प्रतियोगी रोशनीले आफूमाथि कुनै दुर्व्यवहार नभएको बताएकी छिन भने निर्णायक रचनाले पनि प्रतियोगीलाई थप बलियो बनाउनका लागि त्यो प्रश्न राखेको बताइन् ।
What you should know
काठमाडौँ — सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप भाइरल भइरहेको छ । गत साउन ३० गते सार्वजनिक भएको मिस नेपाल अडिसनको भिडियो क्लिप यतिबेला भाइरल बनेको हो । जुन क्लिपका कारण मिस नेपालकी निर्णायक रचना गुरुङको आलोचना भइरहेको छ ।
फरक क्षमताकी एक प्रतियोगीलाई ‘जज’ रचना गुरुङले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै उनको आलोचना भएको हो । आलोचनासँगै उनले गालीगलौज खेपिरहेकी छिन् । उनले शारीरिक रूपमा अशक्त भएको ती प्रतियोगीको अपमान गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि जाइलागेका हुन् ।
सोही भिडियो क्लिपका कारण ‘ह्यासट्याग नो मिस नेपाल’, ‘ह्यासट्याग बोयकट रचना गुरुङ’, ‘ह्यासट्याग स्टप ह्यारेसमेन्ट’, ‘ह्यासट्याग स्टपबुलिङ’ जस्ता पोस्ट सामाजिक सञ्जालमा चौतर्फी देखिन्छ । प्राय: भिडियोमा रचनाको व्यक्तिगत विषयलाई लिएर नकारात्मक टिप्पणी गरिएको छ ।
@luiteljee युजरनेमको टिकटक आइडीमा रचनाको विषयमा भनेको छ-‘एउटा मानसिक सन्तुलन गुमेको, रिहाबिलिटेसनमा राखिएको मानिसहरूको झुण्डमा उनीहरूको विचरा दिमागले काम गरिरहेको हुँदैन…त्यस्तो लेबलको मान्छेलाई मिस नेपालको ‘जज’मा राखेपछि आउने परिणाम भनेको यस्तै हो ।’ @luiteljee ले पोस्ट गरेको भिडियोमा रचनालाई कारबाही गर्नुपर्ने माग गरेको छ ।
यो समाचार तयार पार्दै गर्दा टिकटक आइडीबाट भाइरल भएको भिडियो २४ लाख भन्दाबढी पटक हेरिएको छ । उक्त भिडियोमा ६९ हजारभन्दा बढी रिएक्ट, १५ सय भन्दा बढी कमेन्ट र १५ सयभन्दा बढी सेयर भएका छन् । भिडियोमा जातीय विभेदपूर्ण कमेन्ट पनि आएका छन् ।
भाइरल भएको भिडियो क्लिपका कारण रचनामात्रै आलोचित भएकी छैनन् । उनकी छोरी एना शर्माले पनि आलोचना खेपिरहेकी छिन् । एनाको तस्बिर तथा भिडियो क्लिप प्रयोग गरेर उनीविरुद्ध पनि नकारात्मक टिप्पणी गरिएको छ । रचना गुरुङका अनुसार उनकी छोरी एनालाई विभिन्न व्यक्तिले फोनमार्फत ‘रेप थ्रेट’ दिइरहेका छन् ।
भिडियोमा के छ ?
टिकटक, फेसबुक र युट्युबमा भाइरल भएको यो भिडियोको सत्यता भने अर्कै छ । आउनुहोस् बुझौँ । समाजिक सञ्जालमा भाइरल भएको भिडियो मात्र ४४ सेकेन्डको छ । जहाँ मिस नेपालकी निर्णायक रचना र प्रतियोगीबीच कुराकानी भएको छ । ‘हामीले पहिलो प्रश्न के सोध्छौं भन्ने तपाईंलालाई पक्कै थाहा छ ।’ भन्दै निर्णायक प्यानलमा रहेकी रचनाले प्रतियोगीलाई सोध्छिन् । रचनाले भन्न खोजेको विषय नबुझेपछि, प्रतियोगीले भन्छिन्-‘सरी ?’ । रचनाले प्रतियोगीको हाततर्फ इसारा गर्दै फेरि प्रश्न दोहोर्याइन्- ‘एक्सप्लेन…. हातको एकचोटि एक्स्प्लेन गर न ।’
असजिलो भावमा प्रतियोगीले जवाफ फर्काइन्, ‘मेरो शारीरिक अशक्तता जन्मजात नै हो । कुनै एक्सिडेन्ट भएको होइन । आमालाई मेरो जन्म भएपछि मात्रै थाहा भयो । मभन्दा पहिले मेरो बुवाआमाले मेरो शारीरिक अपांगताको सामना गर्नुभयो । म उहाँहरूबाट जन्मिन पाएकोमा आफूलाई भाग्यमानी ठान्छु ।’ सामाजिक सञ्जालमा भाइरल भएको यही छोटो भिडियोलाई लिएर रचनाको आलोचना गरिएको हो ।
यसपछि पनि उनीहरूबीच संवाद भएको छ तर यसपछिका भिडियो भने कतै देखिँदैन । हामीले ओरिजिनल भिडियो हेर्यौं, जहाँ रचनाले प्रतियोगीलाई खुलेर सम्मान गरेकी छिन् । उनले प्रतियोगीलाई होसला दिँदै भनिन्-‘हामी एकदम खुसी छौँ, कि तिमी यहाँ आयौ । मलाई लाग्छ, यो हलभित्र हुने सबैले रोशनीका लागि ताली बजाइदिनुहोला । उनी यसको हकदार छिन् ।’ रचनाले यत्ति भनेलगत्तै हलभित्र ताली गुञ्जिन्छ । प्रतियोगी ‘थ्याङ्क्यू सो मच’ भन्दै उज्यालो अनुहार लिएर निस्किइन् ।
के हो सत्यता ?
थप पुष्टि गर्नका लागि हामीले प्रतियोगी रोशनी खड्कालाई पनि सम्पर्क गर्यौं । आफूमाथि विभेदपूर्ण व्यवहार नभएको उनले बताइन् । ‘सामाजिक सञ्जालमा आएको भिडियोमा सत्यता छैन । पहिलो प्रश्न सोध्नुभन्दा अगाडि मैले परिचय दिएकी थिएँ । भिडियो काटेर हालेको कारणले त्यस्तो सन्देश गएको हुन सक्छ,’ रोशनीले भनिन्, ‘जसरी भाइरल भइरहेको छ । मलाई त्यस्तो व्यवहार भएको होइन । उहाँहरू एकदम हम्बल हुनुहुन्थ्यो ।’
हामीले रचना गुरुङलाई पनि सम्पर्क गर्यौं । भिडियोको सानो टुक्रा भाइरल बनाएर अपव्याख्या गर्न खोजिएको उनले बताइन् । उनले भनिन्, ‘जुन भिडियो भाइरल भएको छ त्यो आधा सत्य हो । पूरै भिडियो हेर्ने मान्छेले त्यस्तो लाञ्छना लगाँउदैनन्,’उनले भनिन्, ‘हामीले प्रतियोगी सेलेक्ट हुनुभन्दा अगाडि नै उहाँको ब्याकग्राउन्ड थाहा पाएका हुन्छौँ । त्यो थाहा पाउँदापाउँदै पनि उहाँमाथि त्यस्तो व्यवहार कसरी गर्न सक्छु ?’
प्रतियोगीलाई थप बलियो बनाउनका लागि त्यो प्रश्न राखेको रचनाले बताइन् । ‘म यो क्षेत्रमा लागेको ३ दशकभन्दा बढी भइसक्यो । म अलि खरो नै छु तर त्यसको मतलब त्यो होइन कि कसैको शारीरिक अशक्ततालाई लिएर प्रश्न गरूँ,’ उनले भनिन्, ‘उहाँलाई थप बलियो बनाउन र हौसला दिनका लागि त्यो प्रश्न गरिएको हो । तर दर्शकहरूले नकारात्मक रूपमा लिनुभयो ।’
