उच्च अदालतमा रवि लामिछानेको निवेदन : भदौ ११ गतेका लागि तोकियो पेशी

आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

भाद्र ९, २०८२

घनश्याम गौतम

Petition of Ravi Lamichhane in the High Court: The appearance was fixed for August 11

What you should know

बुटवल — सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा सोमबार निवेदन दिएका छन् । आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

निवेदन दर्ता गरेपछि आगामी बुधबार (११ भदौ) मा पेसी तोकिएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो । 

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको  छ। तर रविले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए। रविले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । 

जिल्ला अदालतले भने उनको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो। तर यो मुद्दाको प्रकृति विचार गर्दा छिटो छरितो निरुपण हुन उचित देखिएको भन्दै यथाशिघ्र काम कारबाही गर्न जिल्लाले आदेश गरेको थियो । भैरहवा कारागारमा रहेका उनलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ। दुई सातादेखि लामिछाने नक्खु कारागारमा छन् । 

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully