शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रले महिला प्रहरीलाई थप सक्षम, आत्मविश्वासी, जिम्मेवार र नेतृत्व क्षमतायुक्त बनाउने, संस्थागत कार्य सम्पादनमा लैङ्गिक संवेदनशीलता अभिवृद्धि गर्ने र प्रहरी सेवामा महिलाको समान पहुँच सुनिश्चित गर्ने जस्ता विषयमा जोड दिएको छ ।
What you should know
काठमाडौँ — नेपाल प्रहरीले पहिलोपटक आयोजना गरेको महिला प्रहरी सम्मेलन ७ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रले महिला प्रहरीलाई थप सक्षम, आत्मविश्वासी, जिम्मेवार र नेतृत्व क्षमतायुक्त बनाउने, संस्थागत कार्य सम्पादनमा लैङ्गिक संवेदनशीलता अभिवृद्धि गर्ने र प्रहरी सेवामा महिलाको समान पहुँच सुनिश्चित गर्ने जस्ता विषयमा जोड दिएको छ । नेपाल प्रहरीको लैङ्गिक नीति २०८१ अनुसार ‘साझा जिम्मेवारी समान प्रतिबद्धता प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मूल नाराका साथ दुई दिनसम्म प्रहरी प्रधान कार्यालय, काठमाडौंमा सम्मेलन आयोजना भएको थियो । जहाँ विभिन्न दर्ताका २ सय बढी महिला प्रहरीको प्रतिनिधित्व भएको थियो ।
एसएसपी तारा थापाका अनुसार सम्मेलनमा सहभागी महिला प्रहरीहरूले पद र दर्जाअनुसार सेवाप्रति दृढ, उत्तरदायी र सशक्त रूपमा प्रस्तुत हुने प्रतिबद्धता जाहेर गरेका छन् ।
महिला प्रहरी सम्मेलनको घोषणा पत्रमा नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ लाई पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयनको विषयलाई प्राथमिकतामा राखिएको छ । यस्तै लैङ्गिक हिंसा, यौन हिंसा र महिला–बालबालिकाविरुद्धका अपराध नियन्त्रण तथा अनुसन्धानमा महिला प्रहरीको संख्यात्मक र गुणात्मक वृद्धि गर्न आवश्यक प्रबन्ध गरिनुपर्ने सुझाव समेत प्रस्तुत गरिएको छ ।
घोषणा पत्रमा सुरक्षित र मैत्रीपूर्ण कार्यस्थल सुनिश्चित गर्दै दुर्व्यवहारविरुद्ध शून्य सहनशीलताको नीतिलाई कडाइका साथ लागू गर्ने, महिला प्रहरीलाई व्यावसायिक निपुण बनाउन लैङ्गिकमैत्री संरचना र भौतिक पूर्वाधार विस्तार गर्ने विषय घोषणा पत्र मार्फत अनुरोध गरिएको छ ।
महिला प्रहरीको शारीरिक, मनोसामाजिक तथा प्रजनन स्वास्थ्यलाई मध्यनजर गरी नेपाल प्रहरी अस्पतालबाट आवश्यक स्वास्थ्य सेवा, परामर्श र सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुको साथै महिला प्रहरी कर्मचारीहरूलाई वित्तीय रूपमा साक्षर तुल्याउन कल्याणकारी योजनाहरूमा थप पहुँच विस्तार गर्नुपर्ने आवश्यकताका विषयमा समेत घोषणा पत्रमा छ । व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन कायम गर्न नीतिगत सुधार ल्याउने र संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ मिसन तथा स्वदेश–विदेशमा हुने नवीनतम् तालिममा महिला प्रहरीको सहभागिता बढाउनु पर्ने कुरा घोषणा पत्रमा भएको एसएसपी थापाले जानकारी दिईन ।
सम्मेलनको अवसरमा नेपाल प्रहरी संगठनमा आबद्ध भई संगठनलाई अझ गौरवान्वित बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने प्रथम महिला प्रहरी चैतमाया डंगोल, अवकाश प्राप्त प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायब निरीक्षक कुन्जाङ छोपेल शेर्पा र प्रहरी नायब निरीक्षक जुनी राईलाई सम्मानसमेत गरिएको थियो । यो अवसरमा विशेषांकको समेत विमोचन भएको थियो ।
संगठनलाई अझ गौरवान्वित बनाउन यो सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गरेको प्रहरी महानिरीक्षक दीपक थापाले बताएका छन् । प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीमा महिला प्रहरीको उपस्थितिलाई केवल संख्या र तथ्यांकमा मात्र प्रस्तुत गर्नेभन्दा पनि महिला प्रहरीको प्रभावकारी, गुणात्मक र नेतृत्वदायी सहभागितालाई भेला संवाहक भएको उनको विश्वास छ । सम्मेलनलाई सफल बनाउन गृहमन्त्री, कानुनमन्त्री, महान्यायाधिवक्ता, पूर्व प्रहरी महानिरीक्षक, सुरक्षाविद्हरू, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
