प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने माग गरिएको रिट न्यायाधीश पोखरेलको इजलासमा

जनता समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनुपर्ने दाबी रिटमा गरिएको छ ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

In the bench of Judge Pokharel, the petition demanded that the Prime Minister should take a vote of confidence

What you should know

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने दाबी गरिएको रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ। जनता समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनुपर्ने दाबी रिटमा गरिएको छ ।

रिट ‘ङ’ नम्बरमा पेसी तोकिएको छ। सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको एक महिना पुरा हुदाँसम्म पनि सरकारले कुनै प्रक्रिया अघि नबढाएकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ ।

अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । ३२ असारमा जसपाले  सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो । सोही दिनबाट गणना गरी विश्वासको मत लिनुपर्ने जिकिर रिटमा गरिएको छ । समर्थन फिर्ता लिएको एक महिनासम्म सरकारले कुनै प्रक्रिया अघि नबढाएको र यो कार्य संविधान विपरीत भएको दाबी रिटमा गरिएको छ ।

रिटमा  प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय, शितल निवासलाई विपक्षी बनाइएको छ। संविधानको धारा १०० मा विश्वास र अविश्वासको मतसम्बन्धी व्यवस्था छ । धारा ११(२) मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने’ भनिएको  छ । 

त्यही धाराको उपधारा (३) मा त्यसरी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था छ । 

सर्वोच्चले शुक्रबार सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा सरकारले विश्वासको मत लिनुपर्नेछ। 

कान्तिपुर

Link copied successfully