन्ज शाखाले वितरण गरेको पानीको नमुना संकलन गरेको थियो । संस्थानको वीरगन्ज शाखाका सूचना अधिकारी इन्जिनियर सञ्जीव यादवले पानी परीक्षणको रिपोर्ट सोमबार साँझसम्म आइनसकेको बताए । 

सोमबार संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा झाडापखाला तथा हैजाका बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालमा आयोजित सरोकारवालासँगको छलफलमा उनले प्रयोगशाला परीक्षण पनि निःशुल्क गर्न निर्देशन दिए । अस्पतालले केही औषधि बिरामीलाई किन्न लगाएको पाइएपछि मन्त्री पौडेलले कुनै शुल्क नतिराउन निर्देशन दिएका हुन् । 

प्रकोपको समयमा औषधि अभाव हुन नदिन तीनै तहको सरकार प्रतिबद्ध रहने बताउँदै मन्त्री पौडेलले प्रभावित क्षेत्रका अस्पतालमा जनशक्ति अभाव हुन नदिन लागिपरेको जानकारी दिए । उनले निजी अस्पताललाई पनि संकटको समयमा मानवता देखाउन आग्रह गरे । ‘मन्त्रालयले निजी अस्पताललाई किट र औषधि पनि उपलब्ध गराउँछ,’ उनले भने, ‘त्यसबापत विपद्का बेला बिरामीलाई छुट दिनुपर्‍यो ।’ मन्त्री पौडेलले समयमै हैजा फैलनुको कारण पत्ता लगाउन सके थप फैलिन नपाउने बताए । 

संक्रमण नियन्त्रणमा प्रभावकारिता ल्याउन प्रभावित क्षेत्रमा औषधिजन्य सामग्री वितरणमा एकद्वार नीति अवलम्बन गर्न सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिसँगको छलफलमा वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले निजी अस्पतालहरूले परीक्षणका नाममा किट बिक्री गर्ने प्रयास गरेको देखिएको भन्दै सरकारले किट निःशुल्क उपलब्ध गराउने बताए । 

छलफलमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई नै उपचारको मुख्य केन्द्र बनाउनुपर्नेमा जोड दिए । उनले निजी स्वास्थ्य संस्थाले झाडापखालाजन्य रोगको उपचारका लागि समान मापदण्ड अपनाउनु उपयुक्त हुने बताए । 

स्वास्थ्य सेवा विभागका सरुवा रोग महाशाखाका प्रमुख डा. प्रवीण झाले हैजा पुष्टि भइसकेकाले त्यस्तै लक्षण देखिएका अन्य बिरामीको परीक्षण नदोहोर्‍याई उपचारमा ध्यान दिनुपर्ने धारणा राखे । विभागको टोली आइतबारदेखि नै वीरगन्जमा खटिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully