गाजामा जारी नरसंहार अन्त्य र अपहरित नागरिकको रिहाइको माग

सोमबार नागरिक समाजका सदस्यहरूले वक्तव्य जारी गर्दै गाजामा भइरहेको इजरायली आक्रमण र बढ्दो मानवीय संकटको अन्त्य गर्न माग गरेका हुन्।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Demanding an end to the ongoing massacre in Gaza and the release of kidnapped civilians

काठमाडौँ — गाजामा भइरहेको इजरायली आक्रमण र बढ्दो मानवीय संकटको अन्त्य गर्न नागरिक समाजका सदस्यहरूले माग गरेका छन्।

सोमबार जारी संयुक्त वक्तव्यमा २०२३ को अक्टोबर ७ मा हमास समूहले इजरायली भूमिमा गरेको अप्रत्याशित आक्रमणमा १,२०० इजरायली नागरिकको मृत्यु र २४० जना अपहरणमा परेको घटनापछि इजरायली सरकारले गाजामा थालेको सैनिक आक्रमणबाट अहिलेसम्म ७० हजारभन्दा बढी प्यालेस्टिनी मारिएको दाबी गरिएको छ । समाचार स्रोतहरूलाई उदृत गर्दै उनीहरूले मारिएका ८० प्रतिशत सामान्य नागरिक भएको, जसमा करिब ६० प्रतिशत महिला, बालबालिका र ज्येष्ठ नागरिक रहेको उल्लेख गरेका छन्।

वक्तव्यमा भनिएको छ, 'मृत्युबाट बच्न सफल भएका बालबालिकासहित हजारौं नागरिक भोकमरी र कुपोषणका कारण अकालमा ज्यान गुमाउन बाध्य भइरहेका छन्।' इजरायली सरकारको नीतिअनुसार राहत सामग्री लिएर गाजा प्रवेश गर्न आएका सवारी साधनलाई रोकिएको र यसै कारण संयुक्त राष्ट्रसंघले गाजालाई अनिकालग्रस्त क्षेत्र घोषणा गरेको वक्तव्यमा जनाइएको छ।

वक्तव्यमा मानवीय संकटका पीडादायी दृश्यलाई २१औं शताब्दीको मानवीय मूल्यविपरीत भन्दै आक्रोश व्यक्त गरिएको छ। 'बाँच्न पाउने हक मानवअधिकार घोषणा पत्रको अत्यन्त महत्त्वपूर्ण पक्ष हो । इजरायली सरकारले यो आधारभूत अधिकारको उल्लंघन गरेर जघन्य अपराध गरिरहेको छ,' वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा राहत सामग्रीलाई तत्काल गाजा प्रवेश गराउन, हिंसात्मक द्वन्द्वलाई शान्तिपूर्ण तरिकाले अन्त्य गर्न र हमासले अपहरणमा पारेका सबै निर्दोष नागरिकलाई, जसमा नेपाली नागरिक विपिन जोशी समेत रहेका छन्, अविलम्ब रिहाइ गर्न माग गरिएको छ।

गाजामा भइरहेका अत्याचार सम्बन्धमा नागरिक समाजका सदस्यहरूले जारी गरेको वक्तव्य

कान्तिपुर

Link copied successfully