द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधि र जनस्तरको सम्बन्ध अघि बढाउने विषयमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामी समकक्षी भो थी आन सुआनबीच छलफल भएको छ ।
What you should know
काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आएकी भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ ।
आज भएको भेटमा उनीहरुबीच दुवै मुलुकमा धार्मिक समानता रहेको र धार्मिक तथा सांस्कृतिक पर्यटनका प्रचुर सम्भावना लगायतका विषयमा छलफल भएको थियो । उनीहरुबीच मित्रवत्, न्यानो र सौहार्द रुपमा भेटवार्ता सम्पन्न भएको जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयका बारेमा विचार आदानप्रदान भएको जानकारी दिए ।
दुवै मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा कुराकानी भएको थियो । दुवै उपराष्ट्रपतिबीच मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति पनि भएको छ । सो अवसरमा दुवै मुलुकबीच हवाई उडान सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको सहसचिव अधिकारीले बताए ।
भियतनाम उच्च आर्थिक वृद्धिदर भएको मुलुक रहेकाले नेपालले त्यहाँबाट सिक्न सक्ने र लगानीको सम्भावनाका विषयमा छलफल भएको सहसचिव अधिकारीले बताए । 'द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधिलगायत विषयमा र जनस्तरको सम्बन्ध अघि बढाउने विषयमा उहाँहरुबीच कुराकानी भयो,' उनले भने ।
भियतनामका तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति भो थि आन सुआन उपराष्ट्रपति यादवको मैत्रिपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि शनिबार यहाँ आइपुगेकी हुन् । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।
