सिड्नीमा तीनदिने आध्यात्मिक महोत्सव हुँदै

सिड्नीको बरउड पार्कमा हुने महोत्सवमा नेपाली धर्मगुरुहरुको उपस्थिति, सांस्कृतिक झाँकीहरु र ५० भन्दा बढी संघसंस्थाको सहभागिता।

भाद्र ९, २०८२

नारायण खड्का

A three-day spiritual festival taking place in Sydney

अस्ट्रेलिया — नेपाली समुदायका लागि बहुसांस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यका सिड्नीमा ३ दिने आध्यात्मिक महोत्सव हुने भएको छ ।

सिड्नीको बरउड पार्कमा शुक्रबारदेखि सुरु हुने यो महोत्सव ग्रेटर सिड्नी बहुसांस्कृतिक केन्द्र समितीले आयोजना गर्न लागेको हो । महोत्सवमा नेपालबाट पण्डित दीनबन्धु पोखरेल, बौद्ध लामा गुरु खेन्पो तेन्जिङ्ग त्रिन्ले लगायतका धर्मगुरुहरु उपस्थित हुनेछन् । महोत्सवमा विविध धार्मिक, आध्यात्मिक र सांस्कृतिक झाँकीको प्रदर्शन गर्ने आयोजकको योजना छ । सिड्नीमा रहेका ५० बढी सामाजिक संघसंस्थाले यो महोत्सवमा हातेमालो गर्दैछन् । 

केन्द्रका अध्यक्ष बिष्णु हमालले बिभिन्न नौ चरणमा बहुसांस्कृतिक भवन निर्माणको काम अघि बढेको बताउँदै महोत्सवपछि केन्द्र निर्माणका लागि जग्गा खरिद गर्ने लगायतका काम अघि बढने बताए । उनले अस्ट्रेलियामा नेपालीको आफ्नै बहुसांस्कृतिक भवन नभएको बताउँदै यस्तो भवनले नेपाली कलासंस्कृती, परम्परालाई जर्गेना गर्न र बहुसांस्कृतिक पहिचानलाई अझ दरिलो बनाउन सहयोग गर्ने बताए । 

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully