आमसञ्चार विधेयक विरुद्ध किन आन्दोलित बने कोशीका पत्रकार ?

नेपाल पत्रकार महासंघले विधेयकलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भन्दै विरोध जनाउँदै चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

भाद्र ९, २०८२

पर्वत पोर्तेल

Why did Koshi's journalists protest against the mass media bill?

What you should know

विराटनगर — कोशी प्रदेश सरकारको न्याय, प्रशासन तथा विधायन समितिले गत बुधबार पारित गरेको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ शुक्रबार प्रदेश सभामा पेस गरियो ।

विधेयक सदनमा पेस भएलगत्तै प्रदेशमा पत्रकारिता र प्रेस स्वतन्त्रतासम्बन्धी बहस पुनः पेचिलो बनेको छ । नेपाल पत्रकार महासंघ, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरूले यो विधेयकलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भन्दै कडा शब्दमा विरोध जनाएका छन् । पत्रकार महासंघ कोशी प्रदेश समितिले त आइतबार पत्रकारसम्बन्धी विभिन्न संगठनहरूको सर्वपक्षीय बैठकपछि चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

महासंघका महासचिव हिमाकुमारी चेम्जोङद्वारा जारी विज्ञप्तिअनुसार, भदौ ९ गते प्रदेशभरका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत विधेयक सच्याउन सरकार र प्रदेशसभालाई खबरदारी गर्नेछन् । भदौ १० गते मुख्यमन्त्री, विभागीय मन्त्री र दलका नेताहरूसँग भेटेर ध्यानाकर्षण गराउने र प्रदेशभर विरोध प्रदर्शन गर्नेछन् । भदौ ११ गते पत्रकारहरूले आफ्ना जिल्लाका प्रदेशसभा सदस्यहरूलाई सन्देश पठाएर विरोध जनाउनेछन् ।

भदौ १२ गते मुख्यमन्त्री कार्यालय अगाडि तथा जिल्ला प्रशासन कार्यालयहरूमा धर्ना दिने कार्यक्रम तय गरिएको छ । भदौ १३ गते विराटनगरस्थित देवकोटा चोकमा दिउँसो १ बजे वृहत् धर्ना आयोजना गरिनेछ । महासचिव चेम्जोङले भनेकी छन्, ‘विधेयक फिर्ता नभएसम्म विरोधका कार्यक्रमलाई अझ तीव्र पारिनेछ ।’

किन विवादित बन्यो विधेयक ?

प्रदेश सरकारले ल्याएको विधेयकमा सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने, सामग्री रोक्ने, पत्रकारमाथि जरिवाना लगाउनेजस्ता प्रावधानहरू रहेको पत्रकार महासंघको आरोप छ ।

संविधानको धारा १७ ले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ । तर, यो विधेयकले प्रदेश सरकारलाई समाचारमाथि नियन्त्रण गर्ने अधिकार दिन्छ, जुन संविधानको भावना विपरीत रहेको विज्ञहरूको भनाइ छ ।

‘सञ्चारमाध्यमलाई स्वतन्त्र रूपमा काम गर्न नदिने र पत्रकारलाई धम्क्याउने वातावरण लोकतन्त्रका लागि खतरनाक हुन्छ,’ कानुन व्यवसायी नरेश खातीले भने, ‘विधेयक संशोधन नगरे लोकतान्त्रिक मूल्यहरू कमजोर हुन जान्छन् । यसले समग्र लोकतन्त्रमाथि नै खतरा निम्त्याउन सक्छ ।’

अधिकारकर्मी शोभा बजगाईँका अनुसार, स्वतन्त्र पत्रकारिता कमजोर भए लोकतन्त्र पनि कमजोर हुन्छ । सरकारको आलोचना गर्न नदिने प्रावधानलाई उनले खतरनाक संकेत भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘यदि यो कानुन पत्रकारलाई जरिवाना गर्नकै लागि बनाइँदै छ भने, त्यो नागरिकलाई सूचना पाउने अधिकारबाट वञ्चित पार्ने गम्भीर षड्यन्त्र हो ।’

विधेयक संसद्मा दर्ता भइसके पनि मुख्य दलहरूको मौनताले पत्रकार महासंघ र नागरिक समाज चिन्तित छन् । केही दलका सांसदहरूले व्यक्तिगत रूपमा आपत्ति जनाए पनि दलगत रूपमा ठोस धारणा सार्वजनिक गर्ने आँट गरेका छैनन् ।

प्रसारण नियम उल्लंघनमा डेढ लाखसम्म जरिवाना

विधेयकले कार्यक्रम उत्पादन र प्रसारणसम्बन्धी प्रावधानमा कडाइ गरेको छ । विधेयकका दफा २९ र ३० मा नियम उल्लंघन भएमा २५ हजारदेखि डेढ लाखसम्म जरिवाना लाग्ने व्यवस्था उल्लेख छ ।

दफा २९ अनुसार, सञ्चारमाध्यमहरूले प्रदेश सरकार, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, विज्ञान, परिवार योजना, वन संरक्षण, विकास जस्ता विषयका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेछ । साथै, जातीय, भाषिक, धार्मिक, लैंगिक समानता र आपसी सद्भाव प्रवर्द्धन गर्ने कार्यक्रमहरू अनिवार्य राख्नुपर्ने उल्लेख छ ।

तर, दफा ३० मा भने केही सामग्री प्रसारणमा स्पष्ट प्रतिबन्ध छ । सामाजिक अशान्ति फैलाउने, जातीय वा धार्मिक विभेदलाई उक्साउने, राज्यविरुद्ध हिंसालाई प्रोत्साहन दिने, भ्रामक समाचार, झुटा प्रचार, व्यक्तिगत अपमान वा चरित्र हत्या गर्ने सामग्री प्रसारण गरेमा कडा कारबाही हुने चेतावनी दिइएको छ ।

विधेयकले जरिवानाको प्रावधान कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने संस्था वा प्रसारकलाई लक्षित गरेको स्पष्ट पारेको छ ।

‘प्रसारक’ भन्नाले प्रसारण अनुमति लिएको संस्था, फर्म वा कम्पनी बुझिन्छ । व्यक्तिगत पत्रकारलाई भने उक्त जरिवाना प्रत्यक्ष रूपमा नलाग्ने विधेयकमा उल्लेख रहेको प्रदेश सरकारका प्रवक्ता तथा यो विधेयकका प्रस्तावक आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रस्ट पारे ।

‘तर, यदि कुनै पत्रकारजन्य संस्थाहरूले भ्रामक, विभेदपूर्ण वा प्रतिबन्धित सामग्री उत्पादनमा प्रत्यक्ष जिम्मेवार ठहरिए, त्यस अवस्थामा जरिवाना लाग्ने छ,’ भण्डारीले भने, ‘पत्रकारहरूलाई जरिवाना गराउने हाम्रो कुनै नियत छैन ।’

विधेयकको दफा ४७ अनुसार, यदि पत्रकार वा सञ्चार संस्थाले व्यावसायिक आचारसंहिता उल्लंघन गरे, सोबारे उजुरी दर्ता गर्न सकिने व्यवस्था छ । अनुसन्धानपछि उल्लंघन पुष्टि भएमा क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान तोकिएको छ । यस खण्डमा डेढ लाख रुपैयाँ जरिवाना भने स्पष्ट रूपमा उल्लेख गरिएको छैन ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully